Breaking

त्रिशूलीको बस खोज्न भारतीय झिकाइँदै, सेना–प्रहरीले सोनार क्यामेराले खोज्दै


चितवनको सिमलताल पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म एक दर्जन बढीको शव मात्र भेटिएको छ । वेपत्ता भएका अन्य यात्रु र दुई बसको अवस्था अझै अज्ञात छ । खोजी कार्यलाई सहज बनाउन भन्दै आजदेखि नयाँ प्रबिधिको समेत प्रयोग गरिएको छ । साथै नयाँ सरकार गठन भएको पहिलो दिनमै गृहमन्त्रीले दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म आधा दर्जनभन्दा बढीको शव भेटिएको छ भने बेपत्ता भएका अन्य यात्रु र दुई बस अझैसम्म फेला परेका छैनन् । अहिलेसम्म फेला परेको शवमध्ये तीन वटा शव भारतीय नागरिक र अन्य नेपाली रहेको प्रहरीले पुष्टि गरेकोे छ ।

सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनियाका २८ वर्षीय ऋषिपल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।

त्यसैगरी चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई ४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ । घटनास्थल सिमलतालभन्दा ५० किलोमिटरदेखि एक सय किलोमिटर गण्डक ब्यारेजसम्ममा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले केही शव नारायणी नदीमा बगेर भारत पुगेको आशङ्का व्यक्त गरेको छ ।


काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसलाई भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार निकालेको विवरण अनुसार दुवै बसको चलानी र आफन्तले दिएको जानकारीसहित दुई बसमा ६५ जना यात्रु रहेको तथ्यांक प्राप्त भएको छ ।

नयाँ सरकार गठन भएसँगै नवनियुक्त गृहमन्त्री रमेश लेखकलले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका लेखकले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा तीन वटै सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिनको समय दिइएको छ ।

आइतबार गृह मन्त्रालयका सचिव, सशस्त्र र नेपाल प्रहरी प्रमुख लगायतको टोली सिमलताल पुगेर खोजी कार्यबारे जानकारी लिएका थिए । त्यसपछि अत्याधुनिक सोनार क्यामेरा सिमलताल झिकाइएको छ । नयाँ उपकरणसहित प्राविधिक टोली गएराति नै काठमाडौंबाट सिमलताल पुगेको थियो । सो उपकरण सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको थियो । सरकारको सबै संयन्त्र खट्दा पनि दुर्घटना भएको चार दिनको अवधिमा केही मात्र शव भेटिनुलाई दुभाग्यपूर्ण मानिएको छ । तथापि हराइरहेका यात्रु तथा दुवै बसको खोजी कार्य भने सोमबार पनि जारी छ ।

शुक्रबार देखिनै खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ, भने विभिन्न उपकरणसहित गोताखोरहरू पनि परिचालन गरिएको छ । बस र यात्रु खोजीलाई सहज बनाउन सरकारले भारत लगायतका छिमेक मुलुकबाट उपकरणको लागि पहल जारी राखेको जनाएको छ । सहजताका लागि पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको प्रहरीले सोमबारदेखि भने नयाँ प्रविधि प्रयोग गरिएको जनाएको छ ।

खोजीमा ¥याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामराहरू जडान गरिएका छन् । विदेशबाट उपलब्ध गराइएको नयाँ प्रविधिमार्फत् यो उपकरणले तीन सय मिटर गहिराइसम्मको अवस्थाबारे जानकारी दिने प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । सशस्त्र प्रहरीको गोताखोरसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाँसका भाटासहित एयर ड्रोन, वाटर ड्रोन, चुम्बक, बाइनाकुलर, टेलिस्कोप, एङ्कर हुक लगायतका उपकरणमार्फत् खोजी कार्य तीव्र रुपमा अगाडि बढाइरहेको छ ।

दुर्घटनामा परेको बसमा सवार ३ जना यात्रु भने पौडिएर बाच्न सफल भएका छन् । बससंगै त्रिशुलीमा खसेका नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर राय बसबाट हाम फालेर नदीमा पौडिएर बाहिर आएका थिए । नदीमा खोजी कार्य जारी रहँदा त्रिशुलीको सडक किनारमा बेपत्ताका आफन्तहरु झिनो आस बोकेर नदि तटमा आँखा डुलाइरहेका छन् । बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन सरकारदेखि सरोकारवाला संघसस्थालाई आग्रह गरेका छन् । परिवारका ३ देखि ४ जनासम्म गुमाएका आफन्त भावविहोल अवस्थामा छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाने समस्या भने नयाँ होइन । सन् १९७०–७४ मा निर्माण गरिएको यो सडकमा २०६०÷६१ ताका भने ठूलै क्षति हुने गरी पहिरो गएको सरकारको तथ्थांक छ । त्यतिबेलादेखि नै विस्तारको योजना बने पनि पटक–पटकको पहिरोले चुनौती बढिरहेको छ । पूर्वाधारविज्ञले नारायणगढ–मुग्लिन खण्डमा पहिरोको समस्या निम्तिनुमा धेरै कारण रहेको औँलयाएका छन् ।

यस क्षेत्रको सडक स्तरोन्नतिका लागि सरकारले ठूलो लगानी गरेको भए पनि समस्या समाधान हुन सकेको छैन । सडक डिभिजन भरतपुरले यसअघि पाँच अर्ब १३ करोड खर्च गरेर स्तरोन्नति गरेको गरेको थियो । तर पनि सबैभन्दा ठूलो जोखिम नै पहिरो बन्दै आएको छ । कतिपय विज्ञले गहिरो अनुसन्धान नगरी सडक विस्तार कार्य अगाडि बढाउँदा पनि पहिरोको जोखिम झनै बढेको टिप्पणी गरेका छन् ।।