Breaking

सत्ता उलटपुलट गर्ने बेचन !, बयानमा मुख बन्द, गिरीबन्धुमा ओली जोगिए


सत्ता बहिर्गमनको उन्मुख भएपछि अहिले माओवादी र रास्वपाले भुटानी शरणार्थी प्रकरणमा केही आरोपी पक्राउ परेकै कारण सरकार ढलेको दाबी गरिरहेका छन् । तर, बेचन झा पक्राउ र गिरीबन्धु प्रकरणको नेक्ससबारे कांग्रेस–एमालेले भने कुनै धारणा सार्वजनिक गर्न चाहिरहेका छैनन् । के साच्चै फाइल खोलेकै कारण भुटानीबन्धुहरुको बेचैनी सुरु भएको हो ?

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया बेचन झा पक्राउ परेको २४ घण्टा बित्न नपाउँदै बालकोटमा वार्ता, त्यसकै भोलिपल्ट राजनीतिमा नाटकीय परिवर्तन । दुई वर्षदेखि एक्लाएक्लै नभेटेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दही चिउरा खाने निहुँमा भेट्छन् । कांग्रेसका कोही पनि प्रतिनिधि बेगर देउवा दम्पतीसँग ओली एक्लै बस्नुले शंशय मात्रै थपेन ।

भोलिको मध्यरातमा एकाएक ओलीलाई प्रधानमन्त्री मान्न देउवा तयार हुँदा केही मान्छे जोगाउन सरकार नै आफ्नो बनाउने राष्ट्रिय सहमति भएको टिप्प्णी हुन थाल्यो । यतिसम्म कि गृहमन्त्रीदेखि सत्तारुढ दलहरुले नै बेचनको बेचैनीले सरकार ढलेको बताउन थाले । बेचनको पक्राउले नेताहरुको बेचैनीको भेद खुल्न नपाउँदै सार्वजनिक भएको पीडित रामशरण केसी र बिचौलिया बेचनको अडियोले थप सनसनी पैदा गरिदिएको छ ।

यहाँ विचौलिया बेचन नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान सहज हुनेगरी गृहमन्त्रीलाई समेत पकडमा लिएर निर्णय गराई आवश्यक निर्देशन बाहिर ल्याउने जिम्मामा देखिन्छन् । यिनै रामशरणले बेचनबारेका तथ्य खुलाएपछि झालाई प्रहरीले असार १७ गते कञ्चनपुरबाट पक्राउ गरेको थियो । यो काम गरेवापत विचौलिया सानु भण्डारीको आग्रहमा रामशरणले झाको नाममा २ करोड रुपैयाँको चेक काटेको समेत सार्वजनिक भएको थियो । सुरुमा ७ र त्यसपछि थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिए पनि प्रहरीले बयानसमेत लिन गरेको ढिलाई र सत्ता गठबन्धनमा आएको फेरबदल शंकास्पद छ ।

किन कि देउवा परिवार नै मुछिने देखिए पछि यसअघि पनि प्रहरीमाथि दबाब र प्रहरी सरुवाको आतंक मच्चाइएको थियो । अहिले ओलीलाई प्रधानमन्त्री बनाउन देउवाले गरेको प्रयाससमेत शंकाको घेरामा छ । किन कि यो सब कुकर्म हुँदा प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा नै थिए । हरेक नीतिगत निर्णयमा प्रधानमन्त्रीको समेत भूमिका रहने गरेकाले देउवा दम्पती नै यसमा मुछिने डरमा देउवा देखिन्छन् । अर्कोतिर बुढानीलकण्ठ निकटकै नेताको रिफ्रेन्समा झाले गृहमन्त्रीसम्मको कनेक्सन बनाएको चर्चाले समेत कांग्रेसको बेचैनी झनै बढाइदिएको छ ।

जहाँसम्म नयाँ समीकरण बन्नुमा नेताहरुले संविधान संशोधनलाई कारण देखाएका छन् । यसअघि पनि कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि भन्दै छलफल नभएका होइनन् । दोस्रो तहका नेताहरुमार्फत यो प्रयास भइरहेकै थियो । तर, यो प्रयासमा रातारात ओली, देउवा र आरजुको क्रम भंगताले बिभिन्न प्रश्नहरु भने जन्माइदिएको छ । आखिर बेचन झा पक्राउ परेकै दिन संविधानको चिन्ता कसरी आइलाग्यो ?

लगायतका प्रश्नहरु बग्रेल्ती छन् । यीनै प्रश्नको सारमा टेकेर माओवादी र रास्वपाले बेचनकै बेचैनीले सरकार ढालिएको दाबी गरेर जस लिन खोज्दा यो आरोपको प्रतिकार गर्ने हिम्मत न कांग्रेसले देखाएको छ न त एमालेले नै । तर माओवादी र रास्वपाको दैनिकजसो यही आरोप छ ।

माओवादी र रास्वपाको आशंकालाई बल पु¥याउने अर्को तथ्य पनि छ । जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली नै गिरिबन्धु चिया बगानले हदबन्दी छुटमा पाएको जग्गा बिक्री गर्न पाउने गरी भएको नीतिगत भ्रष्टाचारमा मुछिएका थिए । त्यसबेला कांग्रेसले यसको चर्को विरोध गरेको थियो । व्यापारीहरुलाई ओलीले त्यतिबेलै चिन्ता नगर्न भएका थिए । फलतः अहिले प्रधानमन्त्री बन्न नपाउँदै लगानी सहजीकरणसम्बन्धी विधेयकमार्फत हदबन्दी छुट पाएको जग्गा एक पटकका लागि बिक्री गर्न पाइने कानुन पारित भएको छ ।

अर्थात ओलीले कानुनमार्फत गरेको बदमासी कानुनमार्फत नै सच्याएका छन् । तर, कसैलाई पक्राउ गरेकै कारण सरकार ढलेको सत्तारुढ दलहरुको भनाइमा समेत आत्मरक्षाको दुर्गन्ध आउँदा भुटानीबन्धु नेक्सस पुष्टि र बेचैनीको चुरो पत्ता लगाउन बेचनको बयान कुर्नु पर्नेछ । तर, नयाँ सरकार बने बेचनले नै उन्मुक्ति पाउने शंशयलाई समेत नकार्न सकिँदैन ।