Breaking

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार,गोली चलाउने व्यक्ति सुरक्षाकर्मीको गोली लागेर मारिए


काठमाडौँ— अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।
बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।

त्यस्तै राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।

सबै अमेरिकीलाई एकजुट हुँदै यस्ता खालका आक्रमणको निन्दा गर्न आह्वान गर्दै उनले भने, ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन ।’ ट्रम्प सुरक्षित रहेको र उनको स्वास्थ्य राम्रो रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको पनि बाइडेनले बताए ।