Breaking

अमेरिकाले देउवा–ओली मिलाउँदा चीन हेरेको हे¥यैँ, नारायणकाजीको बीआरआई हुटहुटीले ढल्यो सत्ता


काठमाडौ – औपचारिकता पाउन अझै बाँकी छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । नेतृत्वले अस्वीकार गरे पनि दलकै नेताहरु तथा आमनागरिकसमेत आन्तरिक सत्ता समीकरण फेरबदलमा बाह्य शक्तिको भूमिका हुनेमा प्रष्ट छन् ।

यसलाई नेपालको राजनीतिमा ‘ओपन सेक्रेट’ मान्न सकिन्छ । विपरीत ध्रुवमा रहेका कांग्रेस–एमालेको मिलन एकाएक कसले गरायो ? कम्युनिस्ट र कांग्रेसको मिलनबिन्दु के हो ? अहिले यीनै प्रश्नहरु चर्चामा छन् ।

औपचारिकता पाएको छैन । तर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मध्यराति ‘चपलीहाईट’मा भएको सम्झौताले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । आलोपालो ओली–देउवाको काँध चढेर सत्तासिन प्रधानमन्त्री प्रचण्ड सरकारको नेतृत्व गरेको १८ महिनापछि सत्ता बर्हिगमनको अवस्थामा पुगेका छन् ।

उथलपुथल गर्दै आफूलाई शक्तिशाली सावित गर्दै आएका प्रचण्ड ओली–देउवाको अघि अन्ततः निरीह बन्न पुगेका छन् । प्रचण्ड काम चलाउ प्रधानमन्त्रीको अवस्थामा पुगेका छन् । चुनाव लगत्तै संसदको पहिलो शक्ति कांग्रेस र दोस्रोे शक्ति एमाले मिलेर सरकार गठन गर्नुपर्ने विषय जबरजस्त उठेको थियो ।

राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिल्नुको विकल्प थिएन । तर जनमतको कदर गर्नुभन्दा आलोपालो प्रचण्डलाई काँध हाल्न तयार भए । मिलेर सरकार बनाउने हिम्मत गरेनन् । प्रचण्डको सत्ता उलटफेरको राजनीतिक रमिताको रमिते बने । यो श्रृंखला जारी रहेकै अवस्थामा अचानक प्रचण्डलाई चक्मा खुवाउदै ओली–देउवा एक भएका छन् । यत्तिका समय आलोपालो गर्दै प्रचण्डलाई काँध थापेका ओली–देउवा अचानक सत्ता साझेदारी गर्न कसरी तयार भए ? यो प्रश्नलाई लिएर अहिले अनेक तवरबाट टिकाटिप्पणी भइरहेको छ ।

काठमाडौंको सत्ता समीकरण फेरबदलले दिल्ली–बेइजिङसमेत तरंगित छ । कुटनीतिक क्षेत्रमा बहस छेडिएको छ । आफू अनुकूल नेपालमा सरकार निर्माण गर्न दुई छिमेकी भारत र चीनका साथै विश्व शक्ति राष्ट्र अमेरिका सधँै सक्रिय हुँदै आएको तथ्य लुकाउन सकिँदैन । यद्यपि, रातारात अहिले भएको समीकरण परिवर्तन आन्तरिक राजनीतिक प्रभावकै उपज भएको विश्लेषकहरुको दाबी छ ।

एकाएक सत्ता समीकरणको नयाँ सिरा आन्तरिक राजनीतिक उपजले मात्रै सम्भव भएको भने भन्न मिल्ने अवस्था छैन । केही दिनअघि मात्र सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय संयन्त्रको बैठकपछि चीनको महत्वकांक्षी योजना बेल्ट एण्ड रोड बीआरआई परियोजना कार्यान्वनको दवाव बढेको छ । बीआरआई कति पेचिलो बनेको छ सदनमा सांसदहरुले उठाएका विषयहरु नियाले पुग्छ । बीआरआई पनि अमेरिकी सहयोग परियोजना एमसीसी सरह सदनबाट पारित गर्नुपर्ने विषयले यसको गाम्भिर्यता दर्साउँछ ।

बीआरआई ऋणको रुपमा स्वीकार गर्न नसकिने कांग्रेसको पछिल्लो निर्णयले कतै यो सरकार परिवर्तनको भूमिका खेलेको त होइन भन्ने शंकाको सुविधा दिएको छ । पछिल्लो समय नेपालमा बढेको चिनियाँ सक्रियताले भारत र अमेरिका सशंकित छन् । बढ्दो अमेरिकी सक्रियतासँगै एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत अमेरिकासँग सुमधुर सम्बन्ध स्थापित गर्न अग्रसर छन् ।

अर्काेतर्फ अमेरिका निकट कांग्रेस–एमाले नेताहरुको दौडधुपले पनि देउवा–ओलीमाथि अमेरिकाको आर्शिवाद रहेको आशंका गर्ने ठाउँ छ । यस्तै अमेरिकासँग नजिक सीके राउतको मधेश सरकार जोगाई दिन पनि ओली–देउवाको मिलन भएको अनुमान लगाउन सकिन्छ । भारतसँग चिढिएका ओली पछिल्लो समय अमेरिकासँग सम्बन्ध सुधारमा सक्रिय छन् । यही कारण ओलीलाई सघाउन देउवा तयार भएका हुन् भन्ने विश्लेषण पनि छ ।

सीके राउतको सत्ता जोगाउन कुटनीतिक रुपमा भारतको भूमिका हुन सक्छ तर विश्लेषकहरु भने यो सरकार निर्माणमा बाह्य शक्तिको चलखेलभन्दा पनि धमाधम भ्रष्टाचार प्रकरणमा आफ्नै मान्छे डामिने भयले यी काण्डहरुको व्यवस्थापन गर्न यो समीकरण बनेको दाबी गर्छन् ।

कम्युनिस्ट गठबन्धन हुँदा चीनसँग जोडेर र कांग्रेससहितको गठबन्धन निर्माण हुँदा भारतसँग जोडेर विश्लेषण हुनु स्वभाविक हो । ओली–प्रचण्डको समीकरण निर्माणमा चिनियाँ प्रभाव भएको विश्लेषण हुँदा अहिले ओली–देउवाको मिलनलाई अमेरिकी प्रभावको रुपमा केहीले व्याख्या गरिरहेका छन् । नेपालको राजनीतिक समीकरण फेरबदलमा घरेलु राजनीतिको प्रभाव कमै मात्र हुने गर्छ । तर बाह्य शक्तिको चलखेल बढी नै हुने कुरालाई नकार्न सकिन्न ।