Breaking

ओली–देउवाको मिलनले हलचल, सत्ता जोगाउन प्रचण्डको अस्त्र, रविले भने–‘मुकुलको केही चल्दैन’


सत्ता गठबन्धनको भविष्यबारे विभिन्न टिक्काटिप्पणी भइरहेका बेला ओली–देउवा भेटले नयाँ तरंग ल्याएको छ । एक त रास्वपा महामन्त्रीकै प्रतिवेदनले समीकरणमा हलचल छ भने अर्कातर्फ देउवाले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको चर्चा छ । यसक्रममा कांग्रेसले पदाधिकारी बैठक नै बोलाँउदा माहोल अझ तातिएको हो भने अब बन्ने समीकरण कस्तो बन्छ भन्ने चासोसमेत बढेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलाल श्रेष्ठलाई साक्षी राख्दै कम्युनिस्ट एकताको सपना बाढ्दा शेरबहादुर देउवासँग केपी शर्माले दही चिउरा खाएपछि माहोल तातिएको छ । एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका देउवाले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको खबर बाहिरिँदा ओलीले १८ गतेको भाका दिएको खबरसमेत चर्चामा छ । यो बीचमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटको अर्को पेसीसमेत सोही दिनलाई तोकिएको छ ।

त्यस दिन उनीविरुद्धको फैसला आए उत्पन्न हुन सक्ने अवस्थाले नै नयाँ राजनीतिक कोर्स तयार हुने चर्चासमेत छ । त्यस्तै रास्वपा महामन्त्री डा.मुकुल ढकालको प्रतिवेदनपछि उत्पन्न राजनीतिक अवस्था पेचिलो बन्दै जाँदा रास्वपाले सत्ता छाड्न सक्ने अर्को पाटोसमेत छ । फलतः सत्ता समीकरणमा तरंग आउँदा आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले सोमबार दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक नै बोलाएका छन् । केही समय पहिला माओवादी र कांग्रेस नेताहरू पनि संवादमा थिए ।

त्यसबेलासमेत गठबन्धनको भविष्यमाथि प्रश्न उठ्दा एमालेले सक्रियता बढाएको थियो । जसलाई टीआरसीदेखि विभिन्न विधेयकका विषयमा प्रतिपक्षीलाई समेट्ने भेटका रुपमा तर्क गरेर माओवादीले बहाना बनाएको थियो । यही बीचमा गठबन्धन फुटाउन लागेको भन्दै माधव नेपालमाथि सत्ताघटक दलले दवाव बढाँउदा उपेन्द्र यादवको पार्टी त फुट नै व्यहोर्न बाध्य बन्यो ।

अहिले दुई मुख्य पार्टीका शीर्ष नेतृत्वबीचको भेट अर्थपूर्ण रुपमा हुँदा रविले सरकार छोड्ने अवस्था आएमा त्यसको विकल्पका बारेमा सरकार र प्रतिपक्षीहरू संवादमा रहेका रुपमासमेत यसलाई हेरिएको छ । यता नेपाली कांग्रेसका नेताहरुले समेत यो भेटमा समीकरणबारे कुराकानी भएको स्वीकारेका छन् ।

हुन त कतिपयले भुटानी शरणार्थी प्रकरणमा मुख्य विचौलिया भनिएका बेचन झाको पक्राउसम्मलाई यसमा जोडेका छन् । यसले यो अनुसन्धान देउवाको घरसम्मै पुग्ने चर्चाकाबीच ओली देउवाको भेटलाई त्यहीसम्म जोडेर पनि हेरिएको छ । जुन कदम आफूलाई अफ्ठ्यारोमा पर्न थालेपछि रविले चालेको सांकेतिक कदमकै रुपमासमेत बुझ्न गाह्रो छैन ।

यही कारण पनि साना दल तह लगाउन एमाले–कांग्रेस मिल्नु पर्ने तर्कले सार्थकता पाउने अवस्था बलियो भएको तर्कसमेत छ । त्यस्तै न्यायाधीश नियुक्ति, राजदूत सिफारिस, बजेट र धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिको विषयमासमेत माओवादी एमालेमा अन्तर विरोध छ ।

फलतः सत्ता गठबन्धनमा खासै देखिने गरी खटपट नभए पनि राजनीतिक रूपमा उलटफेर हुन सक्ने सम्भावना स्वभाविक छ । तर सत्ताकै लागि सबैथोक गरेका प्रचण्डले त्यही गुम्ने अवस्था आए राजीनामा दिएर देउवालाई प्रधानमन्त्री हुने बाटो खोल्दिए के हुन्छ भन्ने प्रश्नसमेत यसले खडा गरेको छ ।

मुख्य कुरा त ओली नै बोक्न देउवालाई भारत र पश्चिमा शक्तिले देला भन्नेमै शंका छ । त्यसैका लागि ठूला दल मिल्ने भन्ने आफ्नै नेताको जवाफ दिन पनि त्यति सहज देउवालाई नभए पनि घरसम्मै काण्डका फाइल आइसक्दा उनले यो कदम नचाल्लान भन्न चाहिँ सकिँदैन । जहाँ प्रचण्ड नै गल्ने अवस्था सिर्जना हँुदा आफ्नै नेतृत्वमा सरकार बन्ने विकल्पको आशामासमेत देउवा हुन सक्छन् । यही कारण अहिले नै सम्भावित समीकरणको चित्र प्रष्ट नहुँदा देउवाले समेत यसको चिन्ताभन्दा प्रचण्ड ओलीलाई छुटाउन नै प्राथमिकता दिएको देखिन्छ ।