Breaking

मुकुलको प्रतिवेदन बाहिरियो, रविले जवाफ दिन नसक्ने यी प्रश्न, कसले ल्यायो रास्वपामा दरार ?


काठमाडौँ – सञ्चार र स्वास्थ्य क्षेत्रमा काम गरिरहेका रवि लामिछाने र मुकुल ढकाल कालीकोटस्थित रास्कोट अस्पताल निर्माणदेखि नै एक अर्काका परिपूरक जस्तै बनेका थिए । तर सँगै राजनीतिमा लागेको दुई वर्षमै त्यो दोस्ती किस्सा बन्ने गरी दुईबीचको सम्बन्धमा दरार पैदा भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीको कारबाहीमा परेर निलम्बित भएका महामन्त्री मुकुल ढकालको दोस्तीबारे कुनै समय सबैले चर्चा गर्थे । रास्वपा निर्माणदेखि पार्टीको सैद्धान्तिक धार तय गर्नेसम्म एक अर्काको सारथि बनेका लामिछाने र ढकाललाई ‘मह’जोडीकै उदाहरणको रुपमासमेत प्रस्तुत गरिन्थ्यो । तर, सँगै राजनीति सुरु गरेको दुई वर्षको अन्तरालमै यी दुईको सम्बन्धमा बज्रपात भएको छ । परिणामत यिनीहरूको सम्बन्ध अहिले पानी बाराबारको अवस्थामा पुगेको छ । जब रविले पार्टी खोल्ने घोषणा गरेका थिए उनलाई कसैले पनि पत्याएका थिएनन् । त्यस बखत सबैभन्दा पहिले रविलाई काँध हाल्ने मुकुल नै थिए । पहिलो पटक सरकारमा गएर गृहमन्त्रीको पद खुस्किदा सञ्चार क्षेत्रप्रति आगो ओकल्दै ‘१२ भाइ’को नाम दिँदा व्यक्तिको भन्दा पार्टीकै लाइन रहेको बताएका मुकुलले पटक पटक आफू बद्नामी भएर पनि रविलाई बोकेको उनैले स्वीकारेका छन् ।

यता, रवि आफूलाई भुइँदेखि नै साथ दिँदै आएका मुकुलप्रति खास्सै रुष्ट नभएको घटनाक्रमले देखाउँछ । मुकुलले राखेको माग अनुसार नै सभापति लामिछानेले केन्द्रीय समितिको प्रत्यक्ष प्रसारण गर्न मञ्जुरी दिएका थिए । तर सिङ्गो बैठकबाट नै ढकालको प्रस्ताव अस्वीकृत भएको थियो । बुधबार बसेको बैठकमा पनि रवि मुकुललाई कारवाही नगर्ने पक्षमै थिए । तर, मुकुलले तयार पारेको समीक्षा प्रतिवेदनमा चित्त बुझाउने ठाउँ हुँदाहुँदै पनि उनको कार्यशैली र मिडियाबाजीका कारण अन्य केन्द्रीय सदस्यहरूको दबावमा परेपछि मुकुललाई महामन्त्रीबाट निलम्बित गर्न रवि बाध्य बनेका थिए । रविले चाहेका भए सात दिन मात्रै होइन अझै योभन्दा बढी अवधिसम्म मुकुललाई निलम्बनमा पार्न सक्थे । त्यस्तै मुकुललाई निलम्बन गरेको पत्रमा सभापति रविको नभई उपसभापति डोलप्रसाद अर्यालको हस्ताक्षर हुनुले पनि रवि मुकुलप्रति नरम भएको पुष्टि हुन्छ । तर, मुकुल यो कुरा मात्र तयार छैनन् । उनी निरन्तर सभापति रविमाथि नै प्रहार गरिरहेका छन् ।

