Breaking

रास्वपा ओली–प्रचण्डकै सिकार, गृहमा रवि बद्नाम


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता यात्राको दोस्रो इनिङ्स पनि धेरै टाढासम्म लान नसक्दा पार्टी नेतृत्व राजनीतिमा कच्चा खेलाडी सावित भएको छ । परम्परागत दलभन्दा आफूलाई फरक दाबी गर्दै राजनीतिमा उदाएको रास्वपा पुराना दलसँगै सती जाँदा सत्ता मोहको ट्याग लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी यतिखेर समस्याको चङ्गुलले घेरिएको छ । महामन्त्री मुकुल ढकालले निर्मम भएर निकालेको प्रतिवदेनकै कारण उनीमाथि कारबाही गर्ने तयारीमा रहेको रास्वपा सत्ता यात्राको भुमरीमा पनि फसेको छ । बुधबार बस्ने केन्द्रीय समितिले विवादित प्रतिवेदनका विषयमा निर्णय लिनुभन्दा पहिले नै पार्टीलाई सत्ता यात्रामा पनि ठूलै झट्का लाग्ने निश्चित भएको छ । पहिलो पटक सरकारमा सामेल हुँदा ४२ दिनमै सदनको विपक्षी कित्तामा पुगेको रास्वपाको दोस्रो सत्ता यात्रा पनि लामो समय जान नसक्ने भएको छ । नेकपा एमालेको फेरो समाउँदै दोहो¥याएर सरकारमा सामेल भएको रास्वपा पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा सत्ताबाट बाहिरिने लगभग पक्का भइसकेको छ ।

एमालेले नेकपा माओवादी केन्द्रलाई छोडेर नेपाली कांग्रेसतिर पिरती गास्ने तयारी गरेपछि रास्वपाको यसपटकको सत्ता यात्रा पनि हनिमुन पिरियड पार गर्नुभन्दा बढी हुन सकेन । देशमा सुशासन स्थापित गर्न भ्रष्टाचारीविरुद्ध फाइल खोल्दा छटपटीमा परेर रातारात सत्ता समीकरण फेरिएको रास्वपाको बुझाइ छ । फाइल खोल्दा भ्रष्ट व्यक्तिमाथि सङ्कट पर्ने देखिएपछि बेचैन बढ्दाको परिणाम राज्यले भोग्नु परेको रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको टिप्पणी छ ।

सोमबार मध्याह्न १२ बजेसम्म आफैँले दुई नेतालाई भेटेको र त्यस्तो केही नहुने भन्दै गृहमन्त्री रविले देखाएको आत्मविश्वास १२ घण्टा पनि नबित्दिै तोडियो । ठूला दललाई पछार्छु भन्दै संसदीय राजनीतिमा आएको र त्यही ठूला दलसँग कुम जोडेर सत्तायात्रा गरेको रास्वपा नै ठूला दलको राजनीतिक सिकार बन्दा नराम्रोसँग खाल्डोमा परेको छ ।

पहिलो र दोस्रो दुवै पटक एमाले सामेल भएको सरकारलाई साथ र समर्थन दिएको रास्वापाले अब भने कांग्रेस–एमाले मिलेर बन्न लागेको सरकारलाई साथ नदिने निचोड निकालेको छ । पटक पटक ठूला दलबाट धोका पाउँदै आएको रास्वपा ओली–देउवाले सरकार गठनको प्रक्रिया थाल्नासाथ सरकारबाट बहिर्गमनको बाटो रोज्ने मनस्थितिमा छ ।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले मिलेर समीकरण बनाउन खोज्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उनीहरूका अघि बाधक बन्दै ३० दिनसम्म आफ्नो सरकार लम्ब्याउने खेलमा लागेका छन् । प्रचण्डले विश्वासको मत लिने तयारी गरे पनि एमाले–कांग्रेसबीचको सहमतिले लामो समय सत्ता टिक्ने सम्भावना छैन । विगतमा झै पुनः यिनै पुराना दलहरू एकआपसमा भिड्ने र मिल्ने प्रक्रियाले निरन्तरता पाउँदा सबैभन्दा ठूलो घात रास्वपालाई भएको छ । पुरानाभन्दा फरक र तिनैलाई गाली गरेर आएको रास्वपा पनि तिनै दलको पछि लागेर सत्ताको भुंग्रोमा हाम फाल्दा नयाँ भनिएको शक्तिको छविमाथि पनि धब्बा लागेको छ ।

रास्वपा भित्रको प्रतिवेदनको विवाद चिरिन नपाउँदै सत्ताबाट बाहिरिने अवस्थामा पार्टी आइपुगेको छ । सत्तामा जानु हुत्र भत्रे यथेष्ठ जनमत हुँदाहुँदै पनि ठूला दलको पछि लागेर सत्तामा गएको रास्वपालाई अत्तोपत्तो नहुने गरी मध्यरातमा समीकरण फेर्ने खबरले झट्का लागेको छ । ओलीकै लहलहैमा सत्ताको दोस्रो इनिङ्स थालनी गरेका रविमाथि ओलीले नै घात गरेका छन् । ठूला दलहरूले रास्वपालाई घण्टी नै सम्झेर यताउता बजाउन सफल भएका छन् । ठूला दलको घण्टी बजाउने ध्वाँस दिएको रास्वपा स्वयम्को यति बेला घण्टी बजेको छ । साथै राजनीतिमा रास्वपाका नेता कच्चा खेलाडी रहेको तिनै पुराना दलका वृद्ध नेताहरुले सावित गरिदिएका छन् ।