Breaking

गृहमन्त्री लामिछानेको निलम्बन मागिएको रिटमा सुनुवाइ सकियो, आदेश तयार हुँदै


काठमाडौँ – गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमाथिको सुनुवाइ सकिएको छ । यही असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको मुद्दा त्यसयता हेर्दाहेर्दैमा राखेर सुनुवाइ भएको थियो ।

मंगलबार जवाफी बहस सुरु भएको रिट बुधबार न्यायाधीश मल्ल संवैधानिक इजलासमा बस्ने भएपछि पेसी स्थगित भएको थियो । बुधबार स्थगित भएको पेसी बिहीबारलाई तोकिएपछि जवाफी बहस सकिएको छ ।

बसह सकिएसँगै न्यायाधीशहरू आदेशको गृहकार्यमा जुटेको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

वैशाख २४ मा महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगीमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध कतै पनि उजुरी र अभियोजन नरहेको पत्र दिएको थियो । कास्कीमा सूर्यदर्शन सहकारीका ठगी पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भए पनि महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई ‘क्लिनचिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

जेठ १ गते नै दायर भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । तर, अधिवक्ता भट्टराईले दरपिठविरुद्ध दिएको निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरिदिएपछि जेठ १४ मा रिट दायर भएको थियो ।