Breaking

देउवा–ओली भागबन्डाको खाका, गृह र अर्थमा को ?


काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्डसँग सत्ता सहकार्य जारी रहेकै अवस्थामा केपी शर्मा ओलीले कुटिल चाल चाल्दा सरकार ढल्ने भएको छ । सधैँ च्याँखे थापेर सत्ताको बादशाह बनेका प्रचण्डको अहिले सत्ता यात्राको च्याप्टर लगभग क्लोज हुँदै गर्दा उनले बर्हिगमन नै हुन परे संसदको सामना गरेर मात्रै हुने स्पष्ट पारेका छन् ।

प्रचण्ड ः देउवा रिसाउँदा, ओली कहाँ जान्थे, ओली रिसाउँदा देउवा फकाउँथे तर देउवा र ओली नै मिल्दा अहिले धर्म संकटमा परेका छन् । दूईबीचको फाटोमा एकपट्टी टासो लागेर सत्तालाई हल्लुड बनाईरहेका प्रचण्डलाई ओली–देउवाले मिलेर किक आउँट गरेका छन् । सधै च्याखे थापेर सत्ताका बादशाह बनेका प्रचण्डको च्याप्टर लगभग क्लोज भएको छ । प्रचण्डसँग निरन्तर संवादमै रहेर ओलीले कुटिलचालमार्फत सत्ता पल्टाएका छन् ।

संसदको पहिलो ठूलो दल कांग्रेस र दोस्रो दल एमालेबीच सरकार निर्माणको खाका तयार भएको छ । तथापी प्रचण्डले अहिले प्रधानमन्त्रीबाट राजीनामा नदिने निष्कर्षमा प्रचण्ड छन् । उनले ३० दिनभित्र संसद फेस गर्दै विश्वासको मत लिने भएका छन् ।

प्रचण्डको सरकार ढाल्न, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले उनकैै फर्मूला प्रयोग गरेका छन् । प्रचण्डले सिकाएको ‘वारी जमुना – पारी जमुना वाला’ थेउरीलाई अन्ततः ओली–देउवाले प्राक्टिकलमा उतारेका हुन् । अर्थात वारी नभए पारी, बालकोट नभए बुढानिलकण्ठ मिलाएर भएपनि सत्तामा सधै लिसो टासिए जस्तै टासिने प्रचण्डको जादु यो पटक फेल खाएको छ । फलतः सत्ता विघटनको संघारमा छ ।

सत्ता विघटन लगभग टुंगिएपछि अब बन्ने कांग्रेस एमालेको सरकारमा, कसको भागमा कुन मन्त्रालय र को मन्त्री भन्ने आम चासोको विषय बनेको छ ।

विकसित राजनीतिक घट्नाक्रम अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर आलो पालो सरकारमा जान कांग्रेस सहमत भएको छ । जुनकुरा सोमबार मध्यराति १२ बजेर १५ मिनेट जाँदा चपलीहाइटमा भएको सम्झौताले स्पस्ट पारेको छ । एमालेले प्रधानमन्त्रीसहित १० मन्त्रालय र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिनेगरी पावर सेयरिङको ड्राफ्ट तयार भएको छ ।

एमालेबाट ओली प्रधानमन्त्री भएकाले अर्थमा उनले आफ्ना विश्वास पात्र विष्णु पौडेललाई लिएर जाने सम्भावना प्रवल छ । आफ्नै नेतृत्वमा सरकार भएपछि केही पाका र अनुभवी मन्त्रीको खोजी गर्दा ओलीले भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ र कानुन मन्त्री पदम गिरीलाई पनि संगै लिएर जाने सम्भावन टरेको छैन । अन्यमा भने केही नयाँले दौरा सिलाउँदा अहिले पालो पु¥याएका कतिले फुकाल्ने अवस्था आउनेछ ।

प्रधानमन्त्रीपछि सबैभन्दा चासो पूर्ण हेरिएको र शक्तिशाली मन्त्रालय गृहमा को भन्ने सर्वत्र चासो छ । यो कांग्रेसको भागमा परेको छ । अहिलेसम्म गृहमन्त्रीका रुपमा रवि लामिछाने छन् । रविकै सहकारी लगायतका मुद्धा थाति रहेका बेला कांग्रेसबाट गृहमा आउने पात्रले रविको मुद्दालाई हेर्ने दृष्टिकोणसम्मको विश्लेषण भईरहेको छ । मूलतः अहिलेसम्म कांग्रेसभित्र कृष्ण सिटौलाको नेतृत्वमा उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने चर्चा छ ।