रविमाथि खनिएका मुकुलले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गरेको समीक्षा प्रतिवेदन पनि सार्वजनिक भएको छ । पार्टी कार्यकर्ता र सर्वसाधारणसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदनमा रविको विगत र वर्तमानसँग जोडिएका थुप्रै प्रश्न गरिएको छ । रविको कार्यशैलीलाई समेत लक्षित गरेर सोधिएका प्रश्नहरुमा सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सीके राउत जस्तो ब्याकमा किन नबसेको ? जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ? लगायत छन् । साथै सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो, सभापतिको सचिवालयमा मृदुभाषी भएनन्लगायतका गुनासोका पोकाहरु पोखिएका छन् ।

रवि र मुकुलको सम्बन्ध सहकारी ठगीमा रविको नाम मुछिसकेपछि चिसिएको देखिन्छ । सहकारी प्रकरणमा रवि मुछिँदा जसरी पार्टीका अन्य पदाधिकारीहरूले ढाल हालेका थिए त्यसै गरी मुकुलले पनि आफ्नो पक्षमा उभिने रविको अपेक्षा थियो । तर, मुकुलले सहकारी ठगीमा रविको विरोध नै नगरे पनि कहिँकतै समर्थन गरेनन् । जसरी रविलाई उपसभापति स्वर्णिम वाग्ले र अनिलकेशरी शाहले काँध हालेका थिए । अन्य पार्टीमा वर्षाैंसम्म काम गर्दा पनि कार्यकर्ताभन्दा माथि उठ्न नसकेपछि अवसरको खोजीमा रहेका स्वर्णिम वाग्ले, मनिष झाजस्ता नेताहरू यहीबाट रविको पक्षमा सबैभन्दा बढी वकालतमा उत्रिए । बुधबारको बैठकमा मुकुलले बैठक छोडेर बिचैमा निस्कनुको प्रमुख कारण पनि उपसभापति स्वर्णिम वाग्ले नै थिए । उनले मुकुललाई महामन्त्री मात्र तयार भए पनि मुकुलले बैठक बहिष्कार गरेका थिए । अलिकति बढेको दूरीमा आगन्तुक नेताहरूले खेल्न थाल्दा पार्टीभित्रै मुकुल एक्ला बृहस्पति बत्र पुगेका छन् ।

रास्वपाले ढकाललाई सात दिनका लागि अनुशासनको कारवाही गरेपछि कार्यवाहक महामन्त्री र प्रवक्तामा क्रमशः कविन्द्र बुर्लाकोटी र मनिष झालाई पदभार गराएको छ । मुकुललाई रवि र रविलाई मुकुल चाहिने मान्छे हुन् । तर, आगन्तुक नेताहरूको पछि लागेर भुइँदेखि नै साथ दिँदै आएका सारथिसँग भिड्दा दीर्घकालीन रुपमा पार्टी निर्माणमा लाग्नेहरुलाई भने घाटा हुनेछ । हो मा हो मिलाउनेदेखि मुखमा टेप लगाउनु पर्ने अवस्थासम्म आइपुग्दा यी दुई मिलेर गएनन् भने, बाहिरबाट आएकाहरूले पार्टीलाई हाईज्याक गर्दै दुवैलाई किक आउट गर्न सक्ने टिप्पणी हुन थालेको छ ।

रास्वपा निर्माणका क्रममा बनेको रविको कोर टिम भत्काउन सभापतिलाई नै बोकेर आगन्तु नेताहरू लागिपरेका छन् । आगन्तुकहरूको पार्टी प्रवेशभन्दा पहिले नै छोटो अवधिमा चौथो शक्ति बनेर उदाएको रास्वपा कोही तेस्रो व्यक्तिको आगमनसँगै ओरालो पथमा लाग्नुको कारण नेतृत्वले बुझ्न जरुरी छ । पार्टीका केन्द्रीय सदस्यहरूले मुकुललाई लपेटिरहँदा रवि मुकुलको कार्यशैलीका कारण मौन बस्न बाध्य छन् । पार्टीलाई एउटा स्थानमा ल्याएर देशकै चौथो शक्तिको हैसियतमा खडा गरिए पनि रास्वपाको आयु बढाउन यी दुईको मिलन अति आवश्यक देखिन्छ ।