Breaking

त्रिशूलीमा आफ्नै आँखा अगाडि बस खस्यो, बाचेकाको बयान


निरन्तरको वर्षाले देशभरका अधिकांश सडक अवरुद्ध भइरहेको अवस्थामा शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा आएको पहिरोले बगाएर दुई वटा बस त्रिशूलीमा बेपत्ता भए । ती दुई बसमा ६२ जना यात्रु रहेको प्रहरीको अनुमान छ । घटना लगत्तैदेखि हराइरहेका बस र यात्रुको खाजी जारी छ । तर अहिलेसम्म भेटिएका छैनन् । यो घटनापछि गृहमन्त्रालयले उच्च जोखिमको सूचना जारी भएका दिनमा तोकिएका जिल्लाहरुमा रात्रिकालीन सवारी चलाउन नपाइने रेड एड्भाइजरी जारी ग¥यो ।

रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने निर्णयसँगै यस विषयमा बहस सुरु भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका २९ सिमतालमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा दुई वटा बस बेपत्ता भएका छन् । यी दुवै बसमा ६२ जना यात्रु रहेको अनुमान गरिएको छ । अहिलेसम्म बस र यात्रु सबैको अवस्था अज्ञात छ भने खोजी कार्य जारी छ ।

काठमाडौंबाट गौरका लागि छुटेको ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस शुक्रबार बिहान करिब साढे तीन बजे सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने हामफालेर ज्यान जोगाउन सफल भए । उनीहरुले भगवानको कृपाले आफू बाचे पनि साथमा रहेका परिवारलाई बचाउन नसकेको र नदीले बगाएको कारुणिक पीडा सुनाए ।

शुक्रबारको यो घटना र देशको राजनीतिकलाई संयोग मान्नु पर्छ । ठूलो संख्यामा हताहतीको क्षति देशले बेहोर्नु पर्दा राज्य सत्तामा पनि राजनीतिक पहिरो गयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसक्दा पदबाट मुक्त भए । बाढी पहिरोको आहातले जनता तड्पिरहेका बेला संसदमा भने सरकार ढाल्ने र नयाँ सरकार बनाउने राजनीतिक खेल चलिरहेको थियो । यसक्रममा केही सांसदले जनताले भोग्नु परेको पीडाबारे संसदमा आवाज उठाउँदै सरकारको ध्यानाकर्षण गराए ।

मनसुन सुरु भएसँगै बाढी पहिरो र चट्याङका कारण दर्जनौँ नागरिकले अकालमै ज्यान गुमाएका छन् । सरकार परिवर्तनको उथलपुथलका कारण अहिलेसम्म यो विषयले राज्य सत्तामा बसेकाहरुलाई छुन सकेको छैन । केही देखावटी निर्णय र निर्देशन बाहेक प्रभावकारी काम हुनै सकेको छैन ।

यद्यपि, त्रिशूलीमा दुई बस बेपत्ताको घटनापछि गृहमन्त्रालयले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने प्रस्ताव गरे पनि त्यसबाट ब्याक हुँदै उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरुमा रात्रिकालीन सवारी चलाउन नपाइने निर्णय गरेको छ । गृहको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागबाट रेड एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रहरुमा तत्तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको हो ।

तर यो निर्णय व्यवहारिक र वैज्ञानिक नभएको भन्दै यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् । गृहको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. भीष्मकुमार भुसालले बर्खा याममा राति सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारी र गृह मन्त्रालका सचिव बीच भएको छलफलमा धेरै पानी परेको र पहिरो जाने सम्भावना भएका ठाउँको सडकलाई रेड जोनमा राख्ने र त्यहाँ गाडी नचलाउने निर्णय भएको हो । यसका साथै यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही गर्न गृह सचिवले निर्देशन पनि दिएका छन् । तत्काललाई गृहले गरेको यो निर्णय कार्यान्वयनले सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुग्ने देखिए पनि दीर्घकालीन रुपमा काम गर्न सक्ने देखिँदैन ।

यातायात व्यवसायी, सुरक्षाकर्मीले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउनु मात्रै समस्याको समाधान नहुने बताएका छन् । बरु सडक सुरक्षामा ध्यान दिन उनीहरुले जोड दिएका छन् । यो निर्णयले यात्रुलाई झनै सास्ती व्यहोर्न बाध्य पार्ने भएकाले पनि वैज्ञानिक नभएको भन्दै आलोचना हुन थालेको छ । सडक सुरक्षाको अध्यावधिक गर्ने कार्य नियमित नहुँदा यस्ता घटना निम्तने गरेकाले सवारी सञ्चालनमै रोक लगाउने भन्दा पनि दीर्घकालीन योजनाका साथ अघि बढ्न सरोकारवालाहरुले सुझाएका छन् ।

ताकी भविष्यमा बाढी पहिरोलगायत विपद्बाट यस किसिमको ठूलो क्षति ब्यहोर्नु नपरोस् भन्नेतर्फ सम्बन्धित पक्षले बुझ्न जरुरी छ । होइन भने ‘जब प¥यो राति, तब बुढी ताती’ यो नेपाली उखानको चरितार्थ हुने गरी विपद आइलागेपछि व्यस्थापन सम्बन्धी तयारी गर्नुको कुनै तुक छैन ।