Breaking

मुकुलले मुख फोरे, तनावमा रास्वपा, रविलाई जेल पठाएर पार्टी थुत्ने धम्की


काठमाडौँ – रास्वपाबाट निष्कासनमा परेका महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि आगो ओकलेका छन् । उनले पार्टी बिग्रनुमा सभापति लामिछाने नै दोषी रहेको, वैकल्पिक राजनीतिभन्दा पनि पुरानाहरुसँगै घुलमिल भएको आरोप लगाउँदै पार्टी शुद्धीकरणका लागि लामिछानेमाथि सहकारी ठगी र पासपोर्टबारे छानबिन हुनुपर्ने बताएका छन् ।

रास्कोट अस्पतालबाट रास्वपासम्म रवि लामिछाने र मुुकुल ढकालको यात्रामा पूर्णविराम लागेको छ । पार्टीको महामन्त्री र प्रवक्ताबाट ढकाल निष्कासित हुुँदा रवि–मुकुल द्वन्द्व चर्किने स्पष्ट छ । पार्टीबाट निष्कासित भएपछि ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेमाथि आगो नै ओकलेका छन् । यसलाई कतिपयले चरम गुटबन्दीमार्फत पार्टी फुटको प्रस्थान बिन्दुका रुपमा हेरेका छन् ।

पार्टीमा रविको हैकम चलेको, आर्थिक हिनामिना भएको, काण्ड छोप्न प्रयास गरिएको लगायत आरोप ढकालले लगाएका छन् । रविको कोर टिममाथिसमेत प्रहार गर्दै उनले दीपक बोहराहरुको प्रवृत्तिमाथि समीक्षा गरिनु पर्नेसम्म बताएका छन् । पार्टी सभापतिले नै केन्द्रीय सदस्यहरुलाई विभिन्न धम्की दिएर आफ्नो विपक्षमा बोल्न लगाएको, बैठकको लाइभ गर्ने विषय पनि रविकै कारण रोकिएको उनको आरोप छ ।

यतिसम्म कि रविकै सहमतिमा प्रतिवेदनबारे मिडियामा बोलेको तर ज्वाला संग्रौला र रमेश प्रसाईंलाई परिचालन गरेर पार्टी सभापतिविरुद्ध बोलेको गलत भाष्य खडा गरेको आरोप पनि ढकालले लगाएका छन् । रास्वपाबाट नभइ आफू रवि क्लबबाट निष्कासित भएको र रास्वपाको महामन्त्री पदमा कायमै रहेको दाबी गर्दै उनले अब रविको कब्जाबाट पार्टी थुत्ने दाबी गरेका छन् ।

रास्वपाको यो घर झगडाले मुकुल रवि क्लबाट बाहिरिए कि रवि मुकुल क्लबबाट भन्ने दोहोरी चलेको छ । तर, आफूमाथि लागेका आरोपहरुबारे एकतर्फी प्रष्टीकरण दिएका मुकुलले पत्रकारका प्रश्नको भने सामना गर्न डराए । दुई वर्षसम्म रविका गलत कामको साक्षी बनेका मुकुल अहिले पार्टी नै पतनको बाटोमा पुगेको दोष सभापतिलाई मात्रै किन थोपर्दैछन् भन्ने प्रश्न जीवित छ ।

तर पनि रविले मुकुलमाथि सक्नेसम्मको सदासयता देखाएका छन् । पार्टीलाई नीति र वैचारिक स्वरुप दिन महत्वपूर्ण भूमिका खेलेका मुकुललाई अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी अझ आगामी दिनमा समेत पार्टीमा फर्काउन नपाउने गरी निर्णय गर्न निर्मम सिफारिस गरेको थियो । तर, रविकै सदासयताले साधारण सदस्य भने कायम छ । यतिसम्म कि मुकुललाई कारबाहीको पत्रसमेत उपसभापति डीपी अर्यालले थमाएका थिए । आफूलाई कारबाहीको सिफारिस गर्ने अनुशासन समितिमाथि पनि मुकुलले प्रश्न उठाएका छन् ।

