Breaking

ओलीको शपथमा प्रचण्ड बटारिए, बद्नामी नेतालाई मन्त्री उपहार


काठमाडौँ – केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेसँगै किस्ताबन्दीमा मन्त्रिपरिषद विस्तार गर्ने नेपाली राजनीतिमा हाबी परिपाटीलाई तोडेका छन् । अर्थात एकैपटक २१ मन्त्रीलाई आफूसँगै ओलीले शपथ खुवाएका छन् । तर ओलीको मन्त्रिमण्डल पूर्ण रुपमा समावेशी भने बन्न सकेको छैन । साथै मन्त्रिपरिषदमा विवादित छविका मन्त्रीले पनि उत्तिकै स्थान पाएका छन् ।

पटक–पटक सत्ताको काँध फेरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल र उनीमाथि काउन्टर दिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले असहज महसुस गरिरहेको यो दृश्य शीतलनिवासको हो । शपथग्रहण समाहरोहमा ओलीलाई अफ्ठ्यारो मानेरै बधाइ दिनुपर्ने बाध्यतामा प्रचण्ड थिए । दुई पटक संसद विघटन गरेर २०७८ असार २८ गते सत्ताच्युत भएका ओली असार २८ कै साइतमा फेरि प्रधानमन्त्री बनेका छन् । संयोग नै मान्नुपर्छ– असंवैधानिक हर्कत सच्याउन परमादेशमार्फत प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले नै अहिले ओलीलाई जनादेशमार्फत प्रधानमन्त्री बनाइदिए । यसलाई एमाले वृत्तले सानदार कमब्याकका रुपमा हेरेको छ ।

ओली क्याबिनेट दागी मन्त्रीबिहीन बनाउने बताइए पनि त्यसअनुसार भने हुन सकेन । करिब आधा दर्जन मन्त्रीहरु दागीको सूचीमा छन् ।


१. आरजु राणा– परराष्ट्रमन्त्री
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी काण्डमा अघिल्लो सरकारको अनुसन्धानको दायरामा थिइन् । तर, उनलाई नै जोगाउन सरकार परिवर्तन भएकोसम्मका चर्चा अझै सेलाएका छैनन् । यसबाहेक उनी टीकापुर जग्गा प्रकरणमा पनि अनुसन्धानको दायरामा छिन् ।
२. विष्णु पौडेल, अर्थमन्त्री
ललिता निवासको जग्गा घोटालामा शक्तिको आडमा जग्गा फिर्ता गरेर भ्रष्टाचारको मुद्दाबाट उन्मुक्ति पाएका पात्र हुन् विष्णु पौडेल । बालुवाटारको ११३ रोपनी जग्गामध्ये ८ आना जग्गा पौडेलका छोरा नविन पौडेलको नाममा देखिएको थियो । यद्यपि, अर्थमन्त्रीको रुपमा उनले सकारात्मक काम भने गरेका छन् ।
३. शरतशिंह भण्डारी, श्रममन्त्री
स्याम्पेन मन्त्रीका नामलेसमेत चिनिने भण्डारी पञ्चायतदेखि आजसम्मका लगभग सबै सरकारमा गरी २० पटक मन्त्री भइसकेका छन् । अघिल्लो सरकारमा श्रम मन्त्रालयमै कोरिया जाने कामदारको टिकटदेखि तालिम शुल्क बढाएर विवादमा आएका भण्डारी फेरि त्यही मन्त्रालयमा फर्र्किएका छन् । उनका विवादित निर्णय तत्कालीन मन्त्री डीपी अर्यालले उल्ट्याएका थिए ।
४. प्रदीप यादव, खानेपानीमन्त्री
अघिल्लो सरकारमा स्वास्थ्यमन्त्री रहेका यादव स्वास्थ्य सामग्रीको ठेक्कादेखि कर्मचारीको सरुवामा समेत पैसा उठाएर बदनामी कमाएका पात्र हुन् । अस्पतालहरुको टेण्डर मिलेमतोमा दिलाएर कमिसन लिनेदेखि सचिवालयमार्फत अस्पताल प्रमुखहरुलाई धम्क्याएर घुस बार्गेनिङ गर्नेसम्मका आरोप उनीमाथि छ ।
५. दीपक खड्का, उर्जामन्त्री
वर्तमान सरकारको सबैभन्दा बढी स्वार्थ बाझिने मन्त्री नै दीपक खड्का हुन् । किनकि संखुवासभाका विभिन्न हाइड्रोहरुमा लगानी गरेका खड्काले नै उर्जा मन्त्रालयको नेतृत्व पाएका छन् । यसअघि नेपाल स्काउटको लैनचौरस्थित जग्गा भाडाको आवरणमा अवैध रुपमा कब्जा गरेको आरोप उनीमाथि छ ।

दुई दल कांग्रेस र एमालेले नयाँ सत्ता सहमतिको समीकरण गरे पनि सत्तायात्रामा भने चार दल मिसिएका छन् । जनता समाजवादीले २ र लोकतान्त्रिक समाजवादीले एक मन्त्रालय पाएका छन् । ओली नेतृत्वको मन्त्रिमण्डलमा १० नयाँ अनुहार पर्दा ओलीले नै रुचाएका कैयौँ पात्र मन्त्री बन्नबाट छुटे । आरजु राणा, प्रदीप पौडेल, देवेन्द्र दाहाल, अजय चौरसिया, रामनाथ अधिकारी, बद्री पाण्डे, विद्या भट्टराई, मानबीर राई, राजकुमार गुप्ता र ऐनबहादुर शाही ठकुरी नयाँ अनुहार हुन् । तर पनि ओलीले रुचाएका गगन थापा, विश्वप्रकाश शर्मा, योगेश भट्टराई, पदम गिरी लगायत सांसद भने मन्त्री बन्न पाएनन् । यता, कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले मौका पाउँदा जीवन परियारले दोस्रोपटक धोका पाए ।

राष्ट्रिय सभाबाट देवेन्द्र पौडेल एक जना मात्रै मन्त्री बनेका छन् । उनी ओलीका छिमेकीसमेत हुन् । आरजुबाहेक समानुपातिक सांसद पनि मन्त्रिपरिषदमा समेटिएका छैनन् । सबैभन्दा बढी मधेश प्रदेशले ६, सुदूरपश्चिमले चार, कोशीले प्रधानमन्त्रीसहित चार, बागमतीले ३, गण्डकीले २ तथा लुम्बिनी र कर्णालीले एक–एक मन्त्री पाएका छन् । शीर्ष नेताको परिवारकै भएका कारण दुई महिलाले मौका पाए पनि ओली क्याबिनेटले दलित मन्त्री भने पाएन ।

यसपटक जनतालाई डेलिभरी दिनेगरी अनुभवी मन्त्री पठाउने भनिए पनि अधिकांश नयाँ अनुहारले नै स्थान पाएका छन् । त्यसमध्ये कानुनका ज्ञाता रमेश लेखकको गृह, युवा जोशका साथमा स्वास्थ्यमा प्रदीप पौडेल, उपप्रध्यापकसमेत रहेकी विद्या भट्टराईमाथि जनताले ठूलो आशा राखेका छन् । साथै उनीहरु परीक्षाको घडीमासमेत छन् ।