Breaking

अन्तिम अस्त्र हान्दै प्रचण्ड,बरु देउवा प्रधानमन्त्री, के ओलीलाई खतरा छ ? (भिडियोसहित)


काठमाडौँ— कांग्रेससँग कुम जोडेको नेकपा एमालेले मार्गप्रशस्त गर्न गरेको आग्रहविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद सामना गर्ने भएका छन् । जसले उनलाई तीस दिने सुविधा दिँदाउनको यो अटेरिपना किन भन्ने चासोसमेत उब्जिएको छ । कतिपयले यसलाई अर्को उथलपुथलको संकेतका रुपमा हेर्दा के उनले यो समय प्रतिआक्रमणमा प्रयोग गर्न सक्छन् त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले अहिले विभिन्न शंका उपशंका उब्जिएका छन् । यही निर्णयकै कारण एमालेले सुरुमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिको एक महिना प्रचण्डलाई सरकारमा बस्ने समय प्राप्त हुनेछ । संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । उनले यही तीस दिनको अवधि प्रयोग गर्ने र सरकार जोगाउन हरसम्भव प्रयास गर्ने रणनीति बनाएको देखिन्छ । फलतः संविधानको धारा ७६(२) मा दुई वा त्योभन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छल्न सकिने बाटो उनले अपनाउने एकाथरीको चर्चा छ । किनकि उक्त धारा अनुसारको सरकार आफू भएको र आफूले विश्वासको मत नपाएको अवस्थामा स्वतः उपधारा ३ मा जाने माओवादीको बुझाइ छ । यसले संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था आउने छ भने एमाले–कांग्रेसबीच संविधानको धारा ७६को उपधारा ३ मा नपुग्ने सहमति भएको दाबी गरिएको छ । एमालेले दुई दिनदेखि उक्त कुरामा कांग्रेस र राष्ट्रपति समक्ष प्रस्टता खोजेको खबर बाहिरिँदा बरु देउवाको नेतृत्व स्वीकार गर्न सकिने माओवादी नेताहरुको भनाइले प्रचण्डको बाटो भने यही भएको पक्का छ।

तर यो त्यति धेरै बलियो अस्त्र नभएकोमा प्रचण्ड प्रष्ट छन् । यद्यपि, ओलीलाई दक्षिणको शक्तिले मन नपराउने अवस्थालाई प्रयोग गरिहाल्न सकिन्छ कि भन्ने आशा प्रचण्डमा हुनसक्छ । त्यसबाहेक नक्कली भुटानी शरणार्थीको फाइल खोलेकै कारण डराएर देउवाले ओलीलाई प्रधानमन्त्री स्वीकारेको भाष्य उनले निर्माण गर्न थालिसकेका छन् । यही कारण वारपार नभएपनि गिरिबन्धु र नक्कली शरणार्थी प्रकरणमा केही नयाँ काम गर्न सक्ने अवसर भने उनलाई छ । यो अवधिमा टिकापुर जग्गा काण्ड, टेरामक्स र यती, ओम्नी लगायतका बहुचर्चित काण्डको फाइल खोलेर च्याप्न सक्ने ठाउँ छ।जनताले पनि जाँदाजाँदै केही धमाका होस् र कुनै राष्ट्रिय भाउजु वा तीनका आसेपासे देवरहरु पक्राउ परुन भन्ने चाहना राखेकाछन् । तर अर्कोतर्फ प्रचण्ड–रविमा नैतिक बल सकिएकाले उनीहरुबाट यो अपेक्षा गर्नु व्यर्थ रहेको टिप्पणी पनि हुने गरेको छ। किनकि आफूले अहिले फाइल खोले, भोलि सत्ता छोड्नुपरेकै भोलिपल्ट आफ्नो फाइल खुल्ने डर यिनीहरुमा छ । त्यस्तै कम्तिमा टीआरसीको विषयमा सहमति खोज्ने प्रयासमा गएका उनी यसैलाई पनि सफलताका रुपमा व्याख्या गर्ने अवसर बनोस् भन्ने चाहनामा छन् । त्यस्तै ओली र देउवा नै लामो समय गठबन्धनमा टिक्न नसक्ने बुझेका उनी मध्यरातमा माधवकुमार नेपाललाई देउवा फकाउन पठाएर ओलीसँग उनको दरारको खेल खेलिरहेका छन् । तर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो समय प्रचण्डलाई भएको भन्दै सके जादु देखाउन चुनौती दिइसकेका छन् ।

मुख्य कुरा त वारपार गर्न प्रचण्डलाई पनि केही समस्याहरु छन् । एक त सत्ताविहीन भएका बेला टीआरसकै मुद्दामा होस कि लडाकु शिविरका अनियमितताहोस्ती फाइल नखुल्लान् भन्न सकिँदैन । फलतः अहिले आक्रोश देखाउने समय नभएको बुझेका उनी उचित समयकै पर्खाइमा रहने सम्भावना नै बढी छ । बढी गरे देउवालाई प्रधानमन्त्रीको लोभ देखाउनेभन्दा ठूलो अवसर नभएका उनी राजीनामा नदिएर उल्टै नैकिताको कसीमा कमजोर सावित भइरहेको भने पक्का छ।