Breaking

नबोलेरै देउवाले जिते, प्रचण्ड भित्तामा, कम्युनिस्ट सक्न प्रधानमन्त्री त्याग ?


पत्तै नपाई मध्यरातमा धोका दिएका पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मध्यरातकै छलफलबाट रिस फेरेका छन् । यसले धोका खानेहरु एक ठाँउमा पुगेका छन् भने प्रचण्ड भित्तामै पुग्ने वातावरण बन्दै छ । अर्थात चुपचाप धोकाको बदला लिने र सत्तामा फर्किन सफल भएका देउवा पार्टीमै पनि एकमत बनाउन सफल भएका छन् ।

धेरै नबोल्ने तर अस्थिर अंकगणितमा खेल्न सिपालु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौनताकैबीच सत्ता पल्टाएका छन् । यसले दुई ठूला दल एक ठाँउमा उभिएका मात्रै छैनन् लगभग सत्ता फिर्ती असम्भव रहेको भाष्यसमेत चिरिएको छ ।

जसलाई उनको राजनीतिक सफलताका रुपमा हेर्न सकिँदा मध्यरातमा धोका दिनेलाई मध्यरातमै जवाफ फर्काएका छन् । हुन पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि वार्ता जारी राखे भने काखमै राखेका केपी शर्मा ओलीलाई उनले थुते । त्यस्तै प्रचण्डको जादुयी संख्याकै विकल्प तयार गर्दासमेत उनले त्यसको छनकसमेत दिएनन् । झट्ट हेर्दा देउवा दम्पती बालकोट गएर च्युरा खाएको दृश्य देखिँदा त्यसको १२ घण्टामै विकसित घटनाक्रमले प्रचण्ड विकल्पविहीन नै बने ।

यसका लागि प्रचण्डले आफ्ना भाइ तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालमार्फत पठाएको प्रधानमन्त्रीको प्रस्ताव नै देउवाले तल्याइदिए । योबीचमा भारतीय राजदूत नवीन श्रीवास्तव बूढानीलकण्ठ पुगेरओलीसँग नमिल्न दिएको सुझावभन्दा माथि उठेका उनले केही समय पर्खिए किस्तीमै प्रधानमन्त्री आउने अवस्थासमेत कुरेनन् । यसलाई देउवाले मौकामा हिरा फोरेको रुपमा व्याख्या गरिँदा धोका खाएकाहरु एक ठाँउमा उभिए के हुन्छ? भन्दै आफ्नै नेताहरुले गरेको प्रश्नलाई समेत चरितार्थ गरिदिएका छन् ।

त्यसका लागि यो प्रश्न गर्ने रमेश लेखकलाई नै सेनापति बनाएका उनले यो बीचमा देखाएको धैर्यतासमेत गज्जबको थियो । समय र परिस्थिति अनुसार महामन्त्रीदेखि प्रमुख सचेतक र संस्थापनदेखि इतरगुटसम्मका नेतालाई कमाण्डर बनाएर अघि सार्ने उनले यो चोटी पनि मौन बसेरै काम फत्ते गर्न भ्याए ।

यो समीकरण बनाउँदा उनले आफू बचनमा पक्का रहेको मात्रै प्रमाणित गरेका छैनन् बरु उनी जतिको संसदीय राजनीतिको खेलाडी नभएकोसमेत मानक स्थापित गरेका छन् । अब ठूला दल मिल्नुपर्ने र निर्वाचन प्रणाली नै सुधारेर अघि जानुपर्ने बताँउदै आएका उनले मुख्य प्रतिस्पर्धीलाई नै त्यसको बाटोमा अघि बढाएको यो दृश्यले उनले बोलेपछि पूरा गरेरै छाड्ने अर्को भाष्य निर्माण भएको छ ।

यो पटक त आफूलाई मात्रै थाहा भएको सम्झौता पदाधिकारी बैठकबाटै पास गराएर सबैको एकमत बनाउन देउवा सफल भए । जसले उनका हरेक कुरामा विमति राख्ने इतर पक्षसमेत विगतमा झै सत्तामै जानका लागि जे पनि गरेको भन्ने खालका प्रश्न उठाउन नसक्ने अवस्थामा पुगेको छ ।

हुन त यो समीकरणले राखेको मुख्य उद्देश्य संविधान संशोधन त्यति सहज छैन । यदि त्यो पनि पूरा गरे देश समस्यामा पर्दा कांग्रेसले नै अग्रता लिनुपर्ने उनीहरुको दाबीलाई बल पुग्नेछ । त्यस्तै पहिलो दल भएर पनि अरुलाई नै प्रधानमन्त्री बनाएर भए पनि राष्ट्रिय आवश्यकता पूरा गरेको जस देउवाले प्राप्त गर्ने छन् । यतिमात्र नभएर साना दल र विशेषत प्रचण्डसमेत अस्थिर पात्र व्यवस्थापनको जस पाउने मध्येको एक पात्र उनी बन्दा नागरिकले केही नपाएपनि पार्टी र सत्ता राजनीतिमा उनी सफल भएको नकार्न सकिँदैन ।