Breaking

देउवा–ओलीको सत्तालाई नागरिकको प्रश्न, काण्डेबाज र भ्रष्ट नेताको के हुन्छ ?


संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली देशको ४५ औं प्रधानमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीसहित २२ जना मन्त्रीले सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए । नयाँ सरकार बनेसँगै जनतामा कस्तो उत्साह र आशा छ त ?


केही दिन पहिला संसद भवन बाहिर सन्चारकर्मीले सोधेको प्रश्नको जवाफमा यो वर्ष प्रधानमन्त्री नबन्ने अभिव्यक्ति दिएका केपी शर्मा ओली एकाएक त्यही मध्यराति चपलीहाइटमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग कुम जोड्न पुगे । सात बुँदे सहमतिसँगै संविधानको धारा ७६, २ अनुसार प्रधानमन्त्री पदमा नियुक्त ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरे । सोमबार प्रधानमन्त्री ओलीसहित मन्त्रिपरिषदका २१ मन्त्रीले संयुक्त रुपमा पद तथा गोपनीयताको शपथ लिए ।


नेपालमा छिटो छिटो हुने सत्ता परिवर्तनले आम जनता भने वाक्क दिक्क बन्ने गरेका छन् । राजनीतिक स्थायित्व नहुँदा देशले विकासको बाटो समाउन नसक्दा जनताले जुन कुनै सरकार आए पनि विश्वास गर्न सकिरहेका छैनन् । चुनौती र अवसरको चाङका बीच सरकारको नेतृत्व सम्हाल्न आइपुगेका ओलीमाथि जनताले कति भरोसा गर्छन् भावी दिनले देखाउने नै छ । यद्यपि, कांग्रेस एमालेको यो गठबन्धनको भविष्यलाई लिएर आम नागरिकले फरक फरक मत जाहेर गरेका छन् ।

नयाँ सरकार विस्तारसँगै जनतामा त्यस्तो उत्साह छाएको भने देखिएन । नयाँ सरकारप्रति केहीले आशा व्यक्त गरेका छन् भने केहीले निराशा व्यक्त गरेका छन् । यो सरकारले जनमुखी काम गरोस् भन्ने आम नागरिकको अपेक्षा छ । प्रधानमन्त्री ओलीको नयाँ सरकार गठनसँगै हामीले जनमत बुझ्ने प्रयास गरेका छौँ । उनीहरुले ठूलो आशा गर्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।

यस्तै, केहीले देशमा प्राकृतिक विपदले ठूलो क्षति पु¥याउँदा शीर्ष नेतृत्व भने सत्ता परिवर्तनको खेलमा लागेको र पीडित जनाको पीडालाई नजरअन्दाज गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

एमाले नेतृत्वको नयाँ सरकार बनेसँगै सामाजिक सुरक्षा भत्तालाई लिएर केहीले सकारात्मक धारणा व्यक्त गरेका छन् । एमाले नेतृत्वकै सरकारले वृद्ध भत्ताको सुरुवात गरेको र अब यो सरकारले यसलाई थप वृद्धि गर्दै ज्येष्ट नागरिकको पक्षमा महत्वपूर्ण निर्णय गर्नु पर्ने सुझाव दिए ।

नयाँ सरकारप्रति युवाहरुको भने फरक धारणा देखियो । उनीहरुले काठमाडौंका मेयर बालेन शाह जस्ता युवा नेता देशको राजनीतिमा आउन जरुरी रहेको भन्दै राजनीतिक नेतृत्वले परिवर्तनको महसुस गराउन सक्नु पर्ने बताए ।

एमाले अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री ओली युवामाझ लोकप्रिय नेताको रुपमा चिनिन्छन् । युवा शक्तिमा जोस भर्ने र देशको समृद्धिका लागि युवा अगाडि बढ्नु पर्ने भन्दै ओलीले युवाहरुलाई अग्रसर हुन हौस्याउने गरेका छन् । उनले गर्ने भाषणका कारण पनि युवा पिडीले उनलाई रुचाउने गरेका छन् । साथै हौसिने पनि गरेका छन् । युवाको मनोविज्ञानलाई बुझ्न सक्ने नेतृत्वको रुपमा परिचित ओलीका लागि तिनै युवालाई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्नु ठूलो चुनौती रहेको छ ।

देशको अर्थतन्त्र सुधार गर्दै आम नागरिकका लागि सुशासनको डेलिभरी दिन ओलीको यो चौथो सत्ता यात्रा कति सफल रहन्छ ? निकट भविष्यले निर्धारण गर्ने नै छ । २०७२ साल असोजमा नयाँ संविधान जारी भएपछि पहिलो पटक प्रधानमन्त्री बनेका ओली २०७४ मंसिरमा भएको आमनिर्वाचन पछि दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । यस्तै २०७९ मा करिब ३ महिना उनी प्रधानमन्त्री बनेका थिए ।

पहिलो र दोस्रो पटक माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओली अहिले भने नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरेका हुन् । विगतका सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गर्ने ओलीका लागि अहिले संसदको ठूलो दल कांग्रेसलाई समेत रिझाएर सरकार टिकाउनु पर्ने मुख्य चुनौती छ ।