Breaking

सिंहदरबारमा मन्त्रीको चमकधमक, आरजु र लेखकको तामझाम


काडमाडौँ – एमाले–कांग्रेसको बलियो समीकरणले लगभग पूर्ण आकारको मन्त्रालयसहित काम थाल्दा मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । चुनौतीको चाङमा रहेका तथा काण्ड मिलाउन नभई स्थायित्व दिन एक भएको सन्देश दिने यी अनुहार पहिलो दिनदेखि नै सही संकेत दिने दबाबमासमेत देखिन्छन् । फलतः खादा माला नलगाउनेदेखि मन्त्रालय जान नपाउने मन्त्रीको हालतसमेत पहिलो दिनमै देखियो । यसबाट उनीहरुले देखाएको दिशा र भोग्ने दशा कस्ता छन् त ?

दुईतिहाई सांसदको साथमा २१ मन्त्रीसहित सत्तारोहण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । परमादेशबाट सत्ताविहीन भएपछि जनमतबाट फर्किएको रुपमा एमाले नेताहरुले अथ्र्याएको यो इन्ट्री नै धमाकेदार देखिएको छ । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरे । त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरे। साथै पार्टी केन्द्रीय कार्यालय च्यासल पनि पुगेका उनले विगतमा आफैँले भनेझै जस्केलाबाट नभई मुलढोकाबाटै छिरेको संकेत दिन भ्याए । त्यस्तै उपप्रधानसहित शहरीविकास मन्त्रालय सम्हालेका प्रकाशमान सिंह सधैँ झै लोसे देखिए ।

नयाँ सरकारले जनतालाई राहत दिनेगरि काम गर्नुपर्ने भन्दै कर्मकाण्डी प्रतिक्रिया सिंहले दिँदाअर्थमन्त्री विष्णु पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे । उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राखे ।विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णय गरे । यता गृहमन्त्री रमेश लेखकले पहिलो निर्णयका रुपमा सिमलताल दुर्घटनाबारे अध्ययन गर्न कार्यदलगठन गरेका छन् ।यो सरकारको सबैभन्दा प्रहारको तारोमा पर्ने मन्त्रीका रुपमा रहेका उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई सुदृढ गर्नका लागि संविधानको समिक्षा गर्नु पनि सरकारको प्राथमिकता रहेको स्पष्ट पारे ।

यता परराष्ट्रमन्त्री बनेकी डा.आरजु राणा देउवाको चमकधमक सबैभन्दा बढी देखियो । विवादित छविकी उनले आफैँले रोजेको मन्त्रालय पाएकी छन् भने मन्त्रिपरिषदमा उनको वरीयता सातौं स्थानमा छ । यो समीकरण बनाउँदा निर्णायक वार्ता गर्न श्रीमान् शेरबहादुर देउवासंगै बालकोट पुगेकी उनकै कारण समीकरण फेरिएको आशंका गरिन्छ । माओवादीकै नेताहरुको भाषामा भन्नु पर्दा गिरीबन्धु र नक्कली भुटानी प्रकरणका कारण एमाले कांग्रेस एक ठाँउमा उभिदा आरजु केन्द्रीय पात्र हुन् । उनको मन्त्रालय प्रवेश सबैभन्दा भिडभाड र तामझामपूर्ण थियो ।

यता कृषीमन्त्री रामनाथ अधिकारले त मन्त्रालय प्रवेश नै पाएनन् । अन्य मन्त्रालयमा मन्त्रीको स्वागतका लागि कर्मचारी पुष्पगुच्छासहित लाइन लागेर बसिरहेका बेला मन्त्री अधिकारी भने कर्मचारी आन्दोलनका कारण रोकिएका हुन् । यता सुमना श्रेष्ठको विरासत कायम गर्नेगरि काम गनुपर्ने बाध्यतामा रहेकी विद्या भट्टराईले शिक्षामन्त्रालय सम्हालेकी छिन् ।

कार्यभार सम्हाल्दै विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन्। यता पहिले नै मन्त्रीको स्वाद चाखिसकेका सूचना तथा सन्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पपुलर हुन नभई डेलिभरी गर्न आएको बताएका छन् । मन्त्रालयको कुरा बुझ्न धेरै बाँकी रहेको भन्दै उनले आज ठूला कुरा नगर्ने प्रष्टाए ।

यता अहिलेसम्म २० औँ पटक मन्त्रीमा बाजी मारेका स्याम्पेनमन्त्री अर्थात श्रममन्त्री शरदसिंह भण्डारीले पनि कार्यभार सम्हाले । नेताका प्रिय तर नागरिक वाक्क भएका उनी मन्त्री भएसंगै लोसपा फेरि विभाजित हुने अवस्था बनेको छ । आशा गरिएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले त काम गरेर नदेखाएसम्म खाँदा माला नलगाउने भन्दै काठमाडौंका मेयर बालेन्द्र शाह शैली अपनाए ।

गगन थापाको विरासत र आफ्नो राजनीतिक भविष्य स्थापित गर्न काम गर्नैपर्ने दवावमा रहेका उनले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । यो मन्त्रिपरिषदमा मानवीर राई जस्ता नयाँ अनुहार पनि समेटिँदाआम नागरिकले यो नै अन्तिम विकल्पका रुपमा बुझिरहेका छन् ।

ठूला दल नै मिल्दासमेत केही नभए देश नै दुर्घटनामा पर्नसक्ने खतराको समेत विश्लेषण गरिँदारवि लामिछाने जस्ता मुखर,पुष्पकमल दाहाल प्रचण्ड जस्ता रणनीतिक प्रतिपक्षको सामना गर्नु सहज हुने छैन । फलतः यो सरकारको भविष्यका दिन चुनौतीपूर्ण रहेको स्पष्ट छ भने कर्मकाण्डी र टेष्टेड मन्त्रीहरुको स्टण्डले नै व्यापक परिवर्तन नहुने पक्का छ । जसका लागि पहिलो दिनदेखि नै नौलो सुरुवात गर्नुपर्ने बाध्यतालाई मन्त्रीहरुको कर्मकाण्डी व्यवहारले गिज्याइरहेको छ ।