Breaking

रविविरुद्ध जितेका लेखक VIP सँग भिड्नलान् ? बेचन झादेखि जीबी राईसम्मको काण्डैकाण्ड


राज्य सञ्चालनको एउटा प्रमुख खम्ब गृह मन्त्रालयको जिम्मेवारी रमेश लेखकको काँधमा आएको छ । सुशासनको मुद्दाबाट गृहलाई अझ बढी तिखार्दै सरकारको नतिजामा इट्टा थप्न मन्त्रालयको बाग्डोर सम्हाल्ने उद्देश्यमा रहेका लेखकमाथि चुनौतीको भने चाङ खडा नै भएको छ ।

मुलुकमा विद्यमान बेथितिविरुद्ध सुशासनको डण्डा चलाउँदै शान्ति सुरक्षा स्थापना गर्ने ठाउँ गृहमन्त्रालयले नयाँ नेतृत्व पाएको छ । ७७ वटै जिल्लाको शान्ति सुरक्षादेखि जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने भएका कारणले पनि खास र विशेष महत्व राख्ने गृहमन्त्रीको रुपमा देशले रमेश लेखकलाई पाएको छ । हिजो प्रतिपक्षीको बेञ्चमा बसेर तत्कालिन गृहमन्त्रीमाथि प्रश्नको थुप्रो थोपरेका लेखक अहिले आफैँ जवाफ दिने ठाउँमा पुगेका छन् ।

उनीमाथि अब सुशासन सम्बन्धी कयौं प्रश्नको जवाफ दिनुपर्ने बाध्यता छ । वर्षायाम भएकाले बाढी पहिरोबाट हुन सक्ने सम्भावित विपत्लाई व्यवस्थापन गर्दै प्रभावित क्षेत्रमा यथाशीघ्र राहतको काम गर्नु पर्नेछ । शालिन व्यक्तित्व लेखक गृहमन्त्री बन्दै गर्दा उनीमाथि देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण जस्ता चुनौती आइपर्ने देखिन्छ ।

त्यसबाहेक पनि सरकार बाहिर हुँदा आफैँले उठाएका समस्याको समाधान खोज्नु पर्ने चुनौती उनीमा छ । सहकारीको रकम अपचलनलाई लिएर तत्कालिन गृहमन्त्रीविरुद्ध परेको उजुरीमा प्रहरीले गरिरहेको अनुसन्धान रोकेको आरोप लगाएका वर्तमान गृहमन्त्री लेखकले त्यसको पुष्टि गर्नुपर्ने छ । सदनको रोष्ट्रममा नै उभिएर रविविरुद्धका प्रमाणहरू आफूसँग भएको कांग्रेसले बारम्बार बताइरहँदा ती भएका प्रमाणहरूकै आधारमा कानुनी कठघरामा उभ्याउनु पर्ने छ ।

काण्डैकाण्ड कोट्याएर यसअघिका सरकारले चालेका सुशासनका कदम प्राथमिकतामा राख्दै कार्यान्वयनमा अघि बढ्नु पर्ने चुनौती उनीसामु छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र कांग्रेस नेता बालकृष्ण खाँणको नाम मुछिएको शरणार्थी काण्डमा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा पुर्पक्षका लागि थुनामा छन् ।

भुटानी शरणार्थी काण्डका बिचौलिया बेचन झाको पक्राउपछि पुनः नागरिकको नजरमा परेको यो प्रकरणमा राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप कांग्रेसले लगाउँदै गर्दा मुद्दालाई किनारा लगाउने जिम्मा लेखकलाई नै छ । आफूले सुशासनको खम्बा गाडेको बताउने निर्वातमान गृहमन्त्री रवि लामिछाने पनि सुशासनको अभियानलाई निरन्तता दिएको हेर्न चाहन्छन् ।

राज्य सञ्चालनको मुख्य पिलर गृहले भ्रष्टाचार र कर्मचारीलाई जिम्मेवार बनाउनु नै पर्छ । जसको मुख्य कडी भनेकै सुशासन हो । झापाको गिरीबन्धु टि इस्टेटमा अदालतको पूर्ण फैसला आएर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को कदम गलत सावित भइसकेको हुँदा हालका प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने आँट उनले राख्छन् वा राख्दैनन् त्यो पनि हेर्न पर्नेछ । त्यस्तै उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य आरोपित बालमन्दिर जग्गा काण्डको फाइलमा पनि काम गरेर देखाउनु पर्ने छ ।

बृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जमिन अतिक्रमण, पतञ्जली आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाका साथै टीकापुर नगर विकास समितिका पदाधिकारीहरूले सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दाको छिनोफानो पनि गराउनु पर्नेछ । अझ सबैभन्दा बढी आफैँ निर्वाचित जिल्ला कञ्चनपुरकी १४ वर्षीया नाबालिकाको बलात्कारपछि भएको हत्याबारे निर्मला पन्तलाई न्याय दिनु पर्नेछ ।

पछिल्लो समय देखिएको सहकारी प्रकरण र संसदमा प्रतिपक्षी हुँदा जीबी राई खोजेका नवनियुक्त गृहमन्त्री लेखकले विदेशमा रहेका राई खोज्छन् कि खोज्दैनन् ? त्यो पनि उनका लागि चुनौती बन्ने देखिएको छ । त्यसबाहेक दिन प्रतिदिन बढ्दै गरेको सामाजिक सद्भाव खलबलिने घटनालाई न्यूनीकरण गर्नु पर्ने जस्ता चुनौती नवनियुक्त गृहमन्त्रीलाई छ ।

नेपाली कांग्रेसका सक्षम र प्रभावशाली नेतालाई पनि पछि पार्दै गृहको नेतृत्व गर्न पुगेका लेखक क्याबिनेट र पार्टी नेतृत्वले स्वतन्त्र भएर काम गर्न दिन्छन् वा दिँदैनन् । त्यसमा नै उनको उनको क्षमताको मूल्याङ्कन हुने देखिन्छ । चुनौतीको चाङ नै भए पनि काम गरेर देखाउने प्रशस्तै अवसर भने गृहमन्त्री लेखकलाई छ । उनले कानुनी शासनको व्यवस्था लागू गर्न सकेमात्र पनि सुशासन कायम गर्न पर्याप्त हुन्छ । जसका लागि शान्ति सुरक्षा कायम गर्न नेतृत्वको सुझबुझ हुन अत्यावश्यक छ ।