काठमाडौँ नतिजा उन्मुख काम गरेर देखाउने भन्दै दोस्रो पटक सरकारमा सामेल भएका गृहमन्त्री रवि लामिछानेले काम गरेर देखाउँदा पनि त्यसको जस भने लिन सकेका छैनन् । सहकारीको कालो दागको धब्बा उनको मुहारमै लाग्दा उनी जसको भागिदार हुनबाट बञ्जित छन् ।
संसारकै सबैभन्दा बलियो मुटु आफ्नो भएको दाबी गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धमाधम विभित्र काण्डमा मुछिएकालाई फन्दामा पार्न थालेका छन् । शुक्रबार नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएका पूर्वगृहमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाका पुत्र प्रतीक थापालाई पक्राउ गरेका रविले शनिबार उक्त काण्डका मुख्य बिचौलियाका नायक बेचन झालाई अदालतमा पु¥याइ दिए ।
त्यस्तै आइतबारमात्रै सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न लोसपाका नेता तथा मधेश प्रदेशका पूर्वसांसद कौशल यादवलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाई सकेका छन् । यी त उनले पछिल्लो तीन दिनमा गरेका काम मात्रै हुन् । अझै यस्ता दुई दर्जनभन्दा बढी भ्रष्टाचारका काण्ड खोल्ने तयारीमा गृहमन्त्रालय जुटेको छ ।
शरणार्थी काण्डको पूरक अनुसन्धान थालेर पुनः फाइल खोलेका रविले विद्युतीय चुरोटमा सुनको ओसारपसार गरेको आरोप लागेका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि अदालतको कठघरामा उभ्याई दिए । राज्य सञ्चालनको प्रमुख खम्बा नै रहेको गृहले भ्रष्टाचार र काण्डको फाइल मात्र खोलेको छैन । जनतासँग प्रत्यक्ष सरोकार राख्ने समस्यालाई पनि सम्बोधन गर्ने कोसिस गरेका छन् । समस्यामा परेका नागरिकसँग प्रत्यक्ष टेलिफोन संवादबाट सम्पर्क गरेर विश्वस्त दिलाउने कार्य गरेका रविले समाधानका लागि सम्बन्धित निकायलाई अबिलम्ब निर्देशन दिने सकारात्मक कार्यको थालनी पनि गरेका छन् ।
गृहमा रवि आइसकेपछि सुधारका कदम चाल्न नखोजेका होइनन् । गठबन्धन सरकारमा रहेर काम गरिरहेका रविलाई सत्ताका टाउके नेताको सल्लाह अनुसार नै काम गर्नु पर्ने बाध्यता छ । गठबन्धन सरकारको बाध्यता वा उनको आफ्नै परिबन्धले उनी चुक्दा पटक पटक निसानामा पर्ने गरेका छन् । नागरिकता कीर्तेमा पक्राउ परेका सञ्चार उद्यामी कैलाश सिरोहियाविरुद्ध प्रहरीले डेढ महिना बितिसक्दासमेत मुद्दा चलाउन सकेको छैन ।
६० किलो सुन प्रकरणमा ‘हाई प्रोफाइल’को सम्लग्नता बिना विमानस्थलबाट सुन बाहिरिएको सीआईबीले प्रतिवेदन निकाल्नु पनि शंकास्पद नै छ । सस्तो लोकप्रियताका लागि चर्काे स्वरमा ठूला भाषणबाजी गरेर चिप्लिदा अब भने बोलीमा लगाम लगाउनु पर्ने परिस्थितिमा रवि पुगेका छन् ।
सत्ता गठबन्धनकै नेता मुछिने काण्डको फाइल खोलिरहेका रविले जनसरोकारका विषयमा पनि चासो दिएर काम गरिरहेका छन् । तर पनि सहकारी ठगीको आरोपबाट नउम्केसम्म उनले जतिसुकै राम्रो काम गरे पनि जसको भागिदार हुने अवस्थामा उनी छैनन् । सरकार कुन दिन जाने हो ठेगान नभएका गृहमन्त्रीमाथि प्रश्नको हमला भइ नै रहेको छ ।
देश र जनतामा सुशासनको प्रत्याभूत गराउन दोस्रो पटक गृहको बागडोर सम्हाल्न आएका गृहमन्त्री लामिछानेको पछिल्लो कदम प्रशंसा योग्य छ । तर, उनले गरेका सबै सकारात्मक कार्यमा सहकारी ठगीको कालो दाग लाग्दा उनी आलोचनाका पात्र बनेका छन् । रविले कामै नगरेकोभन्दा पनि उनको बद्नामीले गर्दा जसको भागीदार हुनबाट उनी बञ्चित बनेका छन् । छोटो समयमा नै राजनीतिमा सफलता हात पारेका रवि सत्ता यात्रामा भने अभागी देखिएका छन् ।
प्रतिक्रिया