Breaking

शहरी विकासमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिन मिल्छ


काठमाडौँ – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएको भन्दै फेसबुकमा तस्वीर राखे ।

बुधबार सिंहदरबारमा देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको मन्त्री सिंहले उल्लेख गरे । ‘मन्त्रालयमा तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु’ मन्त्री सिंहले लेखेका छन् ।

प्रहरी प्रमुख आईजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख आईजी राजु अर्याल र राअविका प्रमुख मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग भेटघाट तथा छलफल गरेको तस्बिर समेत मन्त्री सिंहले सार्वजनिक गरेका छन् ।

गृह मातहका नेपाल प्रहरी र सशस्त्र प्रहरी र प्रधानमन्त्री मातहतको राअविका प्रमुखलाई आफ्नो जिम्मेवारी भुलेर ब्रिफिङ लिएको भन्दै मन्त्री सिंहको आलोचना समेत भएको छ । मन्त्री सिंहले भेटपछि उल्लेख गरेको ‘देशको पछिल्लो सुरक्षा अवस्थाबारेको जानकारी’ लिनु गम्भीर त्रुटी रहेको नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीको बुझाइ छ ।