अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको गोली प्रहारपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । ट्रम्पले उपष्ट्रपतिको उम्मेद्वारसमेत छनोट गरेका छन् । राष्ट्रपति जो बाइडेनले भने वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई नै निरन्तरता दिने भएका छन् ।
विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति चुनाव आगामी नोभेम्बरमा हुँदैछ । यसपटकको चुनावमा फेरि पनि मुख्य प्रतिस्पर्धा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पबीच नै हुँदैछ । चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिस्पर्धी नेताहरुले ¥याली तथा प्रचार सभालाई तीव्रता दिएका छन् । यही क्रममा गत शनिबार साँझ पेन्सिलभेनियामा चुनावी ¥यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । २० वर्षीय युवकले एक भवनको छतबाट चलाएको गोलीले ट्रम्पको दायाँ कानमा लागेको थियो ।
यद्यपि, ट्रम्प बच्न सफल भएका थिए । गोली काण्डलगत्तै उनलाई अस्पताल लगिए पनि केही घण्टामै उनी घर फर्किएका थिए । सो गोली काण्डपछि उनी पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन् । चुनावी दौडमै रहेका ट्रम्पले उपष्ट्रपतिको उम्मेद्वारसमेत छनोट गरेका छन् । ट्रम्पले रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेका हुन् ।
ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन् । भान्स ट्रम्पको आलोचक थिए तर पछि उनकै सहयोगी बने । उपराष्ट्रपतिको उम्मेदवार घोषणा गरिएका भान्स चर्चित लेखक पनि हुन् । उनले ‘हिलबिली एलिजी र अ रेलिभेन्ट फेथः सर्चिङ फर मिनिङफुल अमेरिकन’ जस्ता चर्चित किताब लेखेका छन् ।
भान्सले अमेरिकी जल सेनासँग जोडिएर इराक युद्धको रिपोर्ट पनि गरेको अनुभव छ । यता राष्ट्रपति जो बाइडेनले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई नै उपराष्ट्रपतिको उम्मेदवारमा निरन्तरता दिने भएका छन् । सन् २०१९ को राष्ट्रपतीय चुनावमा प्रथम महिला, प्रथम अश्वेत र प्रथम एशियाली अमेरिकी उपराष्ट्रपति बनेर ह्यारिसले इतिहास बनाएकी थिइन् । सन् २०२१ को नोभेम्बरमा राष्ट्रपति बाइडेनको स्वास्थ्यको परीक्षण हुँदै गर्दा उनी ७५ मिनेट कार्यवाहक राष्ट्रपति बनेकी थिइन् ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सका पाँच डेमोक्रेट नेताहरूले खुलेरै ८१ वर्षे बाइडेनलाई नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति पदको उम्मेदवार नबन्न आह्वान गरेका थिए । गत जुनमा डोनाल्ड ट्रम्पसँगको सार्वजनिक बहसमा बाइडेन फितलो रूपमा प्रस्तुत भएपछि उनीहरूको त्यस्तो धारणा आएको थियो । ओहायोका प्रतिनिधि टिम रायनले बाइडेनको साटो कमला ह्यारिसलाई उम्मेदवार बनाउनु पर्ने बताएका थिए । तर यो अवस्थामा बाइडेनलाई नै राष्ट्रपति चुनाव लडाउन ह्यारिसले समर्थन गरेकी थिइन् । उनले आफू राष्ट्रपतिको उम्मेदवार नबन्ने र बाइडेनलाई नै अगाडि बढाउनु पर्ने बताएकी थिइन् ।
बाइडेनले पनि चुनाव लड्ने र जित पनि आफ्नै पक्षमा रहने दाबी गर्दै आएका छन् । उक्त दाबीलाई सयौँ समर्थकहरुले स्वागत गरेका छन् । अमेरिकामा राष्ट्रपतिसँगै उपराष्ट्रपतिको पनि चुनाव हुने गर्छ । उपराष्ट्रपतिको चुनाव पनि रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । अमेरिकाको इतिहासमा दक्षिण एसियाली मूलकी कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति हुन् भने ७५ मिनेट कार्यवाहक राष्ट्रपति बनेकी छन् । अर्काेतर्फ कमला ह्यारिसको प्रत्यासीको रुपमा चर्चित लेखक जेडी भान्स छन् । राष्ट्रपतिमा बाइडेन र ट्रम्पको जस्तै उपराष्ट्रपतिको चुनावमा कमला ह्यारिस र जेडी भान्सबीच रोचक प्रतिस्पर्धा हुने निश्चित छ । यद्यपि, नतिजा कसको पोल्टामा जान्छ ? यसका लागि अझै साढे चार महिनाभन्दा बढी समय कुर्नै पर्नेहुन्छ ।।
प्रतिक्रिया