Breaking

ओलीको चङगुलमा पर्दै देउवा, संविधान संशोधनमै विमति


संविधान संशोधनदेखि राजनीतिक स्थिरतालाई मुख्य एजेण्डा बनाएर एमाले–कांग्रेस मिलेका छन् । संसदको ठूलो दल र प्रमुख प्रतिस्पर्धी नै यसरी मिल्नुलाई माओवादीका लागि कल्पनासमेत नगरेको विषय बनेको छ । जहाँ केपी शर्मा ओलीसँग धेरै टिक्न नसक्ने प्रचण्डको भविष्यवाणीसमेत मिल्दा के शेरबहादुर देउवालाई चाहिँ सहज छ त ?

स्वर्ग–नर्क जहाँ गएपनि सँगै जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बचन दिएका केपी शर्मा ओलीसँग मिलेर चमत्कार गर्ने बाटोमा कांग्रेस छ । उनीहरुको भनाइलाई मान्ने हो भने यो नयाँ समीकरणले संविधान संशोधन गर्ने छ त्यसले राजनीतिक स्थिरता कायम हुँदा अर्को निर्वाचनपछि साना दलको पसल बन्द हुनेछ ।

हुन पनि मुख्य प्रतिस्पर्धी दल नै एक ठाँउमा उभिएको यो अवस्थाले आमनागरिकमा आशासमेत बढाएको छ । यता एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण आएको परिस्थितिको रुपमा व्याख्या गरेको छ भने माओवादी ओलीसँग धेरै टिक्न नसक्ने आफ्नो भविष्यवाणी मिलेकोमा चित्त बुझाइ रहेको छ ।


तर ओलीले भने प्रचण्डले कांग्रेसलाई पनि सरकारमा ल्याएर राजनीतिलाई २०७९ पुस १० कै जस्तो अवस्थामा पु¥याउन खोजेको आरोप नै लगाएका छन् । यता दुवै दलका नेताहरूले अहिलेकै ढङ्गले राजनीति गर्दा आगामी चुनावसम्ममा आफ्नै शक्ति कमजोर बन्न सक्ने र परम्परागत दलको स्थान नयाँ दलले लिन सक्ने ठान्न थालेकाले पनि यो समझदारी बनेको कतिपयको विश्लेषण छ ।

जहाँ ओली प्रधानमन्त्री बन्ने र यो गठबन्धन लामो समय जानेमै केही प्रश्न देखिँदा त्यो अविश्वास चिर्न कांग्रेस सभापति शेरबहादुर देउवा दिलोज्यान दिएर लागि परेका छन् । तर ओली भने अहिले नै आफ्नो पुरानो रुपको संकेत दिन थालिसकेका छन् । अर्थात पहिले त एमाले र कांग्रेसको हैसियत बराबर हुने गरि गठबन्धन गरेको बताउने उनी प्रधानमन्त्री बन्ने मात्र नभइ एमालेलाई संसदको ठूलो दल बनाउने रणनीतिमा काम गरिरहेको चर्चा छ । जसले देउवाको पालो आउने मै प्रश्न रहँदा संविधान संशोधन गर्ने विषयमा पनि प्याकेजमा सम्झौता भएको दाबीविरुद्ध बुधबार ओलीले संविधान संशोधनका लागि ठोस रुपमा कुरा नभएको ब्रिफिङ पार्टीमा गरेका छन् ।

हुन त ओलीले पहिलेबाटै सत्ताभन्दा मिसन ८४ महत्वपूर्ण रहेको बताँउदै आएका छन् । त्यसका लागि नेकपा एकीकृत समाजवादीदेखि रास्वपाकै केही सांसद भित्र्याउनेसम्मको उनको तयारी थियो । जहाँ पार्टीबाट कारबाही भोगेका रास्वपाका निर्वतमान महामन्त्री मुकुल ढकाल राजनीतिक संरक्षणको खोजीमा छन् भने फुटेर बनेको जसपा पनि धरमरमै छ । उनीहरुलाई भित्र्याउने गरी अध्यादेश ल्याउने कुरा जुन प्रचण्डकै कारण सम्भव नभएको खबर बाहिरिँदा कांग्रेसकै साथमा प्रधानमन्त्री बनेर उसैविरुद्ध प्रहार गर्ने ओलीले संकेत गरिसकेका छन् ।

मुख्य कुरा त संविधानको धारा ७६ को उपधारा २ अनुसार नै ओली अहिले प्रधानमन्त्री बने त्यो पनि देउवाका लागि घातक बन्ने पक्का छ । ओलीले विश्वासको मत पाइसकेपछि दुई वर्षसम्म कुनुपर्ने बाध्यतामा कांग्रेस रहँदा त्यो बीचमा विश्वासको मत फिर्ता लिएपछि फेरि उपधारा २ नै सक्रिय हुने अवस्था छ । जसले ओलीलाई नथी लगाउने र दायाँबाया गरे सत्ता ढालेर ठूलो दलको रुपमा आफू प्रधानमन्त्री हुने देउवाको सपना पनि त्यति सहज देखिँदैन ।

नझुक्ने बरु भाचिने उपमा पाएका ओली पछिल्लो केही घटनामा लचक भए पनि आफैँ किङमेकर बन्दै आएका छन् । आफैँले धोकेबाजको संज्ञा दिएका प्रचण्ड र माधवकुमार नेपाललाई सत्तामा फर्काउन विश्वस्त पार्नुमै उनको सफलता देखिँदा यो पटक ठूला दल मिल्नु पर्ने एजेण्डासमेत स्थापित गरेका छन् । यसले एमालेले भन्दै आएको दुई दलीय राजनीतिको मुद्दा नै स्थापित हुने अवस्था सिर्जना हुँदा कांग्रेसलाई एमालेको साथ ‘बाघको सवारी’ नहोला भन्न सकिँदैन । जसले प्रचण्डले प्रयोग गरेर थोत्रो बनाएको कांग्रेस एमालेले एकचोटी प्रयोग गर्ने अस्त्र बन्ने सम्भावनालाई उच्च बनाएको छ ।