अन्तर्राष्ट्रिय

ट्रम्पमाथि गोली, तात्तियो चुनावी माहोल, बाइडेनले सुरक्षा दिन नसकेकै हुन् ?


अमेरिकाको पेन्सिलभेनियामा एक चुनावी ¥यालीका क्रममा गोली चल्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । ट्रम्पको चुनावी ¥याली भइरहेको बेला गोली चलेको हो । उनीमाथि २० वर्षीय थोमस म्याथ्यु क्रुकले गोली चलाएका थिए । ट्रम्पमाथि भएको आक्रमणको उद्देश्य के थियो भन्ने खुल्न नसके पनि हत्या गर्ने प्रयास गरिएको अधिकारीहरुले जनाएका छन् ।

शनिबार साँझ साढे ६ बजे अमेरिकाको पेन्सिलभेनियास्थित बट्लरमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी ¥यालीलाई सम्बोधन गर्दै थिए । त्यही क्रममा उनीमाथि बन्दुक आक्रमण हुन्छ । ¥यालीमा गोली चल्दा ट्रम्प घाइते भएका छन् । ट्रम्प मञ्चमा बोल्दै गर्दा गोली चलेको थियो । अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई) ट्रम्पमाथि गोली चलाउने संदिग्धको पहिचान भएको र उनी जवाफ कारबाहीमा मारिएको जनाएको छ । २० वर्षीय थोमस म्याथ्यु क्रुकले ट्रम्पमाथि करिब ४ सय मिटर पर रहेको एक भवनको छतबाट गोली चलाएका थिए ।

अमेरिकामा दैनिक हतियारमार्फत हिंसात्मक घटनाहरू भइरहन्छन् । त्यसैले आन्तरिक गोली बमबारीको समाचारहरु अमेरिकी मिडियाको नजरमा खासै पर्दैनन् । तर, शनिवार ट्रम्पमाथि गोली प्रहारको समाचारले विश्वभर तरंग पैदा गरिदियो । आगामी नोभेम्बरमा हुने निर्वाचनमा अघिल्लो निर्वाचनमा झै दुई प्रभावशाली जो बाइडेन र डोनाल्ड ट्रम्पबीच नै महाभिडन्त हुँदैछ ।

निर्वाचनको सर्गमीकाबीच आफ्नो मतदाता रुझाउन ट्रम्प र बाइडेन चुनावी सभामा व्यस्त छन् । चुनावी मैदानमा मतदातासामु भाषण गरिरहँदा सामान्य मानिएको हतियारमार्फत हिंसाको सिकारमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आँफै परे । ट्रम्पको कानमा गोली लागेको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ ।

ट्रम्पका प्रतिद्वन्द्वी अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन्् । ट्रम्पमाथि गोली चलाउने क्रुक सिक्रेट सर्भिसका अधिकारीहरुबाट मारिएका छन् । उनले ट्रम्पले सम्बोधन गरिरहेको ¥यालीतर्फ अन्धाधुन्ध गोली चलाएका थिए । सो घटनामा अर्का एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

¥यालीमा सहभागी भएका एक जना ट्रम्पका समर्थकले क्रुकलाई भवनतर्फ जाँदै गरेको र छतमा राइफलसहित घस्रिँदै गरेको देखेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीलाई सूचना दिएका थिए । कानमा गोली लागेर घाइते भएका ट्रम्पलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल लगेका थिए । अस्पतालमा उपचार पछि ट्रम्प आफ्नो निवास न्यु जर्सी फर्किसकेका छन् । उनले कानमा गोली लागेको बताउँदै छालालाई छिचोलेर गोली निस्केको जानकारी दिएका छन् ।

यता ट्रम्पको चुनावी अभियानका एक वरिष्ठ सल्लाहकारले अमेरिकाको सिक्रेट सर्भिसको तयारीलाई लिएर प्रश्न खडा गरेका छन् । गोलीले ट्रम्पलाई छोएर गएको भिडियोमा देखिए पनि यदि गोली एक इन्च मात्रै उनको टाउको तर्फ हुन्थ्यो भने यो हत्या हुने ती सल्लाहकारले बताएका छन् । यसरी उच्चपदस्थमाथि गोली प्रहार भएको पहिलो पटक भने होइन । यसअघि पनि सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनमाथि वासिङ्टन डिसीस्थित एक होटलबाहिर गोली प्रहार भएको थियो । वासिङ्टन हिल्टन होटलमा कामदारहरुको बैठकलाई सम्बोधन गरेर बाहिरिने क्रममा रेगनलाई रिपोर्टरको भीडमा उभिएर बसेका जोन हिन्क्लेले ६ पटक गोली हानेका थिए ।

अमेरिकामा मदिरा वा सुर्ति चुरोटभन्दा हतियार किन्न सजिलो छ । मदिरा किन्नुप¥यो भने २१ वर्ष उमेर पुगेको प्रमाणसहित निश्चित दिन र समयमा निश्चित ठाउँबाट मात्र किन्न पाइन्छ । जबकि १८ वर्ष उमेर पुगेपछि सजिलै बजारबाट बन्दुक किन्न सकिन्छ । राजनीतिक दलहरूले हरेक निर्वाचनमा बन्दुक नीतिको कुरा उठाइरहेका हुन्छन् । तर, अमेरिकी खुला बन्दुक नीतिका कारण सँधै यस्ता घटनाहरू भइरहन्छन ।

बन्दुक किन्नुअघि स्वास्थ्य अवस्था, व्यक्तिगत इतिहास जाँच गर्नुपर्ने जस्ता कुरा एक वर्गले उठाउँछ भने अर्काे वर्ग अमेरिकी नागरिकहरू स्वतन्त्र रहेको र वयस्क भएपछि हतियार राख्न पाउनु नैसर्गिक अधिकार भएको बताउँछन् । अमेरिकामा रहेको गरिबी, अशिक्षा, पारिवारिक बेमेलबाट हुने मानसिक स्वास्थ्य समस्याको समाधान नखोजेसम्म यस्ता घटना रोकिने देखिँदैन । ट्रम्पमाथि आक्रमण भएसँगै हतियारको विषय निर्वाचनको एक मुख्य एजेण्डा बन्न सक्ने देखिएको छ ।