Breaking

ओलीलाई गाली गर्ने माधवको महाधिवेशन, नेताका फुर्ती टिके प्रथामा समाप्ती


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीमा महाधिवेशनपछि ठूलै उथपपुथल हुने आशङ्का गरिएको थियो । पार्टीका अधिकांश शीर्षस्थ नेताहरू एकअर्काका प्रतिष्पर्धी बत्रे होडबाजीले पार्टी नेतृत्व र नीति दुवैमा परिवर्तनको सन्देश दिइए पनि अन्तिममा भने महाधिवेशन ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको छ ।

नेकपा एमालेबाट चोइटिएर तीन वर्षअघि निर्माण भएको नेकपा एकीकृत समाजवादी पार्टीले असार १६ गतेदेखि काठमाडौंमा गरेको महाधिवेशनबाट पुरानै नेतृत्वलाई अनुमोदन गरेको छ । महाधिवेशन सुरु हुनुअघि नेतृत्वको दौडमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाललाई क्रमशः अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसम्मतले चयन गरेको हो ।

यसअघि पनि सोही पदमा रहेका उनीहरू महाधिवेशन पछि पनि त्यही जिम्मेवारीमा दोहोरिएका छन् । २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था भए पनि ९३ सदस्यीय केन्द्रीय कमिटी मात्रै घोषणा गरेर पार्टीको दशौं महाधिवेशन समापन भएको छ । साविक पोलिट ब्युरोका ९९ सदस्यीयमध्ये विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेकका ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको छ ।

तर, महाधिवेशनमा अनुपस्थित रहेका प्रेम आले केन्द्रीय सदस्यमा अटाउन सकेनन् । महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयअनुसार आले नपरेको पार्टी प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताएका छन् । यता आलेले भने पछिल्लो ८ महिनादेखि आफू पार्टीको काममा निष्क्रिय रहेको र महाधिवेशनलाई बहिष्कार गरेको प्रतिक्रिया दिएका छन् ।

एकीकृत समाजवादीको बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार निवर्तमान सचिवालयले पाएको र अबको दश दिनमा सहमतिमै घोषणा गर्ने तयारी गरेको छ । यसरी कार्यकर्ताले नेता छात्र पाउने अधिकार छिनेर पार्टी नेतृत्व र कार्यकारी पदमा पुरानै नेता दोहोरिँदा एकीकृत समाजवादीको महाधिवेशन औपचारिकताभन्दा माथि उठ्न सकेन ।

महाधिवेशन अघि ठूलाठूला स्वरले पार्टी नेतृत्वले परिवर्तन चाहेको भन्दै खनालको सहयोगमा अध्यक्ष भिड्ने भनेर गर्जेका भुसालले नेपालविरुद्ध चुनावी मैदानमा उत्रने आँटसमेत गर्न सकेनन् । भुसाल चितवनको नारायणी किनारमा भएको एमालेको दशौं महाधिवशेनमा उपाध्यक्षमा पराजित भएपछि महाधिवेशनमा उठेकै कारण आमनिर्वाचनमा एमालेले टिकट दिन इन्कार गर्दा स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका थिए ।

एमालेबाट जबरजस्ती निस्कन बाध्य बनेका भुसाल आमनिर्वाचनमा पनि पराजय बेहोरेर रन्थनिएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । १८ पदाधिकारी चयनमा सहमति जुट्न नसके पनि अवसरको खोजीमा यताउता भौतिरिँदै हिँडेर अध्यक्षमा दाबी गरेका भुसाल भने महासचिवमा दोहोरिन सफल भए । पार्टीलाई आवश्यक पर्दा साथ छोडेका भुसालले बार्गेनिङका लागि मात्र अध्यक्षमा दाबी गरेको पार्टीकै नेताहरूले बताइरहेका छन् ।

अध्यक्ष नेपालले महासचिवमै दोहोरिन प्रस्ताव राखेपछि पार्टीमा आगन्तुक नेताको छवि बनाएका भुसाल मुख मिठ्याउँदै सरकारात्मक बने । महासचिव नभई नछोड्ने भन्दै तछाडमछाड गरेका जगत्राथ खतिवडा पनि चुनावमा उत्रनुभन्दा भुसाल नै महासचिव हुनु पर्ने अडानमा रहे ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव लगायत पदमा असन्तुष्टिका बीच महाधिवेशन सम्पन्न भएको छ । न त नीति न त नेतृत्व परिवर्तन नै, महाधिवेशन पहिले र पछिको एकीकृत समाजवादी पार्टीमा तात्विक फरक देखिएको छैन । असन्तुष्टिका बाबजुद माधवले नै पार्टीको नेतृत्व लिदा यसले भोलिको दिनमा झन् चुनौती थप्ने जानकारको बुझाइ छ ।

पार्टीभित्रको असन्तुष्ट पक्षमासमेत चुनावी प्रतिष्पर्धा हुन नसक्दा एकीकृत समाजवादीले एमालेबाट चोइटिनुको औचित्य सावित गर्न सकेन । ‘माधवको नेतृत्वमा पार्टी चल्दैन, अब उनलाई हटाएर आफैँले नेतृत्व लिनु पर्छ’ भत्रेहरू मच्चिए मच्चिए, आफैँ थच्चिएको अवस्थामा पुगेका छन् ।

नेपालका राजनीतिक दलहरूभित्र देखिएको आन्तरिक लोकतन्त्रको ढोङलाई माधवको पार्टी महाधिवेशनले पनि निरन्तरता दियो । महाधिवेशनको नाममा देशभरबाट ६ दिन काठमाडौंमा नेता कार्यकर्ताको भिड जम्मा गरेको एकीकृत समाजवादीले पनि लोकतान्त्रिक अभ्यासको धज्जी उडाउँदै टिके प्रथालाई नै स्थापित गरिछाड्यो ।