अहिलेको समीकरणलाई मूर्तरुप दिन फाईनल चरणसम्म खटिएका ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक पनि मन्त्री बन्ने लिष्टमा छन् । कांग्रेसबाट यसअघिको सरकारमा पार्टी उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्री भई टोपलेकाले पालोकै हिसावले पनि दुईमहामन्त्री मध्ये एकजनाको नेतृत्वसहित सरकारमा जानुपर्ने चर्चा छ । त्यसका लागि ओलीसमेत सकारात्मक देखिएका छन् । अझ बुझ्ने भाषामा भन्नु पर्दा कांग्रेसका दुईमध्य एक महामन्त्रीलाई संगै सरकारमा लिएर जाने इच्छा ओली आफैले जाहेर गरेको विषय सतहमा छ । यसो हुँदा, सिटौला ब्याक हुने र गगन–विश्वप्रकाश मध्य एकजना सरकारमा जाने सम्भावना रहेको कांग्रेस नेताहरु नै बताउँछन् ।

यो संगै कांग्रेसभित्र देउवा र शेखर कोइरालाबीचको भागबण्डा पनि छ । पार्टीमा दुईलाई मिलाएरै शक्ति बाँडफाड गर्नु पर्ने दबावमा देउवा छन् । अहिलेको सरकार लामो समय जाने र रिजल्ट दिन सकिने भन्दै सरकारमा जान आकांक्षीको संख्या बढ्दो छ ।

कांग्रेस एमाले सत्तायात्राले फेरि एकपटक प्रदेशमा समेत उथलपुथल ल्याउने भएको छ । अहिलेसम्म गठबन्धनबाट मूख्यमन्त्री भएका एमालेहरु सुरक्षित हुँदा माओवादी र एकिकृत समाजवादीहरु बहिर्गमितको अवस्थामा पुग्ने छन् । जहाँ माओवादीे र समाजवादीको ठाउँमा कांग्रेसका मुख्यमन्त्री हालेर प्रदेश हाक्ने तयारी छ । त्यसो हुँदा, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा कांग्रेसको सरकार बन्ने छ । त्यस्तै गण्डकीको किचलो अब दुई दलको सहमति अनुसार अगाडी बढ्दा मधेस सिके राउतका लागि सुरक्षित राखिदिने संकेत देखा परेको छ ।

कांग्रेस–एमालेको समीकरणले गठबन्धनसहित माओवादीको सरकार ढाल्दा त्यसको बाछिटा सिफारिस भएका राजदूतहरुमा पनि परेको छ । एमालेबाट सिफारिस भएकाहरु सुरक्षित देखिँदा, माओवादी र जसपाको कोटामा भर्ति हुँदै गरेकाहरु विदेश नपुग्दै हातधुनुपर्ने अवस्थामा छन् । अझ रास्वपाले त झन नामसेत पठाउन नपाई सत्ताबाट बाहिरीनु पर्ने अवस्था आएको छ । तर गृहमन्त्री रवि लामिछानेले भटाभट भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि सत्ता टिक्न नसकेको टिप्पणी गरेका छन् ।

यद्यपी यी राजनीतिक घट्नाक्रमका बाबजुत प्रचण्डले राजीनामा नदिएको खण्डमा नयाँ राजनीतिक कोर्षको थानली कसरी होला ? यो प्रश्न जिवित छ । कांग्रेस–एमाले अल्पमत मिलेपछि अल्पमतमा परेका प्रचण्डलाई विश्वासको मत नदिएर सरकारबाट गलहत्याउँछन कि, त्यो भन्दै अगाडी दुईतिहाई सांसद लिएर राष्ट्रपतिमार्फत प्रधानमन्त्रीलाई पदच्यूत गराउँछन् ? यो ढंगले पनि विश्लेषण र तर्कना सुरु भएको छ ।

विश्वासको समय नकुरी प्रचण्डलाई सरकारबाट गलहत्याए फेरि त्यो अदालतसम्म पुग्न सक्छ । अर्कोतर्फ प्रचण्डले ३० दिनको समय पाउँदा प्रशस्त खेल्ने सम्भावना पनि छ । रात रहे अग्राख पलाउने नेपाली राजनीतिमा फेरि प्रचण्डबाटै उथलपुथल नहोला भन्न सक्ने अवस्था छैन । तथापी यो अब न्युन सम्भावनाभित्रको कुरा हो । अहिले पनि कांग्रेस र एमालेमाथि गिरीबन्धु र बेचन पक्राउपछि घाँटी जोडेको आरोप लागिरहेको छ ।