Breaking

कर्णाली राजमार्ग २ दिनदेखि अवरुद्ध, आवत जावत ठप्प,यात्रु अलपत्र


काठमाडौँ— कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको कालीकोट खण्डमा तीन ठाउँमा गएको पहिरो पन्छाउन बाँकी रहेकाले आज बिहानसम्म पनि राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्गको दैलेख खण्डमा अवरुद्ध भएको सड्क भने सञ्चालनमा आइसकेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला, खाँडाचक्र नगरपालिका-२, उम्ल बजार र तिलगुफा नगरपालिका – ६, टिमुरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी विनोद शर्माले जानकारी दिए । ‘अहिलेसम्म कर्णालीमा मानवीय क्षति भएको छैन । कर्णाली राजमार्गको तीन ठाउँमा अवरुद्ध छ,’ एसपी शर्माले भने, ‘अवरुद्ध सड्कको पहिरो हटाउने काम भइरहेको छ ।’

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेत आउने सवारी साधनहरू बीच बाटोमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।