अन्तर्राष्ट्रिय

ट्रम्पको डरमा सिंगो डेमोक्र्याट, बाइडेनलाई पन्छाउन पार्टीमै दबाब, ट्रम्पलाई फाइदा


काठमाडौँ – संयुक्त राज्य अमेरिका भावी राष्ट्रपति निर्वाचनको रापतापमा छ । वर्तमान राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकाको आगामी राष्ट्रपतिको मुख्य प्रतिस्पर्धी छन् । यद्यपि निर्वाचनको मिति नजिकिँदै जाँदा जारी राष्ट्रपति डिबेट र मत सर्वेक्षणको परिणामले राष्ट्रपति चुनाव थप रोचक बनेको छ ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचन आगामी नोभेम्बर ५ मा हुँदैछ । झन्डै दुई दर्जन उम्मेदवार राष्ट्रपतिको दौडमा देखिएका छन् । तर आसन्न राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति जो बाइडन र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प नै मुख्य प्रतिस्पर्धीको रुपमा छन् । बाडइन र ट्रम्पबीच ह्वाइटहाउसका लागि हुन लागेको यो दोस्रो प्रतिस्पर्धा हो ।

अघिल्लो निर्वाचनमा ट्रम्पलाई पराजित गर्दै बाइडन राष्ट्रपति बनेका थिए । तर एक साता अघि भएको सार्वजनिक बहसपछि बाइडेनको उम्मेदवारी नै धरापमा पर्ने खतरा मडारिएको छ । भर्खरै सम्पन्न सार्वजनिक बहसमा बाइडेनको कमजोर प्रस्तुतिका कारण डेमाक्र्याटहरु अत्तालिएका छन् । नब्बे मिनेटको बहसमा बाइडन अकमकाएपछि उनको प्रस्तुति प्रति उनकै पार्टीका समर्थकहरूले चिन्ता व्यक्त गरेका छन् ।

डेमोक्रेटिक पार्टीले राष्ट्रपतिको उम्मेदवारमा बाइडेनको सट्टा पार्टीले अर्को व्यक्तिलाई उठाउनु पर्ने आवाज उठ्न थालेको छ । शारीरिक रुपमा कमजोर र वृद्ध भइसकेका वाइेडनले रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पसँग प्रतिस्पर्धा गर्न नसक्ने विश्लेषण भइरहेको छ । वाइडेन नै उम्मेदवार भए २०२४ को राष्ट्रपतिको दौडमा डोनाल्ड ट्रम्पले फराकिलो मतले चुनाव जित्ने प्रक्षेपण भइरहेको छ । डेमोक्रेट पार्टीले उपराष्ट्रपति कमल ह्यारिसलाई अघि सार्नेसम्मको चर्चा छ ।

यस्तै ट्रम्पलाई चुनौती दिन सक्ने व्यक्तिको रुपमा डेमोक्रेटिक पार्टीबाट पूर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिसेल ओबामा रहेको मत सर्वेक्षणहरुले देखाएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले पनि बाइडेनलाई प्रतिस्थापन गर्ने सम्भावनाको रुपमा हेरिएको छ ।