Breaking

समस्याग्रस्त २९ सहकारी सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन


काठमाडौँ – सहकारी संस्था बचत दुरुपयोगबारे गठन भएको संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो। समितिका सभापति सूर्य थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीलाई छानबिनमा सहयोग आग्रह गरिएको बताए।

सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उनले उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने बताए। समितिले गृहसचिव, प्रहरी महानिरीक्षक सहितलाई समेत शुक्रबार बस्ने बैठकमा उपस्थित हुन भनेको छ।‘आज हामीले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे सहितलाई जानकारीका लागि आमन्त्रित गरेका थियौँ।

महालेखाको ६० औं र ६१ औं प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याका बारेमा उल्लेख भएको छ,’ उनले भने, ‘२०७५ सालदेखि नै महालेखका प्रतिवेदनहरुमा सहकारी क्षेत्रमा देखापरेका समस्याहरुका सन्दर्भमा उल्लेख भएको पाइन्छ। यद्यपी महालेखाको सिधै कार्यक्षेत्र सहकारी संस्थासँग जोडिँदैन। नियमनकारी निकाय छ तर त्यसलाई चाहिने श्रोत, साधन, जनशक्ति छैन।’ उनले २९ वटा सहकारी सञ्चालकहरूलाई समितिमा उपलब्ध हुन पनि आग्रह गरिएको बताए।