Breaking

कम्युुनिस्ट एकतामा सधैँ सत्ता बाधक, स्वार्थमा नीतिको तिलाञ्जली


काठमाडौँ – ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको शुक्रबार ७३ औँ र पुष्पलाल श्रेष्ठको शनिबार परेको जन्म शताब्दीका अवसरमा कम्युनिस्ट पार्टी एक हुनुपर्ने आवाज उठ्यो । कार्यक्रममा मात्रै नभई पछिल्ला अन्य भाषणहरूमा पनि कम्युनिस्ट एकताको भजन गाएर नथाकेका नेताहरूले भने जस्तै के साच्चिकै कम्युनिस्ट एकता सम्भव होला त ?

वामपन्थी शक्तिहरूलाई एकीकृत गरेर कम्युनिस्ट विचारधाराबाट जनताको जीवनस्तर उकास्ने सिद्धान्तमा अघि बढेका कम्युनिस्टहरू चिरा परेको भन्दै अब एकै ठाउँमा आउनु पर्ने आवाज उठिरहेको छ । मदन भण्डारी, पुष्पलाल श्रेष्ठ जस्ता नेताले तय गरेको सिद्धान्त विपरीत कम्युनिस्टका नाममा सानासाना सटर खोलेर बस्दा कम्युनिस्ट पार्टीहरू नै कमजोर हुँदै जाँदा वामपन्थी शक्तिबीच एकता हुनु पर्ने महसुस गर्न थालेका छन् ।

वामपन्थीहरू एक ठाउँमा उभिए कम्युनिस्ट सिद्धान्त मात्र होइन जनताका लागि कम्युनिस्ट शासनसमेत ल्याउन सकिने कम्युनिस्ट आन्दोलनका नेताहरू बताउँछन् । कम्युनिस्टको एकताले नै देशको भविष्य सुनिश्चित भएको निष्कर्षमा पुगेका नेताहरू दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठाका आधारमा एकता हुनुपर्नेमा जोड दिइरहेका छन् ।

एक सिटे चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवालजस्ता साना दलदेखि राष्ट्रिय पार्टी बत्र नसकेको एकीकृत समाजवादी हुँदै सरकारकै नेतृत्व गरिरहेको माओवादी केन्द्र र सदनमा दोस्रो ठूलो दलको हैसियतमा रहेको एमालेसहितको सदनमा रहेको उपस्थितिले पनि जनमत कम्युनिस्टकै देखिन्छ ।

तर, कम्युनिस्टहरू एक ठाउँमा उभिने बेला आएको अभिव्यक्ति नेताहरूबाट आइरहँदा सत्ता, शक्ति र व्यक्तिगत स्वार्थकै लागि टुट्ने र फुट्ने शिलशिला नेपाली राजनीतिमा सामान्य भइसकेको छ । हिजो एउटै दलभित्र रहेर सहकार्य गरेकाहरू नै अहिले एकअर्काको विरोधी कित्तामा उभिएका छन् । मधेशमा क्रान्तिको बीजारोपण गरेको श्रेय लिने उपेन्द्र यावदको जनता समाजवादी पार्टी सत्ताकै लागि दुई टुक्रा भएको छ ।

सैद्धान्तिक रुपमा कम्युनिस्ट एक हुनुपर्छ भत्रेमा कसैको विमति नभए पनि कम्युनिस्टहरूबीचको तुष त्यसै मत्थर हुने देखिँदैन । किन भने सत्ता स्वार्थका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालकोटको दैलोमा स्वागत गरेका एमाले अध्यक्ष केपी शर्मा ओली दशकौंसम्म सहकार्य गरेका माधव नेपालको एकीकृत समाजवादीलाई पार्टीको हैसित नै दिन चाहँदैनन् । जसका कारण आइतबार काठमाडौंमा सुरु भएको एकीकृत समाजवादीको महाधिवेशनमा ओली सहभागी नै भएनन् । कम्युनिस्टबीच देखिएको यो वैरभावले बोलीमा एकता आवश्यक रहेको रटान लगाए पनि व्यवहारमा लागु गर्ने आधार कही कतै भेटिँदैन ।

कम्युनिस्ट फुटकै कारण तत्कालीन नेकपामा विचलन आएको थियो । अहिले त्यही नेकपाको घटकहरू सत्ता समीकरणमा छन् । तर, पनि उनीहरूबीच विश्वासको वातावरण भने अझै देखिँदैन । ओली, देउवा र प्रचण्ड शीर्ष नेताहरूको भेटवार्ता बाक्लिएको छ । जो–कोही सत्ताका लागि उलटफेर गर्ने मनस्थितिमा देखिन्छन् ।

नीतिगतभन्दा व्यक्तिगत तुष हावी भएको कम्युनिस्ट पार्टीहरु विचार, सिद्धान्त विधिका कारणभन्दा पनि व्यक्तिगत स्वार्थ र ईगोले बढी आफू–आफू जुधिरहेका छन् । कम्युनिस्टहरू एकअर्काको खुट्टा तात्रमा नै व्यस्त भइरहेको परिदृष्य बढी देखिँदा सत्ता स्वार्थ र व्यक्तिगत लाभमा नीति र सिद्धान्तलाई तिलाञ्जली दिइरहेका छन् । जसले गर्दा कम्युनिस्टहरु एक हुनै नसक्ने जानकारहरुको विश्लेषण छ ।

जननेता भण्डारीले राजतन्त्र विरुद्ध लड्दै कम्युनिस्टहरुलाई एक गर्ने अभियानसँगै कम्युनिस्ट शक्तिलाई सशक्त र लोकप्रिय बनाउने पहल कदमी लिएका थिए । उनको उदयले नेपालको कम्युनिस्ट आन्दोलनलाई एउटा उचाइमा पु¥याएको थियो । तर, अझै पनि भण्डारीकै सपना र सिद्धान्त बोकेको हुंकार गर्नेहरूको व्यवहार भने ठ्याक्कै त्यसको उल्टो छ । परिणामतः कम्युनिस्टहरु चिरा पर्दै गइरहेका छन् । ‘भाइ भाइ फुटे गवार लुटे’ यो उखान नेपालको कम्युनिस्ट पार्टी र उनीहरुको राजनीतिमा ठ्याक्कै लागु भएको देखिन्छ ।

एकले अर्कालाई कम्युनिस्टको रुपमा स्वीकार्न नसक्दा त्यसको फाइदा भने कांग्रेसलाई पुगेको छ । जसले उसलाई शक्तिशाली लोकतान्त्रिक पार्टी बन्न झनै बल मिलेको छ । ०७४ को निर्वाचनमा २० सिट जितेको कांग्रेसले गत आमचुनावमा ८९ सिट हात पार्याे । अहिले केही वामपन्थीहरूले समाजवादी मोर्चा गठन गरे पनि विगतमा गठन भएका यस्ता मोर्चाको परिणाम आम नेपालीले देखिसकेका छन् । भण्डारीको नाम र सिद्धान्तका ब्याज खाइरहेका कम्युनिस्ट पार्टी र तिनलाई सञ्चालन गर्ने नेताहरु सर्वसत्तावादमा रमाइरहने प्रवृत्ति हावी हुँदासम्म वामशक्तिहरु पुनः एकीकृत हुने सम्भावना कमजोर देखिन्छ ।