Breaking

प्रचण्डको पक्ष लिँदा घेराबन्दीमा रास्वपा, बालेन र गगन हाबी, पार्टी जोगाउन रविलाई हम्मेहम्मे


काठमाडौँ – एमाले–माओवादी समीकरण भत्किएर कांग्रेस–एमालेबीच नयाँ समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमत सरकारलाई सघाउँदै आएको रास्वपाले भने कांग्रेस–एमालेको नयाँ समीकरणमा सहभागी नहुने निर्णय नै गरिसकेको छ । असार २८ विश्वासको मतपछि प्रचण्ड सत्ताच्यूत हुने निश्चित हुँदा रास्वपा प्रतिपक्षमा थन्किने निश्चित छ । पार्टीको संकट सुल्झाउनमै हम्मे परिरहेको रास्वपा राजनीतिक रुपमा कसरी अगाडि बढ्ला ? रास्वपाको अबको भूमिका कस्तो रहला ? चासो सर्वत्र बढ्दो रुपमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उथलपुथल र धोकाधडी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका लागि राष्ट्रिय राजनीतिमा सत्ता–संयोग बन्यो । २०७९ पुष १० मा प्रचण्डले बुढानीलकण्ठलाई बाइपास गर्दै बालकोट पुगेपछि सत्ता यात्रामा सहभागी हुन पाएको रास्वपा २०८० फागुन २१ गते प्रधानमन्त्री प्रचण्डको अर्को सत्ता उलटफेरले फेरि सत्तामै फर्कियो । पहिलो पटक पार्टी सभापति रवि लामिछानेको अनेक काण्डले सरकारबाट बर्हिगमन व्यहोर्नु परेको रास्वपाको दोस्रो पटकको सत्ता यात्रा अल्पमतमा पर्दै सकिने बाटोमा छ । उपप्रधान तथा गृहसहित चार मन्त्रालयको जिम्मेवारी पाएको रास्वपाको दोस्रो सत्ता यात्रा सहकारी प्रकरणले बद्नाम सभापति लामिछाने सधै सडकदेखि–सदनसम्मै घेराबन्दीमा रहे । पहिलो पटकको सत्ता यात्रामा रविको नाडी छाम्ने काम गरेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली दोस्रो पटक रविको रक्षा कवच बने । सार्वजनिक मञ्चदेखि सदनमासमेत उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई चोख्याउन ओली–प्रचण्ड पछि परेनन् ।

तर राजनीतिमा असम्भव केही छैन भनेझै, प्रधानमन्त्री प्रचण्डसँगको सहकार्य पुरै समय टिक्ने ठोकुवा गरेका ओली एमाले–माओवादी समीकरण बनेको एक सय १८ दिनमा कांग्रेस सभापति शेरबहादुर देउवा कित्तामा कुम जोड्न पुगे । एक सय १८ दिन सत्तामा रहँदा वाह भन्न लायक गतिलो केही काम गर्न नसकेको रास्वपाको दोस्रो सत्ता एक सय २९ दिनमा अन्त्य हुँदैछ । औपचारिकता पाउन मात्र बाँकी छ तर असार १७ गते मध्यरातमा चपलीहाइटमा भएको देउवा–ओलीको सहमतिले प्रचण्डको सत्ता ढलिसकेको छ । राजीनामा बोकेर बालुवाटार पुगे पनि सदनको सामना गर्ने प्रचण्डको इच्छामा सहयोगी बन्दै रास्वपा सरकारमा कायम छ । असार २८ गते तय भएको प्रधानमन्त्री प्रचण्डको विश्वासको मतसँगै रास्वपा प्रतिपक्ष कित्तामा पुग्नेछ । रास्वपाले, कांग्रेस–एमालेको नयाँ समीकरणमा सहभागी नहुने निर्णय नै गरिसकेको छ ।

सत्ताबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि रास्वपा के गर्छ ? भन्ने प्रश्न स्वभाविक छ । तर रास्वपाले निर्णय नै गरे पनि कांग्रेस–एमाले समीकरणमा सहभागी हुँदै हुँदैन भन्ने आधार छैन । सत्ता र स्वार्थको हिसाबकिताब मिले रास्वपा एमाले–कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने कतिपयको विश्लेषण छ । तर आफ्नै पार्टीका महामन्त्री सम्झाउन नसक्ने रास्वपाले अर्को पार्टीको महामन्त्रीलाई फकाएर नेतृत्वलाई रिझाएर सत्ता–साझेदार बन्ने ल्याकत राख्छ वा फेरि अहिले गालीगजौज गर्दै ओलीविरुद्ध खनिएको रास्वपा ओलीकै बोलीमा पग्लिएर नयाँ समीकरणमा सहभागी भए अचम्म मार्नु पर्दैन । सरकारमा सहभागी हुनेबारे रास्वपा भित्रभित्रै छलफलमा रहेको हल्ला राजनीतिक वृत्तमा छ । यदि सत्ताको प्रलोभनमा नपरी प्रतिपक्षमा बसे रास्वपाका लागि शक्तिशाली प्रतिपक्ष बन्ने अवसर मिल्ने छ ।

नयाँ समीकरणले मूर्त रुप लिन नपाउँदै नक्कली भुटानी शरणार्थी र गिरीबन्धुको दाग लागिसकेको छ । आफैँले खोलेका, खोल्ने चरणमा रहेका ठूला भ्रष्टाचार प्रकरणका फाइलहरु उजागर गर्न दवाव दिन सहज हुनेछ । तर शिक्षामा राजनीतिकरणको अन्त्य गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको प्रतिबद्धता र आफूले अघि सारेका विषयहरु कार्यान्वयनका लागि दवाव दिन सहज हुनेछ ।

विपक्षी कित्तामा पुगेपछि व्यवहारिक रुपमा यतिको आँट रास्वपाले गर्ला भन्नेमै शंका छ । एक सय २९ दिन सत्तामा बस्दा जीबी राई पक्राउ गर्न नसकेका रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले नयाँ सरकारलाई जीबी राईबारे प्रश्न गर्न सक्लान् ? सत्ता सम्हालेको सय दिनमा चमात्कार गर्ने गफ दिएको रास्वपाको सुशासन सर्त केवल सत्ता हत्याउने अस्त्र मात्र बनाउँदै आएको छ ।

तत्काल सत्ता राजनीतिभन्दा रास्वपाले पार्टीभित्रको किचलो सुल्झाउनुको विकल्प छैन । महामन्त्री मुकुल ढकालको प्रतिवेदन समीक्षासहित कार्यान्वयन नगरे जुन रापतापका साथ रास्वपा उदाएको थियो त्यही ढंगले पार्टी सक्किन समय लाग्ने देखिँदैन । पार्टीभित्र महाधिवेशनको विषयसमेत उठान भइरहेको छ । काठमाडांैका मेयर बालेन शाहले तत्काल पार्टी खोले रास्वपाको एक तप्का बालेनतिर जाने गृहकार्य भइरहेको चर्चा छ । जसले रास्वपाभित्रको विवाद नसुल्झिए पार्टी फुट नजिक छ । बालेनदेखि ओलीसम्मले रास्वपा फुटाउने करसरत गरिरहेको हावा चल्न थालिसकेको छ । पार्टी संगठन थप मजबुद बनाउन रास्वपा कति रणनीतिक हुन्छ ? यो विषय अहिलेको परिप्रेक्षमा महत्वपूर्ण बन्ने देखिन्छ ।