Breaking

बंगलादेशमा बेरोजगार युवाको आन्दोलन, हिंसात्मक झपडले तनावमा शेख हसिना (भिडियोसहित)


काठमाडौँ— बंगलादेशमा सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिएको छ । आन्दोलन चर्किएसँगै देशभरका सबै विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । खारेज गरिएको व्यवस्था अदालतले उल्टाइदिएपछि योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने र विवादित बनेका व्यवस्था हटाउनु पर्ने प्रर्दशनकारीहरुको माग छ ।
बंगलादेशको राजधानी ढाकासहित विभिन्न स्थानका विद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका छन् । बंगलादेशका विभिन्न विश्वविद्यालयका हजारौं विद्यार्थीहरुले ठाउँ ठाउँमा ¥यालीसहित सडक आन्दोलन चर्काएका छन् । सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षण खारेजीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले विरोध प्रर्दशन चर्काएपछि बंगलादेश अशान्त बनेको छ । आन्दोलनका क्रममा झडपमा परी छ जनाको मृत्यु भएको छ । जसमा ३ विद्यार्थीको ज्यान गएको छ । साथै सयौँ प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आन्दोलन हिंसात्मक बन्दै गएपछि देशभरका सबै स्कुल र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको हो ।

बंगलादेशको आरक्षण कोटा र विवाद के हो ?
बंगलादेशमा सरकारी जागिरमा विभिन्न समूहलाई लक्षित गरी ५६ प्रतिशत आरक्षण कोटा छुट्टाइएको छ । जहाँ सन् ९१७१ मा पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्र बनाउने आन्दोलनमा लडेका व्यक्तिको सन्तानका लागि ३० प्रतिशत, महिलाका लागि १० प्रतिशत, जनसङ्ख्याको आधारमा जिल्लाका लागि १० प्रतिशत, अल्पसंख्यक जातिका लागि ५ प्रतिशत र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई १ प्रतिशत छुट्याएको छ । जसका कारण ४४ प्रतिशत मात्र खुला प्रतिस्पर्धा हुने गर्छ । सन् १९७२ देखि लागु यो कोटा प्रणाली सुधारको माग गर्दै पटक पटक विरोध प्रर्दशन हुँदै आएको छ ।


शेख हसिना नेतृत्वको सरकारले सन् २०१८ मा आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत जुनमा त्यहाँको अदालतले आरक्षण कोटालाई पुनस्र्थापनाको आदेश दिएपछि जुलाई १ तारिखदेखि विद्यार्थीहरु फेरि आन्दोलित भएका हुन् । पुनः बंगलादेशको उच्च अदालतले आरक्षण प्रणालीलाई गत साता निलम्बन गरेको थियो । तर यो प्रणाली स्थायी रूपमा नै खारेजीको माग गर्दै विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । यससम्बन्धी मुद्दामा आगामी अगस्ट ७ तारिखमा सुनुवाइ हुने भएको छ । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगबीच देशका विभिन्न स्थानमा हिंसात्मक झडप भइरहेका छन् । जसले गर्दा प्रधानमन्त्री हसिनामाथि नै दबाब बढ्दै गएको छ । चौतर्फी दबाब बढिरहेको अवस्थामा सत्तारुढ दलबाटै प्रतिकार हुनुले आन्दोलनले हिंसात्मक रुप लिएको टिप्पणी भइरहेको छ । यसैबीच प्रदर्शन चर्किदै गएको अवस्थामा ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको हो ।