Breaking

मन्त्रीको भागबन्डा : ओलीले खोजे गगन–विश्व, आरजुको परराष्ट्र रहर


काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अड्डी लिइरहेकै बेला नयाँ समीकरणको भागबन्डा कस्तो होला ? चासो बढेको छ । अबको मुख्य सकस नै यही हुने र प्रतिपक्षमा पुग्ने शक्तिले यसै असन्तुष्टिमा खेल्ने चर्चा पनि छ । फलतः दुई पार्टीबाट कसको नेतृत्वमा कस्तो टिम बन्छ भन्ने प्रश्न उठ्दा कसरी हँुदैछ त यसको तयारी ?

कति दिनपछि सत्ता यात्रा भन्ने टुङगो नलाग्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनेकै छनक दिन थाल्दा भागबन्डाको विषय पनि चासोपूर्ण बनेको छ । दुई ठूला दल कै समीकरण बन्नु र संविधान संशोधनदेखि नागरिकमा आशा पलाउने गरि काम गर्नुपर्ने कार्यभार उनीहरुमा छ ।

गठनबन्धनको आधार नै देशमा राजनीतिक स्थीरता, दु्रत विकास र गणतन्त्रको सर्वस्वीकार्यरता बढाउनु रहेको उनीहरुको दाबी छ । फलतः एकातर्फ चुस्तदुरुस्त चाहिने यो मन्त्रिपरिषद ओलीको नेतृत्वका कारण पनि खास हुनु पर्ने चर्चा छ भने अर्कातर्फ मन्त्री बन्न समीकरणमा समेटिने पार्टीका नेताहरुको दौडधुप बढ्न थालेको छ । हुन त कांग्रेस र एमालेले प्रधानमन्त्रीको राजीनामा पछि मात्रै मन्त्रालय भागबन्डा गर्ने बताएका छन् ।

त्यस्तै यसै विषयमा छलफल गर्न शनिबारका लागि कांग्रेसले संसदीय दलको बैठक नै बोलाएको छ । त्यसमा कांग्रेसले पाउने सबैभन्दा ठूलो पद उपप्रधानसहित गृहमन्त्रालय भएको लगभग पक्का छ । त्यसको दौडमा उपसभापति पूर्णबहादुर खड्का नै रहे पनि यसअघि नै यो अवसर पाएका उनी र धनराज गुरुङ पहिलो प्राथमिकतामा नपर्ने चर्चा छ । अहिले यसमा संविधान संशोधनको मुद्दा भएकाले कृष्ण सिटौला पठाउने शेरबहादुर देउवाको चाहना देखिँदा एमाले ओलीसँग उनको नमिलेको ग्रहका कारण यो केही बाधा पनि छ ।

त्यसो भएको खण्डमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला पनि दौडमा छन् । त्यसमा शंशाकको विरोध नै भाग मागेको रुपमा हेरिँदा मन्त्रीमा रमेश लेखक र ज्ञानेन्द्र कार्की निश्चित जस्तै छ । यो समीकरणको सेतु नै उनीहरु हुन् भने दुबै जना यो संसदमा मन्त्री भएका छैनन् । त्यस्तै प्रत्यक्ष निर्वाचित सीता गुरुङ पहिल्यै मन्त्री भएपछि महिलाको भाग पुर्याउन पनि आफू मन्त्री हुनुपर्ने दाबी गर्ने आरजु राणा परराष्ट्र मन्त्रालयको लबिङमा छिन् । यता संसदीय समितिमा नेतृत्व नपाएकाहरु मन्त्री दौडमा रहँदा महामन्त्री गगन थापाले पालो पाएका पुरानालाई नदोहो¥याउनेभन्दै विश्वप्रकाश शर्माको नेतृत्व हुनुपर्ने संकेतसमेत गरेका छन् ।

हुन त कांग्रेसको पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको फोटो प्रदर्शनीमा पुगेका ओलीले नै दुईमध्ये एक महामन्त्रीलाई मन्त्री बनाइदिनु भन्दै रमाइलो गरेका थिए । तर उनकै पार्टीबाट चाँहि को मन्त्री बन्छन् भन्ने प्रश्न जोडिँदा अर्थमन्त्रीमा विष्णु पौडेलको विकल्प नै देखिँदैन । रघुवीर महासेठ र पदम गिरी यसपटक दोहोरिने सम्भावना उच्च छ ।

भर्खरै मन्त्री भएका कारण महासेठको सम्भावना बलियो छ भने दायाँ हातकै रुपमा ओलीले पदमलाई अघि बढाइरहेका छन् । यद्यपि यो पल्ट गोकर्ण विष्ट र योगेश भट्टराईसम्मलाई उतार्ने तयारीमा छन् । बा विरासत जोगाइ दिन युवाको अनुहारमा सुहाङ समेटिन सक्ने सम्भावना छ । यसले पहिचानको बहसमा एमालेको बुझाइलाई देशव्यापी सन्देशको संकेतका रुपमासमेत प्रयोग गर्न सकिने एमालेको आशा हुन सक्छ ।

कांग्रेस–एमाले समीकरणमा साना दललाई के गर्ने भन्ने प्रश्न पनि छ । तर कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने देखिँदा ६ मन्त्रालय र २ राज्यमन्त्री बाँकी रहन्छन् । त्यसमा अशोक राई बोक्ने बाध्यतामा ओली रहँदा माधवले चाहे उनलाई बोक्ने बाटोमा देउवा छन् । जुन राष्ट्रिय सभामा दुई तिहाइ पुर्याउनसमेत आवश्यक छ ।

त्यस्तै रेशम चौधरीले त सरकारमा सहभागी हुने पक्का भएको पोस्ट नै गर्दा लोसपाले पनि सहभागी हुने रहर गरेको छ । यता प्याकेजमै सहमति गर्न प्रदेश खाली गराउन थालिएको छ । प्रदेशको खाकामा ३–३ प्रदेश बाँड्ने र मधेश मधेशवादी दललाई दिने लगभग तय छ । जहाँ एमाले र कांग्रेसको सत्ता सहकार्यले सबैभन्दा पहिलो प्रदेश सरकार लुम्बिनीमा बन्ने पक्का हुँदा यो प्रदेश एमालेलाई र वागमती कांग्रेसलाई दिने अनौपचारिक सहमति भएको खबर बाहिर आएको छ ।