Breaking

प्राकृतिक विपत्तिमा परि दुई दिनमै १४ जनाको मृत्यु


काठमाडौं । प्राकृतिक विपत्तिमा परेर असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३÷३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २÷२ तथा काठमाडौं र उदयपुरमा १÷१ जनाको मृत्यु भएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप परेर १४७ परिवार प्रभावित भएका छन् ।घर, सडक लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएकोछ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ ।