Breaking

नेपालका कम्युनिस्टसँग हायलकायल चीन, ओली–प्रचण्डकै पटक पटकको धोका


काठमाडौँ- कुनै पनि स्वतन्त्र–सार्वभौम मुलुकको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप आफँैमा असह्य हो । तर नेपालका राजनीतिक दलहरु आफ्नो क्षमता र विवेकभन्दा विदेशी शक्तिको इसारामा चल्दा आन्तरिक राजनीतिमा शक्ति निर्माण गर्ने सवालमा होस् वा सत्ता समीकरणको चलखेलमा बाह्य हस्तक्षेप सधैँ हावी हुने गरेको छ ।

नेपालको आन्तरिक सत्ता राजनीतिमा उत्तरी छिमेकी चीन र भारतको खुलेआम हस्तक्षेपलाई नकार्न सकिन्न । यद्यपि पछिल्लो समय नेपाल मामिलामा भारतको बेवास्ता बढेको देखिन्छ भने चीनको एकपछि अर्को चाल असफल हुँदै गएको छ । नेपाल मामिलामा चीन किन चुक्दै छ त ?

गत वर्षको फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर दोस्रो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुम जोड्ने पुगे । प्रचण्ड–ओली नेतृत्वको गठबन्धन सरकार बन्दा नबन्दै चीनले नयाँ गठबन्धनप्रति राजनीतिक स्थायित्व कायम हुनेमा आशावादी रहको प्रतिक्रिया दिएको थियो । सम्भवत नयाँ सत्ता समीकरण बने लगत्तै प्रतिक्रिया दिनेमा चीन पहिलो बन्यो ।

२०७९ पुस १० मा एमाले–माओवादी समीकरणसहित तेस्रो पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणताका दिएको सम्मान तथा तीन वर्षदेखि नखुलेको रसुवागढी–केरुङ नाका खुला गर्न चीन तयार भएको थियो ।

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको थालनी गर्दै प्रचण्डका पालामा चीनले उपहारको वर्षा नै गरायो । जब–जब नेपालमा कम्युनिस्ट शक्तिहरू मिल्छन्, उत्तरी छिमेकी चीन कति उत्साहित हुन्छ भन्ने तथ्य यिनै गतिविधिलाई नियाल्दा थाहा हुन्छ । नेपालका कम्युनिस्ट शक्ति एक गराउन चीनको सक्रियता लुकाएर लुक्दैन । तर रातभरी करायो दक्षिणा हरायो भनेझै नेपाल मामिलामा चीन निरन्तर चुक्दै आएको छ ।

एमाले–माओवादीलाई मिलाएर नेकपा बनाइयो । तर एकता दुई वर्षमै भताभुङग भयो । पुष १० मा ओली प्रचण्ड एक गराइए पनि उनीहरुको एकता दुई महिना टिक्न सकेन । पुनः वर्ष दिनपछि कम्युनिस्ट शक्ति एक गराउँदै सत्ता निर्माण गर्न सफल भए पनि हनिमुन पिरियड सक्दा नसक्दै ओली–प्रचण्ड अलग भएका छन् । अहिलेको समीकरण भाडिएर ओली–प्रचण्ड अलग हुनुमा इन्डो अमेरिकनहरुको हात रहेको विश्लेषण भइरहेको छ ।

कम्युनिस्ट नेताहरुको चीन ताकेता भने रोकिएको छैन । ओली–प्रचण्डको धोकाधडीमा चीन चेपिरहेको छ । ओली–प्रचण्ड मिलाउनकै लागि वैकल्पिक शक्तिको रुपमा उदाएका रवि लामिछानेदेखि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासम्मै कुटनीतिक संगत बढाएको चीनको कम्युनिस्ट एकता–कम्युनिस्ट सत्ता चाहाना भए पनि ओली–प्रचण्डकै कारण चुक्दै आएको छ ।

यद्यपि कतिपय जानकारहरु नेपालको आन्तरिक राजनीतिक अंकगणित र नेताहरुको प्रवृत्तिका कारण समीकरण फेरबदल भइरहने अवस्था रहेको विश्लेषण गर्छन् । नेपालका कम्युनिस्टहरुको एकता, आफू निकट अनुकूल सरकार होस् भन्ने चीनको चाहना भए पनि नेपाल मामिलामा केवल नेपाल आफँै सक्षम होस्, नेपाल कमजोर हुँदा त्यसको असर चीनले बेहोर्नु नपरोस् भन्नेमा चीन स्पष्ट रहेको केहीको विश्लेषण छ।

बीआरआईदेखि चीनले नेपालमा अघि सारेका अधिकांश विकास परियोजना लथालिङग अवस्थामा छ । बीआरआई कार्यान्वयन अघि बढाउन दवाव बढेपछि सदनमा बीआरआई छलफल हुनुपर्ने विषय चुलिएका बेला फेरिएको सत्ता समीकरणले पनि नेपाल–चीन सम्बन्धले थप चर्चा पाइरहेको छ । अझै पनि विश्वास पात्रको खोजीमा रहेको चीन फेरिएको नयाँ समीकरणबारे भने मौन छ ।