साथै रास्वपा ठिक बाटोमा भए, पार्टी स्थापनादेखि आजसम्म सभापतिले दिएका अभिव्यक्तिका हिसाबकिताब गर्नु पर्ने, पार्टीमा भएको आर्थिक अपचलन, सहकारी ठगी र पासपोर्ट प्रकरणमासमेत पार्टीले नै स्वतन्त्र छानबिन समिति बनाएर अनुसन्धान गर्नु पर्ने चुनौती उनले दिएका छन् ।

तर यो निर्णयपछि रवि फ्रि हुनुको साटो, यही निर्णय गलपासो बन्नसक्ने देखिएको छ । मुकुल भने रविलाई जेलको बाटो पठाएर पार्टी फरक ढंगले चलाउने मिसनमा अब लाग्ने स्पष्ट भइसकेको छ । त्यसमाथि पार्टी प्रतिपक्षी कित्तामा पुगेकै समय मुकुलले दिएका चुनौती रविका लागि प्रत्यूत्पादक बन्न सक्छन् । किनभने मुकुलले दिएका चुनौती सामना गर्नसक्ने नैतिक बल रास्वपासँग छैन । र, मुकुलसँग यस्तो ब्रह्मास्त्र छ जसका कारण रवि भविश्यमा जनसुुकै बेला पनि संकटमा पार्न सक्छन् । त्यसै कारण पनि मुकुलमाथि निर्मम हुन नहुने लाइनमा सभापति देखिएका हुन् । तर पार्टीमा पनि अब रविलाई सजिलो हुने छैन । किनभने अब महामन्त्री छनोट नै सकसपूर्ण बन्नेछ ।

मनिष झा, सन्तोष परियार, कवीन्द्र बुर्लाकोटी र सोबिता गौतम महामन्त्रीको आकांक्षी रहदा मनिषको सम्भावना उच्च रहेको बुझिन्छ । यसो हुँदा पार्टी बनाउन संघर्ष गरेकाहरुलाई उपेक्षा गरी आगन्तुकलाई ठाउँ दिएको भन्दै रवि सकसमा पर्न सक्नेछन् । मुकुलको समीक्षा यात्रा लगत्तै महाधिवेशनको तयारीमा जुट्ने तयारी हुँदा चाँडो महाधिवेशन गराउने वा पार्टीलाई टीके प्रथामै अघि बढाउने भन्ने चुनौती रविलाई हुनेछ ।

अहिले असन्तुष्टि व्यवस्थापनमा सभापति लामिछाने असमर्थ हुँदा मुकुल बाहिरिए त्यसैगरी आगामी दिनमा पनि असन्तष्टि सम्बोधन गर्न नसके र मुकुल, स्वर्णिम बाग्ले लगायत पक्षले गुटमार्फत बार्गेनिङ गर्नसक्ने जोखिम रहेकाले पार्टी फुटको अवस्थामासमेत पुग्न सक्नेछ । अहिले सभापतिले धम्की दिएर आफूविरुद्ध बोल्न लगाएको भनिएकाहरुलाई नै प्रयोग गरेर विद्रोहको विजारोपण मुकुलले नै गर्ने सम्भावना छ ।

मुकुलको प्रतिवेदनको स्वामित्व रास्वपाले नलिने बताए पनि प्रतिवेदनमा उठाइएका प्रश्नहरु निर्मम र पार्टीको भविश्यसँग जोडिएका छन् । पार्टी सरकारमा जाँदा आफैँले उठाएका प्रश्न र वचनबाट बिमुख भएको, आफ्नै काण्ड छोप्नमा समय बिताएको विषय जनताले थाहा पाइसकेका छन् । अवस्था यतिसम्म बनेको छ कि सत्तामा रहँदा अपेक्षित काम गर्न नसकेको रास्वपाले प्रतिपक्षमा पुगेर जति निर्मम प्रश्न गरे पनि ओझ घट्ने चिन्ता छ । अब उठेका प्रश्नमाथि निर्मम समीक्षा गरेर सुध्रिने कि सकिने रास्वपाकै हातमा ।।