Breaking

रास्वपा बैठकमा लफडै लफडा, मुख थुनेरै मुकुलले धेरै बोले, नयाँ महामन्त्रीमा सन्तोष कि सोविता ?(भिडियोसहित)


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद थप चुलिएको छ । महामन्त्री मुकुल ढकालले बुझाएको प्रतिवेदनपछि तरंगित रास्वापाको घर–झगडा थप उत्कर्षमा पुगेको छ । सत्ता राजनीतिमा संकटमा रहेको रास्वपाले पार्टीको संकट कसरी सुल्झाउँछ ? चासोपूर्ण बनेको छ ।
महामन्त्री मुकुल ढकालले पार्टी नेतृत्वले पार्टी स्थापनाको उद्देश्य र आफ्नो वचनको लिक छोडदा पार्टीभित्र चरम असन्तुष्टि, पार्टीको खस्कदो साख र पार्टी नै संकटमा भएको दाबीसहित प्रतिवेदन बुझाएपछि तरंगित रास्वपा अचानक बदलिएको सत्ता समीकरणपछि स्वतः दबाबमा छ । अझ रास्वपाको सत्तायात्रामा सत्ता साझेदार दल मात्र नभई सभापति रवि लामिछानेको रक्षा कवच बनेका एमालेका अध्यक्ष केपी शर्मा ओलीकै धोकाधडीले रास्वापालाई ठूलो झट्का लागेको छ । कांग्रेस एमालेको सरकारमा सहभागी हुन अफर पाइसकेको रास्वपा सरकारमा नजाने पक्षमा छ । यही पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बुधबार केन्द्रीय समितिको बैठक बस्यो । तर रास्वपाको बुधवारको बैठक छलफल वा निर्णयले नभई बैठक अवधिमा देखिएका नयाँ नयाँ दृश्यले चर्चामा रह्यो । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले सुरक्षा घेराभित्र बैठक चलाए । विगतमा पार्टी कार्यालय अगाडि नियमित सुरक्षामा हुने प्रहरी बुधबार पाँचौँ तलामाथि नै पुगेका थिए । बैठकमा भित्रैसम्म प्रहरी तैनाथ गरिएको थियो । बैठक हलमा महामन्त्री मुकुल ढकाल मुखमा मास्कमाथि कालो टेप लगाएर प्रतिकारात्मक ढंगले उपस्थित भएका थिए । संकटमा परेको मन्त्री पदसँगै पार्टी बैठकको यो दृश्यबाट विरक्तिएर चिउडोमा हात लगाएर बसेकी शिक्षामन्त्री सुमना श्रेष्ठ र सभापति रवि लामिछानेकोबीचमा बसेका महामन्त्री मुकुल केन्द्रीय समितिको बैठकमा मुखमा मास्कमाथि कालो टेप लगाएर बसेका थिए ।

मनको दूरी बढे पनि सभापति लामिछाने र महामन्त्री मुकुलको बसाइँको दूरी पनि बढेको देखिन्थ्यो । केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन् । जति नै घेराबन्दीमा परे पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बैठकको प्रत्यक्ष प्रसारणको सामना गर्दै आएका छन् । बालेनको सिको गर्दै कांग्रेस जस्तो पार्टीलेसमेत बैठकको प्रत्यक्ष प्रसारण गर्ने थिति थालेको थियो । तर, वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपा र रास्वपा नेतृत्वले नै बैठकमा उठ्ने आफ्नाहरुको बोलीको डरले प्रत्यक्ष प्रसारण गर्न हिच्किचायो । यही कारण महामन्त्री मुकुल बैठकमा कालोटेप लगाएर उपस्थित भए । सभापति लामिछानेले प्रतिवेदन प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् । उनले तयार पारेको समीक्षा प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा पेस गरेका छन् । आफैँ सरकारमा सहभागी भएर सरकारकै आलोचना गर्ने मन्त्रीहरु अझै सरकारमै छन । खल्तीमा राजीनामा बोकेर हिँडेको धम्की दिने रास्वपाका मन्त्रीहरु काम चलाउ बन्दासमेत प्रधानमन्त्री प्रचण्डकै पुच्छर बनेर बसेका छन् ।

सत्ता राजनीतिमा समीकरण हेरफेर भएपछि संकटमा परेको रास्वपा दोहोरो झमेलामा परिरहेको छ । लोकतान्त्रिक पार्टीमा विषयगत सवालमा सवालजवाफ, छलफल, विरोध वा समर्थन स्वभाविक छ । तर महामन्त्री मुकुलको एकपछि अर्को गतिविधिमा केटाकेटीपन देखिएको वा रास्वपाभित्र फरक मतलाई निषेध गरिएको हो ? भन्ने प्रश्न उठेको छ । यस्तो अवस्थामा रास्वपा अब के गर्छ । रास्वपा अब कसरी अगाडी बढ्छ भन्ने सवाल जबरजस्त बनेको छ ।

अरुलाई दोष थोपरेर आफू पन्छिने रोग राजनीतिमा पुरानो हो । वैकल्पिक भनिए पनि रास्वपा पनि यो रोगबाट अछुतो देखिएन । अझ स्पष्ट रुपमा भन्नु पर्दा झोले कार्यकर्ता र अरिगांलको गोलोले पुरानो संस्कारलाई थप जबरजस्त बनाउँदै लगेको छ । प्रतिपक्ष कित्तामा बसेर प्रश्न उठाएकै कारण लोकप्रियता कमाएको रास्वपा दुई पटक सत्तामा पुग्दासमेत केही लछारपाटो लगाउन नसकेपछि जनतामाझ जाने नैतिकतासमेत गुमाउँदै गएको छ । आफ्नै कारण बद्नाम रास्वपा कसरी बलियो बन्छ वा पतन भएर जान्छ ? पेचिलो विषय बनेको छ ।