काठमाडौँ— निरन्तरकोवर्षालेसप्तकोशी नदीको बहाव बढेको छ । नदीको बहावमा उतारचढाव भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ ।
सप्तकोशी नदीमा जुनकुनै समयमा बढ्न सक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका सुनसरी र सप्तरी जिल्लामाशतकर्तासहितको आवश्यक तयारी अघि बढाइएको छ । बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठकसमेत बसेको छ । बैठकले नदीमा आउनसक्ने बाढीको आकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ अघि बढाउने निर्णय गरेको छ । बाढीसँगै कोशीमा डुंगा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको छ । बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णयसमेत गरेको छ ।
सप्तकोशीमा बहाव बढ्दै जाँदा सम्भावित जोखिम मानिएका स्परको सुरक्षामा प्रशासनले विशेष चासो दिएको छ । नेपाली पक्षको समन्वयमा उक्त क्षेत्रमा भारतीय पक्षले तारजाली र बालुवा भरिएका बोरा राख्ने काम जारी राखेको छ । ब्यारेजमा सम्पन्न प्रजिअसहित सुरक्षा निकायको बैठकले सीमापार हुने अपराध र तस्करी नियन्त्रणका साथै तीव्र गतिका कारण राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका सवालमासमेत सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।
टोलीले कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम)का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षणसमेत गरेको छ । सप्तकोशी नदीमा केही दिनयता २ लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ ।सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्ष यता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । भारतीय पक्षले भने जलस्तरको मापनका आधारमा ब्यारेजका ढोका खोल्ने गर्छ । ढोका खोल्न ढिला हुँदा वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।
प्रतिक्रिया