Breaking

फाइल खोल्ने कुरा आएपछि नयाँ गठबन्धन बनेको हो सबैले बुझेका छन् : गृहमन्त्री लामिछाने


काठमाडौँ— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्।

‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र!,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गरे।

‘बेचैनीको अरू के अर्थ होला र! एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्न छैन। संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरिसकेको छ। त्यस्तै तत्काल राजीनामा नदिने पनि रास्वपाले निर्णय गरेको छ।