Breaking

माधवको महाधिवेशनमा पुरानो गठबन्धनको झल्को, ओलीमाथि प्रहार


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । एमालेसँग विद्रोह गरेपछि पहिलो पटक भएको महाधिवेशनले पार्टीको आगामी कार्यदिशादेखि नयाँ नेतृत्वमा २९९ सदसीय केन्द्रीय कार्यसमिति र २१ पदाधिकारी चयन गर्नेछ ।

एमालेवाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी नयाँ नेतृत्व चयनको चरणमा छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो ।


आईतबार काठमाडौंको कमलादीमा सबैजसो राजनीतिक दलहरुको उपस्थिति देखिदा एमालेको संस्थागत सहभागिता समेत देखिएन । समाजादीलाई पार्टी नै मान्न तयार नरहेका अध्यक्ष केपी शर्मा अ‍ोलीले त महाधिवेशन बहिस्कार नै गरे । मञ्चमा त्यस बोहेकका सबै राजनीतिक दलका नेताहरुको उपस्थिति भने देखिन्थ्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाको बिचमा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल देखिन्थे । औपचारिक कार्यक्रमअघि नेता कार्यकर्ताहरुले शक्ति प्रदर्शन गरेका थिए ।

महाधिवेशनको मञ्चमा यसपटक पनि सदाझैँ राजनीतिक घोचपेचले निरन्तरता पायो । समाजादीले आफ्नो प्रतिवेदनमा प्रधानमन्त्री प्रचण्डलाई अस्थीर भन्दै चित्रण गरेको थियो । घुमाउरो पारामा प्रतिवेदन सच्याउन भनेका प्रचण्डले आफू अस्थीर नभएको भए जनयुद्ध नै नहुने र अहिलेको व्यवस्था नै नआउने दाबी गरे । बेलाबेला कम्युनिस्ट एक हुने हल्ला चल्ने गरेकोमा एकीकृत समाजवादी र माओवादीलाई एउटै पार्टी बनाउने बाटोमा रहेको बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत दुईपटक संसद विघटन गरेपछि संविधान जोगाउन भन्दै समाजवादीले विद्रोह गरेको थियो । नेता कार्यकर्ताहरुले त्यो विद्रोहको औचित्य नेतृत्वले पुष्टि गर्न सक्नुपर्ने, सत्ताका लागि प्रतिगमनकारी शक्तिहरुकै सरकारमा बस्न नहुने तथा राष्ट्रिय दल समेत बन्न नसक्नुको कारणबारे निमर्म समीक्षा मागिरहेका छन् । आगामी नेतृत्वमा पनि अनुभवले खारिएका नेताहरुलाई अभिभावकीय भूमिकामा रहेर पार्टी हाक्ने जिम्मा नयाँ पुस्तालाई सुम्पिन माग गरेका छन् ।

आसर २० गतेसम्म चल्ने महाधिवेशनमा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनमाथि छलफल गराईँदैछ । त्यसपछि नेतृत्व चयनको प्रकृया अघि बढ्ने छ । नेता कार्यकर्ताको रुची पार्टी पुस्तान्तणमा देखिए पनि प्रतिस्पर्धा र सहमति भने पुरानै अनुहारमा हुने देखिएको छ । किनभने अध्यक्षका लागि माधव नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुषाल मख्य प्रतिस्पर्धी देखिएका छन् । खनाल र भुषालबिच मिलेर जाने र अध्यक्षमा भुषाललाई नै सघाउने सहमति भएको दाबी गरिए पनि खनालले दाबी छाडेका छैनन् ।

यसो हुँदा त्रिपक्षीय रोचक भिडन्त हुने देखिएको छ । तर सहमतिमै नेतृत्व चयन गर्ने तयारीमा भने पूर्णविराम लागिसकेको छैन । अहिले चुनाव जित्न पार्टी अध्यक्ष नै गुटबन्दीमा लागेको आरोप समेत लाग्न थालेको छ । तीन वर्ष नेतृत्व गरेका नेताहरुले राष्ट्रिय दल समेत बन्न नसक्नु र पार्टी फुटको औचित्य, वैचारिक सिद्दान्तमै मतैक्यता बनाउन नसकिरहेको अवस्थामा नयाँ नेतृत्वबारे नेता कार्यकर्ताहरुले सोच्नुपर्ने बेला आएको छ ।