Breaking

निहुँ नखोज्न नेटो राष्ट्रलाई चीनको चेतावनी, के चीनले पुटिन बोकेकै हो ?


युक्रेनविरूद्ध रूसलाई युद्धको निर्णायक भरथेग चीनले गरेको नेटोले आरोप लगाएको छ । यो आरोपपछि चीनले पनि नेटोलाई जवाफ दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले नेटोको आरोपमा जवाफ फर्काएका हुन् । उनले पश्चिमा गठबन्धनलाई टकराव नभड्काउन चेतावनीसमेत दिएका छन् ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सन् १९४९ मा गठन भएको एउटा सैन्य गठबन्धन हो । अमेरिका, क्यानडा, बेलायत र फ्रान्सलगायत १२ राष्ट्रहरू मिलेर यो संगठनको स्थापना भएको थियो । नेटो गठबन्धनमा अहिले ३२ सदस्य राष्ट्रहरू छन् । यस संस्थाको मूल सिद्धान्त भनेको कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भयो भने बाँकी राष्ट्रले त्यसलाई सहयोग गर्नु हो । नेटोको आफ्नै सेना भने छैन ।

तर सदस्य राष्ट्रहरूले सङ्कटको समयमा संयुक्त रुपमा सैन्य कारबाही अघि बढाउने गर्छन् । नेटोको ७५औं वर्षगाँठको अवसरमा अमेरिकाको वासिङ्टनमा ३२ सदस्य राष्ट्रहरूको शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले युक्रेनलाई सैन्य गठबन्धनमा सामेल हुन नरोकिने गरी ‘अपरिवर्तनीय मार्ग’ सिर्जना गर्ने अठोट गरेको छ । यता नेटोले युक्रेनविरूद्धको लडाइँमा रूसलाई चीनले आडभरोस दिइरहेको आरोप लगाएको छ । तत्कालीन सोभियत संघविरूद्ध बनाइएको सैन्य गठबन्धन नेटोले दशकौंदेखि चीनलाई टाढाको खतरा शक्तिको रूपमा मात्रै हेर्न गथ्र्यो ।

तर आफ्नो घोषणापत्रमा बेइजिङलाई लिखितरूपमा चीनले युक्रेनविरुद्ध रूसको युद्धमा निर्णायक भूमिका खेलेको आरोप नेटोले लगाएको छ । युक्रेनमा आक्रमण गर्नुअघि रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२२ फेब्रुअरी सुरूमा बेइजिङ पुगेका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि रूस र चीनले ‘नो लिमिट्स फ्रेन्डशिप’ घोषणा गरेका थिए । युक्रेनमाथि आक्रमण गर्नुभन्दा तीन साताअघि भएको उक्त भेटमा पुटिनले चीनलाई आक्रमणको योजनाबारे जानकारी दिएको पनि बताइन्छ ।

यस्तै नेटोले रूसलाई सहयोग गरे चीनले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिएको छ । यता चीनका विदेशमन्त्री वाङ यीले युक्रेन विरुद्धको युद्धमा बेइजिङले रुसलाई सहयोग गरिरहेको नेटोको ‘निराधार आरोप’ भन्दै प्रतिकार गरेका छन् ।

उनले पश्चिमा गठबन्धनलाई टकराव नभड्काउन चेतावनीसमेत दिएका छन् । नेटो सदस्य राष्ट्रका नेताहरू वाशिंगटन डीसीमा भेला भएका र युद्धबारे उल्लेख गरेको घोषणापत्र जारी गरेको केही घण्टापछि नै वाङले यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो पटक चीनका राष्ट्रपति सिजिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भेटलाई नेटोले नजिकबाट नियालिरहेको छ । नेटोले यसरी धम्कीपूर्ण आरोपप्रत्यारोप लगाएको यो पहिलो पटक हो ।

यता युक्रेनमा आक्रमण गरेपछि भने अब युरोपियन युनियनसँग व्यापारिक सम्झौता गर्ने मात्रै नभएर युक्रेन युरोपियन युनियनको सदस्य बन्ने लगभग पक्का भएको छ । त्यतिमात्रै नभएर तटस्थ बसेका रूससँग सिमाना जोडिएका स्वीडेन र फिनल्याण्ड पनि पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि नेटोको सदस्य भइसकेका छन् ।

केही गरी युक्रेन पनि नेटोको सदस्य बन्यो भने युरोपियन युनियनसँग व्यापारिक सम्झौतासमेत रोक्न प्रयास गरेका पुटिनकै कारणले अन्ततः रूसको दैलोमै नेटो आइपुग्नेछ ।