Breaking

एमाले सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरू भएको हो : चित्रबहादुर केसी


काठमाडौँ— राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले सत्ताको खेल नबुझेको बताएका छन्।

नेकपा (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरू भएको उनले बताए। आजको प्रतिनिधि सभा बैठकमा केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताए।

‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने– यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अब सबै क्षेत्रमा मुक्त हुनेवाला छ। नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरुसँगै छु। त्यसकारण मैले सुरुमै भनेको थिए–यदि तपाईहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूलो पार्टीले नेतृत्व नगरेर साना पार्टीलाई किन दिनुभयो ?,’ उनले प्रश्न गरे।

प्रधानमन्त्री दाहालले सत्ताको खेल पछिल्लो समय नबुझेको पनि उनले बताए। ‘अहिले वर्तमान प्रधानमन्त्रीले बुझनु भएन खेल। पुस १० गते तपाई जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा सुरू भएको थियो। तपाईले कति पटक बालकोट धाउनु भयो, कति पटक बूढानीलकण्ठ पुग्नु भयो ? यसरी चल्छ राजनीति ? ,’ उनले प्रश्न गरे। माओवादीभन्दा ठूलो पार्टी एमालेले मन्त्रिपरिषद पुनर्गठनमा गृह, अर्थजस्ता मन्त्रालय नै नलिएको उनले बताए। ‘ठूलो पार्टीले यो मन्त्रालय नलिएको कुरा तपाईले किन बुझ्नु भएन ?’ उनले भने।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार बनाउनेलगायत सहमति भएको थियो।