Breaking

रविमाथि राष्ट्रघातको आरोप, मुकुल कुट्न स्वर्णिमका गुण्डा


राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीभित्रको गतिविधिबारे मुख खोलेपछि हलचल ल्याइदिएको छ । पार्टीका आन्तरिक कुरा र राष्ट्रियता जस्तो संवेदनशील विषयमा बोल्दा पार्टी पदाधिकारी हैरानीमा पर्नुका साथै हङ्गामा मच्चाएको छ ।

आम जनतामाझ वैकल्पिक शक्ति भनेर परिचित राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरूका आ–आफ्नै विविध पेशा व्यवसाय छन् । कोही चिकित्सक पेशामा आबद्ध छन् भने कोही व्यापार व्यवसाय गर्छन् । त्यस्तै कोही म्यानपावर सञ्चालक हुन् भने कोही आर्थिक क्षेत्रमा कहलिएका व्यक्तिमा पर्छन् । कोहीसँग कला क्षेत्रको लामो अनुभव छ त कोही सञ्चारकर्ममा ख्याति प्राप्त छन् । तर, रास्वपामा हरेक क्षेत्रका विज्ञहरू भए पनि कोही राजनीतिक पृष्ठभूमिका नेता भने छैनन् । यस्ता थुप्रै अलग अलग पेशा व्यवसाय अपनाइरहेका नेताहरूको विकल्प राजनीति बन्दा अहिले उनीहरूको विकल्पको डुङ्गा डुब्ने सङ्घारमा आइपुगेको छ ।

रास्वपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि राजनीतिलाई विकल्प बनाउँदै आएको वैकल्पिक शक्तिको भण्डाफोर गर्न महामन्त्री मुकुल ढकाल नै लागिपरेको छ । पार्टीले आफूलाई निलम्बन गरेपछि ढकालले मुख खोल्दा रास्वपामा हङ्गामा मच्चिएको छ । पार्टी स्थापनाका योजनाकारसमेत रहेका निलम्बित ढकालले सभापति रवि लामिछानेको साथ छोड्दा सभापति लगायतका नेतृत्वमाथि पनि थुप्रै प्रश्नहरू र गम्भीर आरोप लगाएका छन् ।

पार्टी स्थापनादेखिका सहयात्री ढकालले सभापति र उपसभापति स्वर्णिम वाग्ले भारत परस्त रहेको भन्दै प्रधानमन्त्री बनाई दिए जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताएका छन् । अझ उपसभापति वाग्लेले त नेपाललाई भारतको संरक्षित राज्य बनाउने सम्मको प्रस्ताव राखेको आरोप लगाएका छन् । देश दौडाहामा निस्किएर निर्मम प्रतिवेदन पेश गरेपछि निलम्बनमा परेको मुकुलले पार्टीप्रति आगो ओकलिरहेका छन् ।

मुकुल र पार्टीका नेताहरूको अहिले सामाजिक सञ्जालमा भिडन्त देखिन्छ । उपसभापति स्वर्णिम वाग्लेले फोन गरेर धम्याउने गरेको आरोप उनले लगाएका छन् भने गणेश कार्कीले पनि मुकुलले दिएका अभिव्यक्तिको सामाजिक सञ्जालबाट नै खण्डन गरेका छन् । समानुपातिक सांसद छान्दा तत्कालिन महामन्त्री मुकुलले चलखेल गरेर आफ्नो मान्छेलाई बनाउँन आफूलाई विस्थापित गरेको गणेशको तर्क छ ।

रास्वपा स्थापना भएको दुई वर्ष पुरा भएर तीन वर्षमा लाग्दै गर्दा यो अवधिसम्म मौन बस्नुको कारण पार्टी नेता खोतलेका छन् । एकलौटी ढङ्गले पार्टी सञ्चालन गर्न पाउँदासम्म सन्तुष्ट भएका उनी अन्य पदाधिकारीले जवाफ माग्न थालेपछि असन्तुष्ट बनेका रास्वपाका नेताहरू बताउँछन् । पार्टीभित्र भएका तमाम गतिविधिमाथि बम फोडेका मुकुललाई अहिले पार्टी पंक्तिबाट आफूले लगाएको आरोपलाई पुष्टि गर्न चुनौती दिइ रहेको छ ।

पुराना राजनीतिक दल र नेताबाट हरेश खाएर विकल्पमा आएको रास्वपामा पनि त्यही पुरानै दलकै छनक दिने परिदृष्यहरू देखिसकेको छ । सत्ता मोह देखि पार्टी भित्रको आन्तरिक विवादले आफूलाई वैकल्पिक शक्ति भत्र रुचाउने पार्टीमा पदका भागिहरू जे पनि गर्न तयार रहेको देखिएको छ । जनताले ठूलो आश राखेको पार्टीमा दुई वर्षको अवधिमा नै बढ्दो विवादले निराशामा बदलिदिएको छ । पुराना दललाई जरै देखि उखेलेर फाल्छु भन्दै राजनीतिमा प्रवेश गरेको रास्वपा यही गतिमा अघि बढ्ने हो भने पार्टीको गन्तव्य चाढै सकिने पक्का छ ।

देशको राजनीतिक इतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा धेरै विकल्पहरू जन्मिसकेका छन् । राणा शासनविरुद्धको आन्दोलन हुँदै पञ्चायतकालमा कांग्रेस एमाले विकल्प भएर उदाए, ०६३ पछि माओवादी विकल्प बन्यो र अहिले रास्वपा उदाएको छ । तर, रास्वपाले पनि सकारात्मक सङ्केत देखाएको छैन । पार्टीको आन्तरिक विवाद पनि मिलाउन नसक्नेले देशको समस्या सल्ट्याउलान् ? भनेर प्रश्न उठाउन थालिएको छ । रास्वपा वैकल्पिक भनेर आत्मरतीमा मात्र रमाउने हो भने उनीहरुको पनि विकल्प खोज्नु पर्ने अवस्था आउने निश्चित छ ।