Breaking

ओलीको छनोटमा विद्याको अड्को, १० भाइ फेरि घाइते, योगेशको चाकडीमा के पुगेन ? (भिडियोसहित)


काठमाडौँ— एमाले विभाजनताका चर्चामा आएका एमालेका १० भाइ फेरि चर्चामा छन् । एमालेबाट १० भाइ र पूर्वमाओवादी समूहबाट कसैले पनि मन्त्री नपाउँदा चर्चा चुलिएको हो । के यो समूहलाई एमालेले गुमराहमा राख्न खोजेकै हो ?
माधव नेपाललाई पार्टी फुटाउन हौसाउँने एमालेका १० भाइ र पूर्वमाओवादीहरुको हरिबिजोग भएको छ । संसद विघटनका बेला नेपाललाई पार्टी फुटाउँन हौसाए पनि उनको पछि लाग्दा राजनीतिक भविष्य समाप्त हुने डरले ओलीसँगै १० बुँदे सम्झौता गरेका १० भाइहरु अहिले पार्टीमा जिम्मेवारीबिहीन छन् ।

भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुषाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त ‘१० भाइ’ को समूहमा थिए । जसमध्ये भीम रावल र घनश्याम भुसाल ओलीको आलोचना गर्दा र १० औँ महाधिवेशनमा ओलीको इच्छाविपरीत उम्मेदवारी दिएकै कारण पार्टी राजनीतिबाट पाखा लागिसकेका छन् । रावल जसोतसो एमालेमै रहे पनि कुनै पनि जिम्मेवारी पाउनबाट बञ्चित छन् भने भुसाल अन्ततः माधव नेपालकै पुच्छर बनेर एकीकृत समाजवादीमा गएका छन् । उनीहरुबाहेक अरु नेताहरु पनि पार्टीमा ओझेलमा पर्दै गएका छन् । कुनै समय ओलीको कटु आलोचक मानिने योगेश लगायत नेताहरु अहिले ओली रिझाउन सक्रिय छन् । तर पनि १० भाइप्रति ओलीको मन नपग्लिएको पछिल्लो मन्त्रिपरिषद् गठनले स्पष्ट पार्छ । यद्यपि, पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको दिन योगेशलाई नै पार्टीको तर्फबाट संसदमा बोल्न पठाइनुले योगेशले कुनै भूमिका पाउने स्पष्ट भइसकेको थियो । माओवादी र प्रचण्डमाथि खरो अभिव्यक्तिसहितको जवाफ फर्काएका योगेश नयाँ सरकारमा मन्त्री बन्ने लगभग निश्चित थियो । तर अन्तिम समयमा आएर मन्त्री बन्नेहरुको लिस्टबाट उनको नाम हटाइयो ।

खासमा गत आइतबार साँझ मन्त्रीहरुको अन्तिम सूची तयार हुँदा योगेशको भूमिका सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा पक्का भइसकेको थियो । उनले मन्त्री नियुक्तिपछिको केही तयारीसमेत सुरु गरिसकेका थिए । तर, शपथको दिन बालकोटमा फोन गर्दा पछि खबर गरौँला भन्दै टारिएपछि योगेश मन सम्हाल्न बाध्य बने । पछि उनको मन्त्रालयको जिम्मेवारीमा पृथ्वीसुब्बा गुरुङको नाम आयो । यसपटक योगेशलाई ओलीले रोकेका भने होइनन् । पार्टीका सचिवहरुमध्ये एकजनालाई मन्त्री बनाउने मुडमा ओली थिए । त्यही लिस्टमा छविलाल विश्वकर्मा, योगेश र गोकर्ण पनि थिए । ओलीको चाहना योगेशलाई मन्त्री बनाउने भए पनि विगतमा धोका दिन अघि सरेका योगेशलाई विश्वास नगर्न अरु नेताले दबाब दिनु र मन्त्रीको भागबन्डामा विद्या भण्डारी पक्षको पनि हस्तक्षेप रहँदा योगेश लगायतका कुनै पनि दश भाइले मौका पाएनन् ।

एमालेमा नेतृत्वको आलोचना गरे भीम रावल भइने र बोलीमा लोली मिलाइदिए आकर्षक जिम्मेवारी पाइने बुझेका नेताहरु अहिले ओली रिझाउन लागिपरिरहेका छन् । मन्त्रीको आकांक्षीका रुपमा दश भाइमध्येकै रघुजी पन्त र भीम आचार्य पनि थिए । तर उनीहरुको नाम चर्चामै आएन । एमालेका १० मध्ये ३ भाइले चुनाव जित्दा एक भाइ समानुपातिक कोटाबाट संसद छिर्न सफल भए । दुई भाइले टिकट नै नपाउँदा चार भाइले भने अवसर नै पाएनन् । अहिले सांसद रहेका यीनै चार भाइहरु ओलीको रक्षाकवच बनिरहेका छन् । यतिसम्म कि केही नेताहरु ओलीको नजिक हुनकै लागि बालकोट वरिपरि मर्निङ वाकको बाहना बनाएर भएपनि पुग्ने गरेको चर्चा छ । यसबाहेक पार्टीमा पूर्वमाओवादीहरुको समेत बेहाल छ । तीमध्येका एक टोपबहादुर रायमाझीले चुनाव जिते पनि भुटानी शरणार्थी काण्डमा जेलमा छन् । लेखराज भट्टले चुनाव हार्न पुगे । उनी पार्टीको सचिव भए पनि कामबिहीन बन्दा भीम रावलसँग भेट गरेर नयाँ तरिकाले जानेबारे छलफल थालेको चर्चा नै चलेको थियो । पार्टी उपाध्यक्ष रहेका रामबहादुर थापा बादल र मणि थापाले चुनावमा टिकट नै पाएनन् । उनीहरु अहिले पार्टी राजनीतिमै निश्क्रिय देखिन्छन् ।