Breaking

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधान विरुद्ध पाँच वटा यौन दुर्व्यवहारको उजुरी


काठमाडौँ- निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी परेको छ ।

२ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र पाएपछि संसदीय सुनुवाइ समितिले प्रधान विरुद्ध ७ असारमा १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

आज सुनुवाइ समितिले प्राप्त उजुरीहरु समितिका सदस्यहरुलाई वितरण गरेको छ । सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रस्तावित आयुक्त प्रधान विरुद्ध प्राप्त उजुरीहरुमाथि बिहीबार समितिमा छलफल हुनेछ ।

स्रोतका अनुसार संसदीय सुनुवाइ समितिमा प्रधान विरुद्ध पाँच वटा उजुरी परेका छन् । पाँचवटै उजुरी यौन दुर्व्यवहारसँग सम्बन्धित रहेको छ । प्रधान यसअघि नेपाल कानुन आयोगको कार्यकारी निर्देशक थिए । त्यहीं हुँदा आफूलाई कार्यालयमा इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै एक महिलाले उजुरी दिएकी छन् । अरु चार आरोप पनि यही आरोपसँग सम्बन्धित छ । ‘काम लगाइदिने बहानामा प्रधानले बन्धक जस्तै बनाएर यौन सम्पर्क गर्ने गरेको’ अर्को उजुरीमा उल्लेख छ ।

कार्यालयमा जागिर खोज्दै आएकी एक महिलालाई इच्छा विपरीत यौन सम्पर्क गरेको र घटना मिलाउन एक करोड रुपैयाँ दिएको पनि उजुरीमा उल्लेख छ । उजुरीकर्ताले कुन मितिमा कुन बैंकमा कुन खाता नम्बरबाट कति पैसा जम्मा भएको हो भन्ने विवरण नै समितिलाई उपलब्ध गराएका छन् । ५० लाख र २५ लाख रुपैयाँको चेकका साथमा नगद बैंक खातामा बचत गरेको प्रमाण पनि उजुरीसँगै समावेश गरिएको छ ।

सुनुवाइ समितिमा पुगेको उजुरीमा यो विषय अदालतमा पुगेर मिलापत्र भएको पनि उल्लेख छ । उजुरीमा उल्लेख भए अनुसार २४ भदौ २०८० मा पीडित महिलाले काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी थिइन् । २९ भदौ २०८० मा उजुरीकर्ता र प्रधानले मिलापत्रका लागि संयुक्त निवेदन दिएका थिए । सोही दिन अदालतमा दुवै पक्षबीच मिलापत्र भएको उजुरीकर्ताले उल्लेख गरेका छन् । प्रधानको दबाब र प्रभावमा मुद्दा मिलापत्रमा टुंग्याएको भन्दै पीडित महिलाले उनलाई निर्वाचन आयुक्त बनाउनु उपयुक्त नहुने भन्दै सुनुवाइ समितिमा निवेदन दिएकी छन् ।