काठमाडौँ— कांग्रेस–एमाले गठबन्धन सरकारले परराष्ट्र मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवालाई सुम्पेको छ । राजनीतिक अस्थिरताले अस्तव्यस्त कुटनीतिक क्षेत्रको सुधारका साथै लथालिङग बनेको विदेश मामिला सञ्चालनलाई लयमा ल्याउनुको विकल्प छैन । राष्ट्रिय राजनीतिमा विवादित छवि बनाएकी नयाँ परराष्ट्रमन्त्रीले विदेश मामिलाको बागडोर कसरी व्यवस्थित गर्छिन् ? विदेश नीति सञ्चालन जस्तो संवेदनशील विषयमा उनी कति खरो उत्रिन्छिन् ? यसका साथै के के छन् त नयाँ परराष्ट्रमन्त्रीका चूनौतीहरु ?
अध्ययनमा अब्बल, राष्ट्रिय राजनीतिमा राम्रो दख्खल, विदेशी नियोगदेखि कुटनीतिज्ञहरुसँग सुमधुर सम्बन्ध भएकी कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवा मुलुकको ३१ औं परराष्ट्रमन्त्री बनेकी छन् । कांग्रेस सभापति एवम् पति शेरबहादुर देउवाकै निगाहामा राजनीतिक लाभ लिँदै आएकी राणा मुलुकको चौथो महिला परराष्ट्रमन्त्री बनेकी हुन् । इच्छाएकै मन्त्रालय पाएकी उनले आफ्नो लामो राजनीतिक जीवनमा परराष्ट्र मन्त्रालयबाट मन्त्रीको खाता खोलेकी छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिलेर बनेको शक्तिशाली सरकारको परराष्ट्रमन्त्री बनेकी राणालाई उत्तरी छिमेकी चीनबाहेक दक्षिणी छिमेक भारत तथा अन्य मित्रराष्ट्रका समकक्षीहरुको बधाई थापेर भ्याईनभ्याइ छ । भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर लगायत विभिन्न मुलुकका समकक्षीहरुले सामाजिक सञ्जालमार्फत राणालाई बधाई दिएका छन् । नवनियुक्त परराष्ट्रमन्त्री राणाको दैलोमा दुई छिमेकी भारत–चीनसँगै विभिन्न मुलुकका राजदूतहरुको लर्को नै लागिरहेको छ । पहिलोपटक मन्त्री त्यो पनि परराष्ट्रमन्त्री बनेकी राणाले आफ्नो पदभार ग्रहण लगत्तै दौंत्य सम्बन्ध कायम रहेका देशहरुसँगको सम्बन्धलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाइसकेकी छन् । परराष्ट्रमन्त्री राणाले पञ्चशीलमा आधारित र नेपाल प्रथम परराष्ट्र नीति अघि बढाउने बताएकी छन् । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपीन जोशीलाई फिर्ता ल्याउनसमेत आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।
सोमबार शपथग्रहण लगत्तै पदभार गरेकी परराष्ट्रमन्त्री राणाले राष्ट्रिय दिवसमा मित्र राष्ट्रका राष्ट्र प्रमुखहरुलाई सन्देश पठाउने निर्णय गरेकी छन् । अघिल्लो सरकारले फिर्ता बोलाई सकेका भारतका लागि नेपाली राजदूत डाक्टर शंकर शर्मालाई उनले तत्काल नेपाल नआउन भनेको बुझिएको छ । आफू निकट रहेका शर्मालाई रोक्न राणालाई असहज पनि छैन । चिढिएको भारतसँगको कुटनीतिक सम्बन्ध सुधार्न नसके पनि आरजुको ओझ प्रयोग गर्दै भारत रिझाउने रणनीतिमा यो सरकार छ । २०७२ सालको नाकाबन्दी र भारतविरोधी नाराकै कारण प्रधानमन्त्री ओलीको सम्बन्ध भारतसँग राम्रो छैन । सीमा विवाद, ईपीजी प्रतिवेदनमा भारतको हेपाह प्रविृत्तिको विरोध गर्ने ओलीको मन्त्री भएर भारतसँग सम्बन्ध सुमधुर बनाउनु आरजुका लागि कम चुनौती छैन ।
नेपालले चीन र अमेरिकासँगको सम्बन्ध कसरी सन्तुलन गर्छ ? नेपाल–भारत सम्बन्ध त्यसमा पनि निर्भर रहेको भारतीय कुटनीतिज्ञहरुले टिप्पणी गरेका छन् । अर्कोतर्फ उनकै छिमेकी निर्वाचन क्षेत्र कन्चनपुरका विपीन जोशीको उद्धारमा दवाव सुरु भइसकेको छ । कार्यान्वयनको चरणमा रहेको चिनियाँ परियोजना बीआरआईमा देउवा–ओली गठबन्धन नै विभाजित छ । एमाले बीआरआई कार्यान्वयन गर्ने पक्षमा छ भने आफ्नै पार्टी कांग्रेसले बीआरआईलाई अनुदानको रुपमा मात्र स्वीकार्न सकिने निर्णय नै गरिसकेको छ । बीआरआई अब आरजुको काँधमा पुगेको छ । मित्रराष्ट्र अमेरिकाको सक्रियता र बदलिँदो भू–राजनीतिक दवावलाई व्यवस्थापन गर्दै छिमेकी मुलुकहरुसँग विश्वासको वातावरण निर्माण गर्नु सबैभन्दा जटिल विषय हुनेछ ।
विदेश सम्बन्ध सञ्चालन र कुटनीतिक गतिविधिको उच्च सरकारी निकाय हो परराष्ट्रमन्त्रालय । परराष्ट्रको नेतृत्वमा मन्त्री र सचिव नै महिला भएको यो इतिहासमै पहिलोपटक हो । परराष्ट्र सचिवको जिम्मेवारी सेवा लम्सालले सम्हालिरहेकी छन् भने आरजु नवनियुक्त परराष्ट्रमन्त्री हुन् । लम्साल पहिलो परराष्ट्र सचिव हुन् । आरजुलाई सचिव लम्सालको साथ कति मिल्छ ? त्यसले पनि कुटनीतिक गतिविधिलाई नतिजामुखी बनाउन भूमिका खेल्ने छ । शरणार्थी प्रकरण र टिकापुर जग्गा काण्डमा नाम जोडिएकै कारण त्यसको अनुसन्धान प्रभावित पार्न भूमिका खेलेको उनीमाथि आरोप लाग्दै आएको छ । जसले गर्दा विगतमा आफ्नो स्तरहीन भाषणबाजी र अनेक विवादमा मुछिएकाले विदेश नीति जस्तो संवेदनशील विषयलाई उनले कति न्याय गर्न सक्छिन् ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया