Breaking

प्रचण्डमाथि क्रान्तिकारी उथलपुथल, जादुगर प्रचण्डसँग ओली रोक्ने दुई अस्त्र अझै बाँकी


कांग्रेस–एमाले सत्ता सहकार्यको नजिक रहँदा केपी शर्मा ओलीको प्रधानमन्त्रीको बाटोमा पुष्पकमल दाहाल प्रचण्डले छेकबार लाइदिएका छन् । सहयात्रामा रहेका दुुई ठूला शक्तिले समर्थन फिर्ता लिने तयारी गर्दा पनि ३० दिन सरकार घिसार्ने प्रचण्डको रहर के हो रु

उथलपुथलको बानी परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत जिल्ल पार्ने गरी नाटकीय शैलीमा राजनीति अघि बढिरहेको छ । रातभर दलका नेताहरु अनिदो रहँदै दौडधुप गरे । सोमबार मध्यराति १२ बजेर १५ मिनेटमा एमाले र कांग्रेसबीच सत्ता सहकार्यको समझादारीमा हस्ताक्षर भयो । हस्ताक्षर गरेको फोटो आरजु राणाले खिचे पनि सहमतिको खाका बाहिर आइसकेको छैन ।

पहिलो डेढ वर्ष ओली र बाँकी एक वर्ष देउवाले चुुनावी सरकारको नेतृत्व गर्ने समझदारी बनेको छ । संविधान र निर्वाचन प्रणालीमा पुनरावलोकनका लागि राष्ट्रिय सहमति खोज्नेसमेत समझदारी बनेको छ । तर, ओली प्रधानमन्त्री बन्ने पहिलो कदममै प्रचण्ड बाधक बनेका छन् । उनले राजीनामा दिने हो भने ओलीलाई प्रधानमन्त्री बन्न सहज थियो । तर राजीनामा नदिने र आफूले पाएको ३० दिनको समय गुजार्ने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।

नयाँ सहमति बने लगत्तै ओलीले प्रचण्डलाई भेटेर राजीनामा दिएर वातावरण सहज बनाइदिन भनेका थिए । तर प्रचण्ड भने मार्ग प्रसस्त गर्नुको साटो काउन्टर दिने मनसायमा पुगेका छन् । राजीनामा नदिने बरु जसले साथ छाडे पनि ३० दिनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय माओवादी पदाधिकारी बैठकले गरेको छ । प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटेर नयाँ घटनाक्रमबारे जानकारी गराउँदै आफू संविधान अनुसार नै जाने अर्थात एक महिनासम्म सरकारमै रहने जानकारी गराएका छन् ।

उसो त सोमबार राति ओली र देउवाले समेत राष्ट्रपति पौडेलसँग भेटेको चर्चा छ । तर कांग्रेसले भने यसको खण्डन गरेको छ । उनीहरुले बहुमत सांसदको हस्ताक्षर लिएर शीतलनिवास आउने र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सकिनेबारे छलफल गरेको बुझिएको छ ।

एमालेले आफ्ना मन्त्रीहरुलाई समेत फिर्ता बोलाउने तयारी गरिसकेको छ भने नयाँ सम्झौता भइसकेपछि रास्वपाले पनि सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । तर, बहुमत सांसदहरुले आफ्नो साथ छाड्ने अवस्थामासमेत प्रचण्ड भने आफ्नो जादुको छडीबाट अर्को चमत्कार हुने आशले सत्ता घिसार्न खोजिरहेका छन् ।

यीनै प्रचण्ड हुन् जो कांग्रेसलाई ढाँटेर ‘घर जान्छु’ भन्दै बालकोट पुुगेर सत्ता फेरेका थिए । उनै प्रचण्ड अहिले ओलीले घात गरेको बताइरहेका छन् । तर प्रचण्ड र ओली–देउवाको राष्ट्रपतिसँग भएको भेट र बहुमत सांसदको हस्ताक्षरले विवादित बन्न नचाहेका राष्ट्रपति पौडेललाई समेत विवादमा पार्न सक्ने र अदालतको विषय बन्नेसम्मका सम्भावनालाई नकार्न सकिँदैन । तर कोशीको नजिर देउवा–ओलीले केन्द्रमा पनि प्रयोग गर्न खोजेको देखिन्छ ।

जहाँ सम्भावना रहेसम्म अर्को उपधारामा सरकार गठनको पक्रियामा जान नहुने व्याख्या गरिएको छ । यसै नजिरलाई टेकेर ओलीलाई प्रधानमन्त्री बनाउने आन्तरिक तयारी भइरहेको छ । एमाले–कांग्रेसको यो सहमतिलाई सत्तारुढ दहरुले भने पश्चगमन, अलोकतान्त्रिक हर्कतको रुपमा चित्रण गरेका छन् ।

सरकारमै रहेको अर्को दलले भने यसलाई संविधान संशोेधनभन्दा बढी भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ पछिको पटाक्षेपका रुपमा बुझेका छन् । अर्कोतिर केपी ओलीलाई गिरीबन्धुमा अनुसन्धान गर्नुपर्ने कांग्रेसको माग र कांग्रेसले नै जग्गा बेचेर खाएको ओलीको आरोपका बीच ‘भुटानीबन्धु’को मिलन भएको तथ्यमा आमनागरिक जानकार छन् ।

लोकतान्त्रिक व्यवस्थामा पहिलो र दोस्रो ठूलो दल मिल्नु ठिक होइन । बलियो प्रतिपक्षी संसदमा नहुँदा मुलुक अधिनायकवादतिर जाने जोखिम हुन्छ । साना दलहरुले वा ५–१० संख्या कम हुँदा जुटाउने आँट लिएर विश्वासको मत लिन पाउने आफ्नो अधिकार प्रयोग गर्नु प्रचण्डका लागि हितकर हो । तर एमाले र रास्वपाले नै समर्थन फिर्ता लिने संकेत गरिसक्दा समेत काउण्टरको राजनीति गर्नु प्रचण्डकै लागि घातक सावित हुने देखिन्छ । खैर, यसका लागि पनि एमाले र रास्वपाको समर्थन फिर्ताको निर्णय भने कुर्नुपर्नेछ ।