Breaking

संसदीय छानविन समिति : समस्याग्रस्त सहकारीका कागजात माग्ने निर्णय


काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेको छ।

आईतवार बसेको समितिको ७ औँ बैठकले समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजातहरु माग्न पत्राचार गर्ने निर्णय गरेको हो।

समस्याग्रस्त सहकारीहरुका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएपनि अन्य धेरै विवरण, जानकारी र तथ्यहरु आवश्यक पर्ने भएकाले सो निर्णय गरिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए।

बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक डा. युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीहरुको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग सल्लाह सुझाव मागिएको पनि उनले बताए ।