Breaking

रास्वपामा महामन्त्रीको महादौड, सन्तोष र मनिषदेखि सुमना र सोवितासम्म लबिङमा


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । पार्टी संकटग्रस्त रहेको समीक्षा यात्राको प्रतिवेदन बुझाएपछि आफैँ संकटमा फसेका महामन्त्री ढकाललाई पार्टीको अनुशासन समितिको सिफारिसमा पदमुक्त गरिएको हो ।

योसँगै पार्टी वरीयतामा सभापतिपछिको शक्तिशाली महामन्त्री पदको जिम्मेवारी कसले पाउँलान्, नयाँ महामन्त्री को बन्लान् ? भनेर चासो बढ्न थालेको छ । महामन्त्री ढकाल पदमुक्त भएसँगै नयाँ महामन्त्री बन्ने होडमा नेताहरुको दौडधुप पनि बढेको छ ।

असार १२ गते पार्टी सभापति रवि लामिछानेलाई ३२ पृष्ठ लामो समीक्षा यात्राको प्रतिवेदन बुझाएपछि रास्वपा महामन्त्री डाक्टर मुकुल ढकाल पार्टीभित्र प्रतिपक्ष बने । असार १७ गते पार्टी केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरेकै झोकमा मुखमा मास्क र कालो टेप लगाएर ढकाल बैठकमा उपस्थिति भएका थिए । महामन्त्री मुकुलको यो हर्कत आफँैलाई भारी परेको छ ।

एकसाता निलम्बनमा परेका महामन्त्री ढकाल पार्टीभित्र विद्रोह छेडेको १४ दिनमै पार्टीबाट निष्काशित भएका छन् । मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई पार्टीको सबै जिम्मेवारीबाट हटाएको हो ।

मुलुक डुलेर पार्टीको अवस्था संकटग्रस्त रहेको चित्रण गर्दै पार्टी नेतृत्व सुध्रिनु पर्ने सुझावसहितको प्रतिवेदन बुझाएपछि विवादमा फसेका मुकुललाई अनुशासन समितिले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरे पनि केन्द्रीय समितिले साधारण सदस्यबाट भने हटाएको छैन । पदमुक्त बनेका मुकुललाई महामन्त्रीसहित सबै पदमा फर्किन पार्टी विधानको धारा ५७ बमोजिम ३५ दिनभित्र पुनरावेदन दिन पाउने व्यवस्था छ ।

तर मुकुल आफैँ पुनरावेदनसम्म पुग्ने सम्भावना न्यून छ । कारण पार्टीबाट बर्खास्त हुँदा नहुँदै मुकुलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा रविको क्लबबाट निष्काषित भएको प्रतिक्रिया दिएका छन् । महामन्त्री मुकुल पदमुक्त भएसँगै संसदको चौथो शक्ति रास्वपा महामन्त्रीविहीन बनेको छ । रास्वपामा सभापतिपछिको शक्तिशाली पद महामन्त्री हो ।

विषम राजनीतिक परिस्थिति र चौतर्फी घेराबन्दीमा रहेको रास्वपा लामो समय महामन्त्रीविहीन हुनु आफँैमा घाटा र घातक हुन सक्छ । स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका ढकाल बाहिरिएसँगै रास्वपामा नयाँ महामन्त्रीको खोजी तीव्र बनेको छ । पार्टीको नीति निर्माण, जिम्मेवारी बाँडफाँट र संगठनात्मक गतिविधिहरु सञ्चालन जस्तो जिम्मेवार र महत्वपूर्ण भूमिका रहेको महामन्त्रीको दावेदार धेरै भए पनि कसलाई बनाउने भन्ने प्रश्न पार्टीभित्र पेचिलो बनेको छ ।

महामन्त्री बन्ने सूचीमा आकांक्षीहरुको लर्को भए पनि कसलाई बनाउने भन्ने मात्र होइन को निकट कसको मान्छेलाई महामन्त्री बनाउनेसम्मको चर्चा चुलिएको छ । पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले आफू निकटलाई महामन्त्रीको जिम्मेवारी थमाउने कसरतमा छन् । महामन्त्रीमा रवि र स्वर्णिम कित्ताको टक्कर चल्ने पक्का छ ।

सभापति लामिछाने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटी र पार्टीका प्रमुख सन्तोष परियारमध्ये एकलाई महामन्त्री बनाउने पक्षमा रहेको बुझिएको छ । समानुपातिक कोटाबाट सांसद बनेका परियार प्रमुख सचेतक त्यागेर महामन्त्री बन्न पार्टी नेतृत्वसँग लबिङ गरिरहेको चर्चा छ । परियारपछि कार्यवहाक प्रवक्ता सम्हाली रहेका मनिष झा पनि महामन्त्रीको रेसमा छन् ।

उपसभापति स्वर्णिम पनि झालाई महामन्त्री बनाउन चाहन्छन् । झा पछि स्वर्णिमको नजरमा सांसद शोविता गौतम पनि परेको चर्चा छ । यसबाहेक सहमहामन्त्री रहेका सुमना श्रेष्ठ र विपीन आचार्य पदीय हिसाबले स्वतः महामन्त्रीको दावेदार बन्न सक्छन् । तर सांसद भएकाहरुलाई पार्टीको जिम्मेवारी दिँदै दोहोरो भार पार्ने वा नपार्ने भन्ने सवाल कायम छ । पार्टी प्रवेश गरेपनि महत्वपूर्ण जिम्मेवारी नपाएका पदविहीन रहेका नयाँ अनुहारलाई मौका दिने कि भन्ने आवाज पनि पार्टीभित्र उठेको छ ।

महामन्त्रीबाट मुकुलको बर्हिगमनसँगै नयाँ महामन्त्रीको रस्साकस्सी र पदीय व्यवस्थापन रास्वपाभित्र पेचिलो बनेको छ । तर सारमा सभापति नै निर्णायक हुने हुँदा जसले जति पावर लगाए पनि रविले आफू अनुकूल व्यक्तिलाई नै अवसर दिनेमा दुईमत छैन । यद्यपि यो विषयले बहस भने छेडिएको छ ।