Breaking

सरकार अल्पमतमा पर्‍यो, प्रधानमन्त्री प्रचण्डले विश्वास मत पाउने अवस्था देखिँदैन : एमाले


काठमाडौँ – नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको बताएको छ।

दाहाल नेतृत्वको सरकारलाई आफूहरूले दिएको समर्थन फिर्ता लिइसकेको र मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेको उल्लेख गर्दै महासचिव शंकर पोखरेलले सरकार अल्पमतमा परेको बताएका हुन्।

एमालेका ८ जना मन्त्रीहरूले बुधबार राजीनामा दिएका थिए। एमालेले बुधबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमालेका ८ जना मन्त्रीहरूको राजीनामा बिहीबार स्वीकृत भइसकेको छ। ती मन्त्रालय प्रधानमन्त्री दाहालले नै हेर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकिसकेका छन्।

एमाले महासचिव पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै एमाले र कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति बनिसकेको उल्लेख गरेका छन्। असार १७ गते उक्त सहमति कांग्रेस र एमालेबीच भएको थियो।

‘पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नु भएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ,’ महासचिव पोखरेलले भनेका छन्, ‘संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन नेकपा (एमाले)प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछ।’

एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पनि दलहरूलाई आग्रह गरेको छ। प्रधानमन्त्री दाहालले भने संसदबाट विश्वास मत लिने तयारी गरिरहेका छन्। कुनै दलले समर्थन फिर्ता लिएमा संविधानअनुसार एक महिनाभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने हुन्छ।