Breaking

ओलीको सत्तायात्रा : सेयरमा हरियालीको अपेक्षा, उद्योगी व्यवसायी किन छन् खुसी ?


काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठूला राजनीतिक दलबीच भएको सत्ता समीकरणसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने निजी क्षेत्रको विश्वास छ ।।

नयाँ सत्ता समीकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरुलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठूला राजनीतिक दलहरुबीचको सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरुले पुराना ठूला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद् पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायीत्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा र सबल अर्थतन्त्र बनाउन दुई राजनीतिक दलको सत्ता समिकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले उल्लेख गरे ।

अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको,उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ समिकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उनीहरुको भनाई छ । व्यवसायीहरुले ६–६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भएपनि अब बन्ने सत्ता समिकरणले राजनीतिक स्थायित्व र स्थिर सरकार दिनेमा निजी क्षेत्रलाई आशावादी बनाएको प्रतिक्रिया दिए ।

नेपाल चेम्बर अफ कमर्सका निःवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताए । उनले दुई ठूला राजनीतिक दलहरुबीच सत्ता समिकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुशी रहेको प्रतिक्रिया दिए । दुई ठूला राजनीतिक दलको सत्ता समिकरणको लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायित्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउने भएकाले निजी क्षेत्र आशावादी उनको भनाइ छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समिकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा गरेको बताए । उनले अस्थिर रहेको सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला राजनीतिक दलको समिकरण लगानीकर्ताको लागि सुखद् पक्ष भएको बताए । अध्यक्ष ढकालले मुलुकले नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको नयाँ सत्ता समिकरण मुलुकको आवश्यकता भएको दाबी गरे ।

गत सोमवार नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ समिकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । उक्त सहमतिसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एमालले दिएको समर्थन र मन्त्रीहरुसमेत फिर्ता गरेको छ । योसँगै दुई ठूला दलको नयाँ सत्ता समीकरणले अर्थतन्त्रमा पनि विशेष प्रभाव पारेको छ । त्यसैले नयाँ सत्ता समीकरणले वर्तमान आर्थिक,सामाजिक समस्यालाई समाधान गर्दै मुलुकलाई आर्थिक र राजनीतिक स्थायीत्व दिन जरुरी छ ।