समाचार

लायन्स डिष्ट्रिक्ट ३२५ ई’ले बर्षभरी नै सामाजिक कार्यक्रम गर्ने


काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्सको नयाँ कार्यकाल जुलाई १ बाट विश्वभर सुरु हुँदैछ । लायन वर्ष २०२४/२५ का संसारभरका गभर्नरहरुले आफ्नो कार्यकालका लागि विभिन्न योजनासहित जुलाई १ बाट कार्यकाल सुरु गर्दैछन् ।

यसैक्रममा लायन वर्ष २०२४/२५ मा ‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ई नेपाल’ले वर्षभर विभिन्न कार्यक्रम गर्ने भएको छ । वर्षभर ३६५ दिन नै समाजमा प्रत्यक्ष प्रभाव पर्ने गरी सामाजिक कार्यक्रमहरु सञ्चालन गरिने डिष्ट्रिक्ट गभर्नर रामशरण बस्नेतले जनाएका छन् । संसारकै उत्कृष्ट डिष्ट्रिक्ट बनाउने गरी कार्यसम्पादन गर्ने तयारीमा डिष्ट्रिक्ट रहेको उनले बताए ।

कार्यकाल सुरु हुने पहिलो दिनमा नै डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरुले १५० भन्दा बढी सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको बताइएको छ । ६ जुलाईमा ५१ वटा ब्लड डोनेसन क्याम्प गर्ने डिष्ट्रिक्टले जनाएको छ । यस अगाडि सोही डिष्ट्रिक्टले एकैदिन ४० वटा क्याम्प गरेको थियो । उक्त रेकर्ड तोड्ने डिष्ट्रिक्टको तयारी छ । एकै दिनमा २ हजार भन्दा बढी युनिट ब्लड कलेक्सन गर्ने लक्ष्य रहेको गभर्नर बस्नेतले जानकारी दिए ।

डिष्ट्रिक्टका चिफ एरिया कोअर्डिनेटर राजन श्रेष्ठले डिष्ट्रिक्ट गभर्नरले ल्याएका योजनाहरु सम्पन्न गर्न सम्पूर्ण क्लबहरुले सक्रियतापूर्वक साथ दिने विश्वास व्यक्त गरे । डिष्ट्रिक्ट अन्तर्गत १ सय २० क्लब छन् ।