Breaking

ढल्यो प्रचण्ड सरकार, अझै ओलीलाई रोक्न शीतल निवासलाई दबाब, रविले छोडेनन् अन्तिमसम्म साथ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता–यात्रा समाप्त भएको छ । पहिलो पटक संसदमा रहेका अधिकांश दलबाट अभूतपूर्व समर्थनसहित विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री प्रचण्ड पाँचौ पटक विश्वासको मत गुमाउँदै सत्ताच्यूत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सदनमा विश्वासको मत पाउँ भनी पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्छ । तर संसदमा उपस्थिति दुई सय ५८ सांसद संख्यामध्ये प्रधानमन्त्री प्रचण्डले जम्मा ६३ मत प्राप्त गरे । जसमा माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २१ र नेकपा एकीकृत समाजवादीको १० रहेको छ ।


एकजना तटस्थ रहँदा प्रस्तावको विपक्षमा १ सय ९४ मत खस्यो । योसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् । २०७९ पुष १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आडमा प्रधानमन्त्रीको तेस्रो इनिङ सुरु गरेका प्रधानमन्त्री प्रचण्ड ओलीकै कारण १८ महिनापछि सत्ताच्यूत भएका हुन् । पुष १० मा प्रधानमन्त्री बन्दै पुष २६ मा पहिलो पटक विश्वासको मत लिँदा सदनको सत–प्रतिशत अभूतपूर्व समर्थन पाएका प्रधानमन्त्री प्रचण्ड पाँचौ पटक भने विश्वासको मत गुमाउन पुगे ।

असार १७ मा एमाले–कांग्रेस समीकरणको सहमति हुनासाथ राजीनामाको दबाब झेल्दै आए पनि संवैधानिक अधिकार प्रयोग गर्ने अडानसहित सदनको सामना गरेका प्रचण्डले सदनको विश्वास गुमाएका हुन् । यससँगै ९ वर्षदेखि निरन्तर सत्तामा रहेको माओवादी प्रतिपक्षी कित्तामा पुगेको छ । असार १७ गते नै अल्पमतमा परेपनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न अनेक प्रपञ्च रचेका प्रचण्डले अझै पनि ओलीमाथि नै केही संवैधानिक प्रश्नहरु उठाउँदै बिदा भएका छन् ।

गत वर्षको चैत ६ गते दोस्रो पटक विश्वासको मत लिँदा उपस्थित सङ्ख्या २ सय ६२ रहेकोमा विश्वासको मतको पक्षमा १ सय ७२, विपक्षमा ८९ मत परेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाएका थिए । तेस्रो पटक तत्काल उपस्थित संख्या २ सय ६८ मध्ये उनले ५८.५८ प्रतिशत मत पाएका थिए ।

चौथो पटक प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा १५७ सांसदले साथ दिएका थिए । तर, पाँचौ पटक प्रचण्डले संसदको विश्वास गुमाए । यसले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएसँगै एमाले–कांग्रेस समीकरणमा नयाँ सरकार निर्माण प्रक्रिया अघि बढेको छ ।

संसदको पहिलो र दोस्रो शक्ति मिलेर बन्न लागेको भावी सरकारबारे चासो हुनु स्वभाविक छ । तर संसदीय खेल र राजनीतिक दलका नेताहरुबीचको घोचपेच तथा व्यंग्यबाण बढ्दै गर्दा नयाँ समीकरण र सत्ताको आयु कतिन्जेल हो भन्ने आशंकालाई अस्वभाविक मान्न सकिन्न । दलीय भागबन्डालाई व्यवस्थापन गर्दै सत्ता टिकाउनु आफँैमा महत्वपूर्ण हो । तर, ९ वर्षपछि सत्ताबाट माओवादी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ । लामो समय सत्तामा रहेर रजगज गरेको माओवादीलाई अहिलेको पीडा भुल्न भने अझै केही समय लाग्ने नै छ ।