काठमाडौँ – संसदमा प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले पाचौँ पटक विश्वासको मत लिँदा केही रोचक गतिविधि देखिए । जहाँ कुनै कालखण्डमा धोका दिन कसैले कसैलाई बाँकी नछाडेका दलहरु एक अर्कालाई नैतिकता सिकाउन अग्रसर भए भने अरुलाई पटक पटक धोका दिँदा पाउने पीडा प्रचण्डले महसुस गरिरहेका थिए ।
एकअर्कामाथि धोकाधडीको श्रेणी पार गरिसकेका कांग्रेस–एमाले–माओवादी फेरि एकअर्कामाथि धोकाधडीको आरोपमा उत्रिए । जनताले प्राकृतिक विपद्बाट मृत्युवरण गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने नाममा संसदमा गीत गाएर नांगो नाच देखाइरहेका थिए । जहाँ दलका शीर्ष नेताहरुको मलिन अनुहार हेर्न लायक थियो । हिजो बालुवाटार जान्छु भन्दै बालकोट गएर कांग्रेसलाई धोका दिँदा जुन मलिन अनुहार देउवाको थियो, त्यो डर आज प्रचण्डमा देखिन्थ्यो । तर कांग्रेसीको अनुहार उज्यालो थियो ।
बारम्बार झुट बोलेर माओवादीलाई छल गरेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डले पोल खोल्दा गम्भीर देखिन्थे । असार १७ गतेदेखि सार्वजनिक रुपमा बोल्नै छाडेका प्रचण्डले ६ हजार ६०७ शब्दमा कांग्रेस–एमालेमाथि आगो ओकले । जसमा आक्रोश र चेतावनीयुक्त भाषा बढी प्रयोग गरिएको छ ।
खासमा ९ वर्षसम्म सत्ताको रापतापमा रमाएर जनता बिर्सिएको माओवादीलाई एकाएक जनताको सम्झना आयो । सिमान्तकृत, दलित, जनजाति र जनयुद्धका सहयात्रीहरु झलझली मानसपटलमा आए । सुरुमै प्रचण्डले अँध्यारो कोठामा भएको एमाले–कांग्रेसको सम्झौतामा प्रश्न उठाए । आफूले कांग्रेससँग छलफल भएको समाचार देखाएरै ओलीबाट स्पष्टीकरण माग्दासमेत ओलीले उल्टै जालझेल गरेको घटनाक्रम उल्लेख गरे । यसको जवाफमा एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला एमालेसँग भएको सहमति सम्झाउँदै छलढाँटको श्रृंखला सम्झाइदिए ।
स्वर्ग र नर्क सँगै जान्छौँ भन्दै ओलीले कसम खाएको, तर बीच बाटोमै छाडेर गएको गुनासो प्रचण्डले गरेपछि योगेशले नर्क जानु नपर्ने र स्वर्ग जाँदा सँगै लैजाने जवाफ दिए । प्रचण्डको कुर्सी जोगाइदिनका लागि नर्क जाने काम एमालेले नगरेको उनको आशय थियो । प्रचण्डले दलित, महिला र अल्पसंख्यक समुदायको प्रतिनिधित्व बढाउन संविधान संशोधन गर्न चुनौती दिएपछि एमालेले जनयुद्धका सहयात्री कहाँ छन् ? भन्दै स्मरण गरायो ।
प्रचण्डले कांग्रेस–एमाले मिलनलाई कुनै शक्तिले मिलाइदिएको रुपमा ब्याख्या गरे । व्यापारी, विचौलीयाहरुको घरमा भएको सम्झौता देश र जनताको पक्षमा हुन नसक्ने भन्दै संसदबाटै राष्ट्रिय सहमतिको सरकार आह्वान गर्न के समस्या ? भन्दै प्रश्न गरे । यतिमात्र नभई २०४७ सालको अवस्थामा संविधानलाई लैजान खोजिएको र प्रतिपक्षमा बसेर प्रतिवाद गर्ने प्रचण्डले बताएका थिए । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पीडामा परेका प्रचण्डलाई थप पीडा नदिने भन्दै संविधान संशोधन गर्नु पश्चगमन नभएको र ठूला दल मिल्दैमा तर्सिनु नपर्ने जवाफ फर्काए ।
भुटानी शरणार्थीको फाइल खुलेकै कारण सरकार ढलेको भन्दै जस लिइरहेका गृहमन्त्री रवि लामिछाने पनि संसदमा ठूलो स्वरमा बोले पनि निरीह देखिए । विभिन्न नीतिगत कामका फेहरिस्त सुनाइरहँदा रविको बेचैनीको कारक ज्ञानेन्द्र शाही बनिदिए । आफ्नो प्रगति विवरण सुनाउने क्रममा छुटाएका निर्मला पन्तको हत्यारा पत्ता लगाउने र जीबी राई खोज्ने विषय रविका लागि अनुत्तरित बन्यो । सरकार ढलेपछि संसदीय छानविन विशेष समितिले उनलाई समेत बयानमा बोलाउने सुइंको पाएका रविले आफूलाई ठग प्रमाणित गरी जेल हाल्न सक्ने आशंका व्यक्त गरे ।
२० पटकसम्म विश्वासको मत पाउने दाबी गर्ने प्रचण्ड पाचौँ पटकमै विश्वासको मत पाउन असफल भएका छन् । अब प्रतिपक्षमा रहेर जनतामा जानुपर्ने आवाजकाबीच प्रचण्डले फेरि जातीयता र पहिचानको नाममा राजनीति गर्नेसम्मका आशय व्यक्त गरेका छन् । संविधान नरहने प्रचण्डको चिन्ताका बीच एमाले–कांग्रेसले दुई दल मिलेर प्रतिफल देखाउने र नयाँ दलहरुले संविधान बनाउन भूमिका खेल्न नपाए पनि जोगाउन भूमिका खेल्ने दृढता व्यक्त गरेका छन् ।
प्रतिक्रिया